चलो दिल्लीले मोदीलाई दिएको तनाव (भिडियो)

काठमाडौं । भारतमा किसानको अन्नबालीले उचित मूल्य पाउनुपर्ने मागसहित फेरि किसान आन्दोलन सुरु भएको छ । दिल्लीतर्फ अघि बढेका हजारौँ प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास प्रहार गरिनुका साथै प्रहरीले सीमा समेत बन्द गरिदिएको छ । भारतमा निर्वाचन नजिकिँदै गर्दा सुरु भएको किसानहरुको आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका निम्ति एउटा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।

भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने मागसहित विभिन्न राज्यका किसानमा सरकारले बल प्रयोग गरेको छ ।

प्रदर्शन गर्दै दिल्लीतिर अघि बढेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सन् २०२० मा एउटा विवादित कृषि कानुनको विरोध गर्दै किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए । झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँले ज्यान गएको थियो ।

सरकारले विवादित कानुन फिर्ता लिएपछि बल्ल किसानहरूले आन्दोलन फिर्ता लिएका थिए । अहिले किसानहरू पुनः आफ्ना माग पूरा नभएको भन्दै सडकमा आएका हुन् ।

प्रहरीले हरियाणा र पन्जाबको सीमामा प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहर गरेको गरे । विरोधप्रदर्शन गर्न हिँडेका अधिकांश किसान पन्जाब प्रान्तका हुन् । उनीहरूले शान्तिपूर्वक हरियाणा हुँदै दिल्ली जान खोजेको तर आफूहरूलाई त्यसो गर्न नदिइएको बताएका छन् । शम्भु सीमामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अवस्था तनावपूर्ण रहेको थियो । किसानहरूले आफ्नो माग पूरा नहुन्जेल दिल्लीमा प्रदर्शन गर्ने बताएका छन् ।

किसानहरूलाई दिल्लीमा प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले राजधानी दिल्लीसँग जोडिएको सीमा तीनतिर बन्द गरिदिएका छन् । कृषकहरूको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ । प्रदर्शनका कारण दिल्लीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

कृषक सङ्गठनका नेताहरू तथा सङ्घीय सरकारका मन्त्रीहरूबीच दुई चरणको वार्ता भएको थियो । तर वार्ताबाट कुनै समाधान ननिस्किएपछि किसानहरू फेरि आन्दोलनमा होमिएका हुन् ।

कृषकहरूले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी त्यसको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले आफ्नो आम्दानी दोबर बनाउने प्रतिबद्धता सरकरले पूरा नगरेको भन्दै त्यो तत्काल पूरा हुनुपर्ने माग पनि राखेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका निम्ति किसानहरूको आन्दोलनलाई एउटा ठूलो चुनौतीका रूपमा हेरिएको छ । भारतमा केही महिनापछि निर्वाचन हुन लागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपा फेरि तेस्रो कार्यकाल सत्तामा रहने प्रयासमा छ । यही बेला कृषकहरूले आन्दोलन सुरु गरेका छन् ।

भारतमा किसानहरू प्रभावशाली मतदाता हुन् । विज्ञहरूका अनुसार सरकारले चुनावअघि किसानहरूलाई बेवास्ता गर्न सक्ने अवस्था छैन ।