चाँडै इजरायल र हमासबीच युद्धविराम हुने अमेरिकाको दाबी

काठमाडौँ । इजरायल र प्यालेस्टिन समूह हमासबीच युद्धविराम हुने संकेत अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सोमबारसम्म युद्धविराम हुने संकेत गरेका हुन् । सामरिकरुपमा इजरायलको सबैभन्दा ठूलो र नजिकको समर्थक अमेरिकाले नै युद्धविराम हुन्छ भनेपछि अहिले द्वन्द्वले सबैभन्दा बढी समस्या भोगिरहेको गाजापट्टीमा मात्रै होइन मध्य एसियाकै आशाको सञ्चार भएको छ ।

इजरायल र प्यालेस्टाइनका विषयमा विषयमा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युद्धविराम गराउने हिसाबले आफूहरु निकै निकट पुगेको ब्रिफिङ गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर हमासले युद्ध अन्त्यको सुनिश्चितता भएपछिमात्रै थप बन्दी रिहा गर्ने अडान राखेपछि युद्धविरामको वार्ता सहमतिमा पुग्न सकेको छैन ।

हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ता नभएसम्म बन्दी रिहा नगर्ने अडान राखेको बाइडेनका उच्च प्रशासकले बताएका छन् । युद्धविरामको पहलका निम्ति पेरिसमा अमेरिका, इजिप्ट, इजरायली जासुसी संस्थाका प्रमुख र कतारका प्रधानमन्त्रीले शुक्रबारयता वार्ता जारी राखेका छन् । वार्तामा सहभागी सूत्रहरुका अनुसार हमासले एकैपटक सबै माग पूरा हुनुपर्ने सुनिश्चतता खोजेको छ । यद्यपि सबै माग क्रमिक रुपमा पूरा गर्ने किसिमले पहल भइरहेको मध्यस्ताकर्ताहरुले बताएका छन् ।

इजरायली रक्षा फौज समेत बन्दी रहेका समयमा पहिले युद्ध अन्त्य नभई उनीहरुलाई रिहा गर्न नमिल्ने अडान हमासले राखिरहेको छ । सहमति भएको अवस्थामा त्यसको पूर्ण कार्यान्वयनका निम्ति ६ साता लाग्ने वार्ताकारहरुले बताएका छन् । पहिले ६ सातासम्म युद्धविराम गरेर सम्पूर्ण बन्दी रिहा गर्ने पहल भइरहेको र त्यसपछि हमासको माग अनुसार प्यालेस्टाइनसँग केही बन्दी समेत रिहा गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

यता, इजरायली नेताहरुले राफामा थप कारबाही गर्ने नीति लिएका छन् । तर हमासले पहिलो चरणमा केही बन्दी रिहा गरेर दोस्रो चरणमा सैन्य अपरेसन समाप्तिको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।

शुक्रबार पेरिसमा छलफल गरेकाहरुले सोमबार दोहामा पनि छलफल गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले केही दिन यताका छलफल र वार्ता परिणामुखी बन्दै आएको दावी गरेका छन् ।

हमाससँग कतार र इजिप्टले कुरा गरेपछि युद्धविराम र युद्धसँग जोडिएका अन्य विषय कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । दोहामा वार्ताका लागि इजरायलले पनि प्रतिनिधि पठाएको छ । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास धरातलीय यथार्थमा फर्किनुको विकल्प नरहेको बताएका छन् ।

हमासले बन्दी बनाएका १३० इजरायली रिहाको दबाब नेतान्याहुमाथि रहेको छ । नेतान्याहुले राफामा पनि थप सैन्य कारबाही बढाउने तयारी रहेको चेतावनी दिएका छन् । तर नेतान्याहुको यो कदमको अमेरिकाले विरोध जनाएको छ । १ करोड ५० लाख प्यालेस्टाइनहरुको ज्यान जोखिममा हुने भन्दै राफामा कारबाही नगर्न अमेरिकाले इजरायललाई सचेत गराएको छ ।