सेन्चुरी ऋण काण्ड : कर्मचारी जेलमा, ऋण स्वीकृत गर्ने बेफिक्री

  • सन्दीप शर्मा

काठमाडौँ । गत फागुन १५ गते कमसल धितोमा धेरै ऋण प्रवाह गर्दै आर्थिक अपचलन गरेको भन्दै तत्कालिन सेन्चुरी बैंकका सिइओद्वय तुलसिराम गौतम र मनोज न्यौपाने सहित १० जना कर्मचारीलाई सिआइबीले पक्राउ गर्याे । उनीहरु पक्राउ परेसंगै बैंकिङ क्षेत्रमा हुने आर्थिक अपराधका बारेमा थप केही रहस्य खुल्यो । ऋण प्रवाह गर्दा कसरी आर्थिक अपचलन हुन्छ भन्ने सिआइबीको यो अप्रेशनले प्रष्ट्याएको थियो । कर्मचारीबाट शुरु भएको यो अप्रेशन बैंकका सञ्चालक पक्राउसम्म पुग्ने अुनमान गरिए पनि अहिले सम्म सिआइबी पक्राउ परेका कर्मचारीको बयानमै अड्किएको छ ।

तत्कालिन सेन्चुरी कमर्सियल बैंकमा ऋण प्रवाह गर्दा आर्थिक अपचलन गरेको आरोपमा बैंकका दुई पूर्व सिइओ सहित १० कर्मचारी पक्राउ परेपछि सञ्चालकहरु पनि अनुसन्धानका लागि पक्राउ पर्ने तत्कालिन बिकसित घटनाक्रमले देखाउँथ्यो । किन कि बैंकबाट सहकारी बचतकर्ताको ७ अर्ब रकम झ्वाम पार्ने देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंलाई ऋण प्रवाह गर्न बैंकका सञ्चालकको पनि हात थियो । चौलागाईंको एक अर्ब चौध करोडको धितोमा २ अर्ब ११ करोड ऋण प्रवाह गर्ने निर्णय बैंकका सञ्चालक समितिको बैठकले गरेको थियो ।

जति बेला बैंकको अध्यक्षमा नेपाली कांग्रेसका नेता तथा शैक्षिक व्यवसायी उमेश श्रेष्ठका भाई राजेशकुमार श्रेष्ठ थिए भने सदस्यहरुमा लक्ष्मण कुमार श्रेष्ठ, उमा कुमारी श्रेष्ठ, राजेशराज दली र महेशकुमार अग्रवाल थिए । सञ्चालक समितिका अध्यक्ष राजेश सहितका वोर्ड सदस्यहरुकै जोडबलमा सीइओ गौतमले कर्जाको फाइल पेस गरेपछि सञ्चालक समितिले नै त्यसलाई स्वीकृति दिएको बैंकका कर्मचारी र अन्य बोर्ड सदस्यले पनि बताउँदै आएका छन् । तर हाल सम्म सिआइबीलाई यो प्रकरणमा के भई रहेको छ भन्ने सोध्दा बयान लिने काम भइरहेको र घटनाक्रमले बिकशित रुप नलिएको बताउँछ ।

सहकारी बचतकर्ताको अबौं रकम झ्वाम पार्ने चौलागाईंमाथिको ऋण प्रवाहमा कर्मचारी मात्रै पक्राउ पर्नु र अनुसन्धान यतिमै खुम्चिनुले सिआईबीमाथि पनि दवाव त छैन भन्ने आशंका उब्जिएको छ । हुन त कर्मचारी पक्राउ परि नसक्दै नेपाल बैंकसर्् संघले सिआईबीको अप्रेसनको बिरोध गरेको थियो । उनीहरुले राष्ट्र बैंकले हेर्नु पर्ने मुद्धामा सिआइबीले हस्तक्षेप गरेको भन्दै तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको ध्यानाकर्षण गराएका थिए । यसको पछाडि बैंकका कर्मचारी पक्राउ परेपनि सञ्चालक पक्राउ गर्न सिआइबी नपुगोस् भन्ने उद्देश्य थियो ।

अहिले बैंकका कर्मचारीमा मात्रै पक्राउ पर्नु र अझै उनीहरुको बयानमै सिआइबी रहनु र सञ्चालकमाथि देखिने गरि कुनै एक्सन नलिनुले कतै यो अनुसन्धान पनि कर्मचारीमा मात्रै सिमित हुने त होइन भन्ने आशंका बढाएको छ ।