देशमा सरकार छ भन्ने आभास कहिले होला ?

  • ध्वज धानुक

प्राकृतिक रुपले सम्पन्नता भएको देश नेपाल । प्रकृति र संस्कृतिले सम्पन्न हुँदा पनि सही व्यवस्थापन हुन नसकी पछि परेको देश । कयौँपटक राज्यको बागडोर सम्हालिसकेका र डेट इक्सपायर बुढा नेता नेताहरुले क्रमशः चुसेर देश खोक्रो बनाइसकेका छन् । राजनीतिको नाममा देश बर्बाद गर्ने यिनै कपुतहरुका कारण आफ्नो माटोमा निर्धक्क बस्ने वातावरण समेत नहुँदा आज कयौ युवा–युवतीहरु आफ्नो देश छाडेर पराया भूमिमा मजदूर गर्न विवश छन् । आफ्नो देशमा गर्वका साथ साससम्म फेर्न नसकिने अवस्थाले गर्दा अर्काको देशमा रोजगारीका लागि दिनानुदिन बाहिरिनेको संख्या गुणाको हिसाबमा बढिरहेको छ । अनुहार मलिन बनाएर आफ्नो घर–परिवार र देशको मायालाई मन मुटुमा राखेर विदेशीन बाध्य उनीहरुको पीडाले यो देशका शासकहरुलाई अलिकति पनि छुँदैन ।

विदेशिएकामध्ये आधाभन्दा बढी नेपाली त सबैभन्दा नजिकको सजिलो वैदेशिक गन्तव्य दक्षिणी छिमेकी मुलुक भारतमा छन् । यहाँ जाँदा र आउँदा पासपोर्ट तथा भिसा प्रणाली नहुँदा विदेशिनेको जीवन अस्तव्यस्त बनेको छ । न त भारतमा रहेका नेपालीको सही अभिलेख र अपनत्व नेपाल सरकारले दिन सकेको छ, न भारतमा नै उनीहरुले सम्मानित जीवन जिउन पाउँछन् । आफ्नो जन्मभुमिमा नै ढुक्कले गरिखान र बस्न नपाउनेहरु अर्काको देशमा गएर गरिखान सजिलो हुने त कुरै छैन । नाकापार गरेसँगै समस्याहरु आइलाग्छ्न । राज्यले हेपेका हरु बाहिर गएर राम्रो व्यवहार पाउनु त बालुवामा पानी खन्याए जस्तै हो । न त दाम अनुसारको काम पाउँछन् न त काम गरिसके पनि दाम समयमा मिल्छ । न सरकारले सरोकार राख्छ, न त कोही बोलिदिने निकाय छ । भारतमा रहेका नेपालीका दुःखका आफ्नै पहाड छन् ।

दिनानुदिन समस्याको रास थपिँदै गएको छ । सरकार र देशको नेतृत्व तहमा पुगिसकेका नेताहरुले अलिकता मात्रै आफ्ना नागरिकका लागि सोचिदिने हो भने उनीहरुको जीवन नर्कमय बन्ने थिएन । आफ्नो देशमा गरिखाने वातावरण नभए पनि अर्काको देशमा श्रम अनुसारको तलब पाउन सजिलो र अस्तव्यस्त जीवनलाई सरल बनाएर जिउन सजिलो हुने थियो । नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर पनि यहाँका नेपालीका समस्या समाधान गर्न सकिने थियो । तर सत्ताको कुर्सी हल्लिने डरले सरकारमा रहेकाहरुले यसरी बोल्नै सक्दैनन् ।

हरेक दिन घटनाहरुको पुनरावृत्ति हुँदै गएको छ। भारतमा नेपाली मरिरहेका हुन्छन्, यसरी मर्दा किन के कति कारणले भनी बुझ्न जाँदा कारण र न्याय पाउने आशा नै हुँदैन । कुकुर-बिरालोको जत्तिको पनि महत्व हुँदैन उनीहरुको परदेशको मरणमा । यसर्थ, सबैले सबै ठाउँबाट आवाज उठाएर राज्य छ र राज्यको दायित्व नागरिकको सुरक्षा, रोजगारी हो भनी बुलन्द आवाज उठाउनु जरुरी छ । सरकारले देशमा रोजगारी स्थापनाको वातावरण बनाउनुपर्यो । राजनीति गर्नेहरुले आफ्नो पार्टी, आफ्ना लागि मात्र नभएर देश र नागरिकको उन्नति तथा सुविधाका लागि गर्नुपर्यो । राज्यले भारतसँग पनि श्रम सम्झौता गरेर हुन्छ कि भिसा प्रणाली राखेर हुन्छ, भारतका नेपाली कामदारहरुको हकहितको पक्षमा नीति बनाउनु पर्यो । राजनीति गर्ने दल र नेताहरु तथा सांसदहरुले पनि यति गर्नका लागि पहल गरिदिएमा भारतमा कार्यरत लाखौँ नेपालीहरु धन्य हुने थिए । उनीहरुले अपमानपूर्ण जीवन बिताउनु पर्ने थिएन । सबैले एकपटक यसतर्फ सोचौँ र पहल गरौँ ।

(हाल : बेङ्लोर, भारत)