मन मिल्दा उदार हुने प्रचण्ड चित्त दुख्दा साह्रै कठोर, ओली र देउवासँग पालैपालो घात

  • राजेन्द्र पन्त तारकिणी

काठमाडौँ । दशवर्षे सशस्त्र संघर्षको बलमा मूलधारको राजनीतिमा उदाएका तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई गतिशील नेता भन्छन् । एकै ठाउँ, आदर्श, सिद्धान्त र अडान केहीमा नअड्ने हालका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कसैले अस्थिर चरित्र भन्छन् त कसैले समय–परिस्थितिअनुसार चल्न सक्ने बोल्ड नेताको रुपमा विश्लेषण गर्छन् । पटकपटक माओवादी टुक्रिँदै फुट्दै आए पनि, पटकपटक विपक्षी र प्रतिस्पर्धी दलहरुले सिध्याउन खोजे पनि प्रचण्ड झन् बलियो र शक्तिशाली हुँदै आएका छन् । कुनै समय संविधानसभामा सबैभन्दा ठूलो र पहिलो दल रहेको माओवादी आन्तरिक टुटफुटका कारण चोइटिएर तेस्रो दलमा सीमित भएको छ । तर पनि प्रचण्डको चतुरताका कारण दुई ठूला दल नेपाली कांग्रेस र एमालेलाई पालैपालो खेलाएर माओवादी सत्ताको रजाइमा छ ।

२०७४ सालको आमनिर्वाचनमा अप्रत्याशित रुपमा एमालेसँग चुनावी गठबन्धन बनाउँदै प्रचण्डले २०७५ जेठ ३ का दिन एमालेसँगै आफ्नो पार्टी विलय गराए । त्यसपछि स्थापित भएको नेकपा सबैभन्दा ठूलो दल बन्यो भने पार्टीको अध्यक्षमा केपी शर्मा ओली र प्रचण्ड दुवैजना बसे । ओली प्रधानमन्त्री भए र आधा कालपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने मौखिक सहमति थियो । तर ओलीले सत्तामा दुई–ढाई वर्ष पूरा गरेपछि प्रचण्डलाई प्रधानमन्त्री दिन नचाहेर बहानाबाजी झिके भने नेकपामा पनि प्रचण्डको भूमिका कमजोर बनाउन थाले । प्रचण्डले पनि नेकपा कब्जा गर्ने रणनीति लिएको विश्लेषण भयो । ओलीले प्रचण्डको हातमा सत्ता दिनुभन्दा प्रतिनिधिसभा नै विघटन गर्नु ठीक ठानेर असंवैधानिक कदम चाले, जसलाई पछि अदालतले ओलीद्वारा दुईपटक विघटन गरिएको संसद पुनस्थार्पना गराइछाड्यो । सोही किचलोबाट नेकपा टुक्रियो, एमाले र माओवादी पूर्ववत् रुपमै फर्किए । त्यही बेला ओली र प्रचण्डले एक–अर्कालाई ‘भित्तामै पु¥याइदिने’ चेतावनी दिए । नभन्दै प्रचण्डले माधव नेपाल समूहलाई आफ्नो विश्वासमा लिएर एमाले पार्टी नै फुटाउन सफल भए ।

ओलीलाई भित्तामै पु¥याउने रणनीतिअनुसार प्रचण्डले कांग्रेस र एमालेबाट फुटेको एकीकृत समाजवादी लगायत साना दलहरुसँग गठबन्धन गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्यो । २०७९ को आम–चिर्वाचनमा पनि ठबन्धनबाटै चुनाव लडे, तर कांग्रेस कार्यकर्ताको घातका कारण माओवादी झनै खुम्चियो । गठबन्धनका बाबजुद एक्लो एमाले संसदमा दोस्रो दल बने पनि अधिकांश प्रदेशमा पहिलो दल थियो भने देशैभरि लोकप्रिय मत एमालेकै बढी थियो । दुईतिहाइ बहुमत ल्याएर देखाउने ओलीको अहंकार भने त्यो चुनावमा पराजित भयो । पछि कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनले सबै प्रदेशबाट एमालेलाई सत्ताच्युत गराउँदै गयो । नभन्दै ओली र एमालेले सबैतिर गुमायो र राष्ट्रिय सभामा पनि तेस्रो दलको रुपमा खुम्चियो । हेर्दाहेर्दै एमाले र ओली भित्तामा पुगे । प्रचण्ड भने सत्तामा पुगे । गत वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीकै हात थियो । देउवाले प्रचण्डलाई साथ नदिएपछि उनी ओलीको शरणमा पुगेका थिए । कांग्रेसलाई रोक्ने रणनीतिअनुरुप ओलीले प्रचण्डलाई समर्थन गरे, एमाले–माओवादी, रास्वपा र राप्रपा सम्मिलित सरकार बन्यो । तर प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेर पुनः देउवासँगै गठजोड गरे र एमाले तीन महिनामै सत्ताबाट बाहिरियो । अहिले कांग्रेस पनि प्रचण्डलाई रिझाउन नसक्दा एक वर्षमै सत्ताबाट बाहिरिएको छ ।

पछिल्लो समय कांग्रेसँग प्रचण्डले नराम्ररी चित्त दुखाए । कांग्रेसबाट निर्वाचनमा हुँदै आएको धोका, कोशी प्रदेशमा कांग्रेसकै इतर पक्षबाट भएको धोका प्रचण्डले पचाएकै थिए । जब कांग्रेस महासमिति बैठकमा माओवादी सशस्त्र युद्धलाई ‘अनाहकको हिंसा’ भन्दै प्रचण्डलाई बिथोल्ने शक्तिको रुपमा चित्रण गरी प्रचण्डकै सरकारमा रक्षामन्त्री रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रतिवेदन पारित गराए, त्यसपछि प्रचण्डको चित्त साह्रै दुखेको बताइन्छ । त्यति मात्रै हैन, कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेस एक्लै लड्ने र गठबन्धन नगर्ने प्रतिवेदन पारित गराए भने कांग्रेसमा हिन्दू राष्ट्र पुनस्थापना तथा २०४७ सालकै संविधान ठीक भन्नेजस्ता प्रतिगामी कदमका कारण प्रचण्ड कांग्रेसलाई लात हान्ने अवस्थामा आइपुगे ।

सत्ता र शक्तिबाट च्युत भएर भित्तामा पुगेमा ओलीमा छटपटी निरन्तर बढ्दै थियो, जसरी भए पनि कांग्रेससहितको गठबन्धन फुटाउन बारम्बार प्रयास थालेका थिए । नभन्दै कांग्रेसको प्रतिगामी चाल बुझेपछि माओवादी र एमालेबीच रातारात नयाँ समीकरण बन्यो । यसरी मन मिल्दा निकै उदार समेत हुने, जोसुकैसँग घुलमिल हुन सक्ने प्रचण्ड चित्त दुख्दा भने साह्रै कठोर देखिन्छन् । त्यो आक्रोश उनले सोमबार व्यक्त गरे । काँग्रेसलाई लक्षित गर्दै उनले ‘प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको र उपयोग मात्र गर्न खोजेको’ टिप्पणी गर्दै उनीहरुलाई जुनसुकै बेला लात हानेर निस्कन सक्ने खुबी आफूमा रहेको बताए ।

निरन्तरतामा क्रमभंगता भन्ने प्रचण्डको राजनीतिक थेगो नै भएको छ । यथास्थितिमा बसिरहन नसक्ने स्वभाव भएकाले माओवादी गडगडाएर हिँड्ने नदीजस्तो रहेको र आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याइरहने उनी बताउँछन् । वामपन्थीहरु एकजुट हुनुपर्ने आवश्यकता रहेकाले आफूले विगतका तिक्तता भुलेर पुनः एमालेसहितको गठबन्धन बनाउनुपरेको उनको भनाइ छ । एमालेसँगको गठबन्धनमा पनि प्रचण्ड कतिन्जेल टिक्छन्, हेर्न बाँकी नै छ ।