भीमा एकादशीमा भीमेस्वरको मेला !

  • प्रा.डा. श्याम जोशी

चार दशक भन्दा पनि अगाडी बरिस्ट लोकगायक कुमार बस्नेतले दोलखा शहरको भिमेस्वर स्थानमा लाग्ने भीमा एकादशी मेलाको रौनक थाहा भएरनै यस्तो गीत रचना गरेर गाउनु भएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

दोलखा शहरमा शहरवरिपरिका र टाढाटाढाका भक्तजन जात्रुहरुको मूलतः बर्षको दुइ पटक ठुलो भिड लाग्दछ –भीमा एकादशी र चैत्य दसैं वा रामनवमी । भीमा एकादशी नाम अनुसारनै भगवान भिमेस्वर संग सम्बन्धित जात्रा भएकोले भिमेस्वर परिसरमा नै जात्रा केन्द्रित हुन्छ ।

‘हे भीमेस्वरको मेला भेट भएको बेला,
लाइदेउ मायाँ हे साँहिली डर मान्नु पर्दैन।’

भीमेस्वर मन्दिर अगाडिको दृश्य

भीमा एकादशीजात्राको सम्बन्धमा यस्तो कथन छ

महाभारत कालमा पांच पाण्डव मध्यकामाइलो भाई भीम यो एकादशीको ब्रत बसेका थिए जसको कारण बाट यो एकादशीको नाम नै भीमा एकादशी हुन् गएको ।

भीमले बिधिपुर्बक यो दिनमा ब्रत बसेर पाण्डवहरुका पुर्खाहरुलाईमुक्ति दिलाएका थिए भन्ने पुराणहरुमा उल्लेख गरेको पाईन्छ ।

महिनाको २ पटक आउने कृष्ण पक्ष र शुक्ल पक्ष एकादशी मध्य यो शुक्ल पक्षकोएकादशी हो।

भक्तजनहरु एकादशीको दिन ब्रत बस्ने गर्छन । कोहि भक्तजनहरु केहि नखाएर निराहार ब्रत बस्छन भने कोहि फलाहार मात्र गरेर ब्रत बस्छन।

एकादशीको दिन ब्रत बस्नाले शारीरिक सुस्वास्थ र मानशिक शान्ति कायम गर्न मद्दत गर्दछभन्ने जनबिस्वास छ । यो ब्रत बस्नाले भक्तजनहरु लाईसबै खाले पाप बाट मुक्ति दिलाएर पवित्रता तिर डोर्याउँछ भन्ने भनाइ छ ।

त्यसैले माघ महिना को शुक्ल पक्षमा पर्ने भीमा एकादशीशरीरर आत्मा को शुद्धिकरणको लागि अति महत्वपूर्ण मानिन्छ ।सुयोग ढकालका अनुसार यो ब्रत बस्नाले सबै खाले तिर्थस्थल गएको फल एक साथ् मिल्छ भनिन्छ ।

भगवान बिष्णु का भक्तहरुले भीमा एकादशी लाई ठुलो पर्बको रुपमा मानेरधुप, दीप बालेर र फलफुल, नैबेध्य आदि चढाएर रातभर भजन किर्तन गरेर भगवान बिष्णुको उपाशना गर्छन । दोलखा शहर भित्रको जात्रा भए पनि सो मेलामा दोलखाबासीहरु दर्शक मात्र हुन्छन ।

भिमेस्वर मन्दिरमा लाखबत्ति बाल्दै भक्तजन

दिन भर दोलखाको मुख्य बजार सिम्बुथान वरिपरी जात्रुहरुले भरिएका हुन्छन र बिभिन्न झ्याउरे गीत गाएर, नाचेरर केटा र केटीहरु आपसमा जुहारी खेलेर मनोरंजन गर्छंन। जुहारीमा हार्ने केटीलाई केटाले तानेर लान्छ भन्ने गर्छन कुमार बस्नेतले आफ्नो गीतमा भन्नु भयझैँ ।

साँझपर्न थाले पछी रातभर जात्रा भिमेस्वर मन्दिर वरिपरी केन्द्रित हुन थाल्छ। भिमेस्वर मन्दिर परिसर खास गरेर शहर बाहिरका भक्तजहरुले भरिएको हुन्छ । ब्रतालुहरुले रातभर जाग्राम बसेर बत्ति बाल्छन ।

ब्रत बसेर जाग्राम बस्ने र बत्ति बाल्ने गर्नाले शत्रु नाश भएर धन, सम्पति, मान। सन्तान प्राप्ति हुन्छ भन्ने जनबिस्वास छ । सो दिन गाउँघर तिर बाट पन्चेबाजा बजाउदै बेलपात लिएर आउंछन र रात भर बत्ति बालेर बस्छन ।गाउँघर तिर बाट आएका महिलाहरुले बाजाको धुनमा थरि थरिका स्थानीय झ्याउरे गीत गाएर,नाचेर मेलालाईथप रोमान्चकारी पार्दछन।

गायक कुमार बस्नेतले भन्नु भयझैँ यो मेला युवा युवतीहरुको माया पिरती साट्ने र जिबन साथि रोज्ने अवसर त् हो नै अन्य महिलाहरुको लागि पनि मेलापातको दुखस् बिर्सेर रमाउने मौका हो । यो मेला तरुनी फकाउने मात्र नभएर धन कमाउने अवसर पनि हो ।

त्यसैले उस्बेला भीमा एकादशी मेलाको अवसरमा सहरको नजिकैका गाउँ बस्ति बाट मात्र नभएर रामेछाप, मेक्चन र काठमाण्डौ उपत्यकाका तीनै शहरका साहु–महाजनहरुको पनि दोलखा सहरमा बाक्लो उपस्थिति हुनेगर्थ्यो ।

भीमा एकादशी मेलाको बेला केहि स्थानीयहरुले पनि साना तिना नांग्लो पसल नै थापेर भएपनि २–४ पैसा कमाउने गर्थे । एकसाल मैले पनि साथि कृष्ण भक्त मास्कें संग साझेदारी गरेर नांग्लो पसल थापेका थियौ। तर खै दुवै जनामा इमान्दारी नभएर हो कि नोक्सान व्यहोर्नु परेको थियो । धन्न हामीले उधारो सामान लिएको माणिक साहुले केटाकेटी भनेर माफ दिनु भएको थियो ।

यसपाली भीमा एकादशी मेला फागुन ८ गते मंगलबार परेकोछ । त्यसैले भिमेस्वरको श्रधालु भक्तजन र मनोरन्जनको खोजीमा रहेका आन्तरिक पर्यटकहरुका लागि यो उपयुक्त अवसर हो ।

र ऐतिहासिक रूपमा अभयपुर भनेर चिनिने दोलखा सहर काठमाडौंबाट १३४ किलोमिटर टाढा रहेको र स्थानीय बसमा ६ घण्टा र निजी कार र जीपमा ४ घण्टामा पुग्न सकिन्छ। दोलखामा अहिले सुपथ मुल्यमा धेरै रेस्टुरेन्ट, होटल र लजहरु सजिलै उपलब्ध छन् ।

भीमेश्वर र कालिञ्चोक भगवती मन्दिरको प्याकेज भ्रमण गर्ने धेरै ट्राभल एजेन्सीहरू छन्। भीमेश्वर मन्दिर जाने तीर्थयात्रीहरूले रहश्यमय त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्नुका साथै नजिकैको चम्पुजा पार्कबाट नागबेली परेर बगिरहेको तामाकोशी नदी र गौरीशंकर हिमालको मनोरम दृश्य पनि हेर्न सक्ने भएकाले तीर्थयात्रीहरूले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्नु राम्रो हुन्छ ।

भीमा एकादशीका दिन पवित्र भूमि दोलखाको तीर्थयात्राले दुई देवताको दर्शन गर्ने दोहोरो लाभ र भरपुर मनोरंजन गर्ने अवसर प्रदान गर्दछ।