काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लघुवित्त र सहकारी क्षेत्रका समस्या र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति बनाएको थियो । समितिले आज प्रधानमन्त्री प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा एक वर्षका लागि सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्नुपर्ने, ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकअन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्न पनि सुझाव दिइएको छ । बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र त्यसको सम्पत्ति बिक्री लगायतबाट बचत फिर्तालाई प्राथमिकता दिनुपर्ने माग रास्वपाको छ ।
सेयर बजारमा ओरालो यात्रा
सोमबार १५ अङ्कले बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।
हेटौँडा सबस्टेशनको काम अन्तिम चरणमा
देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निकै महत्त्वपूर्ण मानिएको हेटौँडा सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ सबस्टेशनका उपकरण जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका छन् । सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका साथै स्थानीय रूपमा आपूर्ति समेत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत हेटौँडा सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४ सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेशनमा ल्याएर जोडिने छ ।
नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुने
जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुने भएको छ । फागुन ५ गते र ७ गते लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको जनकपुरसम्म यति एअरलाइन्सले सिधा हवाई उडानको सुरुवात गर्न लागेको हो । केही दिनपहिले मात्र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको यस क्षेत्रका पर्यटन व्यवसायीको बैठकले नेपालगन्ज–जनकपुर उडानका लागि हवाई कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेर अनुरोध गरेपछि यति एअरलाइन्सले सो उडान सुरु गर्न थालेको हो ।
रेडियोलाई नवीकरण र रोयल्टी जरिवाना शुल्कमा छुट दिइने
अर्थमन्त्री प्रकाशशरण महतले रेडियोहरूलाई नवीकरण र रोयल्टी जरिवाना बापतको रकममा छुट दिइने बताएका छन् । विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले जरिवाना रकम छुट गर्न पहल भइरहेको बताए । उनकाअनुसार रोयल्टी जरिवाना बापतको रकममा छुट दिने विषयमा पनि पहल हुनेछ । उनले मन्त्रिपरिषदमा उक्त विषय आएमा पारित गर्न आफूले पहल गर्ने पनि बताउँदै अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका थिए ।