कत्तिको सम्भव छ ओडीआई विश्वकपको बाटो ?

  • सुजन चालिसे

काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तरगतको पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डमाथि सानदार जित हात पार्यो । लिग २ को यो संस्करणको विजेता बन्ने सपना पुरा गर्न नेपालले अबका ४ बर्षमा उच्चस्तरीय क्रिकेट खेल्नुपर्ने छ । विश्वकप छनोटका लागि आइसीसीले तयार पारेको लिग २ को ढाँचाले नेपाली क्रिकेटलाई चार वर्ष व्यस्त राख्ने छ । यो अवसरको फाइदा उठाउँदै नेपालले एक दिवसिय विश्वकप सपनालाई साकार पार्न सक्नेछ ।

विश्वकप क्रिकेट लिग २ अन्र्तगतको खेलमा शनिबार नेपालले नेदरल्याण्डमाथि सानदार जित निकाल्यो । तर, लिग २ को यो संस्करणको विजेता बन्ने सपना पुरा गर्न नेपालले आउँदा ४ बर्षहरुमा उच्चस्तरीय क्रिकेट खेल्नुपर्ने देखिन्छ । एकदिवसिय विश्वकप २०२७ को छनोटका लागि एशोसियट राष्ट्रहरुको हकमा आइसीसीले लिग २ प्रतियोगिताको आयोजना गरेको हो । विश्वकप छनोटको यो चारवर्षीय ढाँचाको दोस्रो संस्करणमा नेपाल सहित ८ वटा एसोसियट राष्ट्रहरु छन् । यो पटक नेपालको लक्ष्य लिग २ को शिर्ष स्थानमा रहँदै विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नु रहेको छ । त्यसका लागि नेपालले ९ वटा त्रिदेशिय सिरिजमा कुल ३६ वटा खेल खेल्नेछ । नेपालले घरेलु मैदानमा ३ पटक त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ भने ६ वटा सिरिज विदेशी भूमिमा खेल्नेछ । पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो पहिलो खेल हारेपनि दोस्रो खेलमा सानदार जित दर्ता गरेको छ । बाँकी २ खेलमा पनि उच्च प्रदर्शन गर्दै घरेलु मैदानको यो सिरिज कब्जा गर्ने लक्ष्य नेपालको छ ।

विश्वकप लिग २ को प्रदर्शनले एकदिवसिय मान्यता कायम रहने वा नरहने पनि निर्धारण गर्नेछ । अघिल्लो संस्करणमा खराब प्रदर्शनबाट गुज्रिएको नेपाल एक समय आफ्नो एकदिवसिय मान्यता गुमाउने खतरामा पुगिसकेको थियो । यद्यपी लिगको अन्तिम १२ मध्ये ११ मा जित निकाल्दै उत्कृष्ट कमब्याक गर्यो । यो पटक लिग २ को च्याम्पियन बन्ने नेपालको लक्ष्य छ, तर खराब प्रदर्शन गरेर तालिकाको पुच्छरमा रहे नेपालको एक दिवसिय मान्यता गुम्न सक्छ । यी सबै पक्षलाई ध्यानमा राखेर उच्चस्तरीय प्रदर्शन गर्ने नेपाली पक्षको तयारी छ ।

२०२७ को विश्वकपमा कुल १४ टोली रहने छन्, जसमध्ये दक्षिण अफ्रिका र जिम्बाबे आयोजकका हिसाबमा विश्वकपमा स्थान बनाइसकेका छन् । ८ वटा टोली आइसीसी वरीयताका आधारमा छनोट हुनेछन् भने बाँकी ४ वटा टोली लिग २ तथा आइसीसी च्यालेन्ज कपको बाटो हुँदै छनोट हुनेछन् । नेपालले लिग २ को अघिल्लो संस्करणमा पनि शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा प्रवेश पाइसकेको छ । तर सो चरण पार गर्न नसक्दा गतवर्ष भारतमा सम्पन्न विश्वकपमा स्थान बनाउन सकेन । लिग २ र छनोट चरणमा राम्रो प्रदर्शन गर्नसके विश्वकप सपना पनि असम्भव भने छैन, तर त्यसका लागि अबको ४ बर्ष नेपालले उच्चस्तरीय क्रिकेटलाई निरन्तरता दिनु अत्यावश्यक छ ।