मिल्न सकेनन् जनयुद्धका दुई हस्तीहरु, बाबुरामबाट प्रचण्ड फेरि अस्वीकृत (भिडियो)

काठमाडौं । १० वर्षे सशस्त्र आन्दोलनका बखत नेकपा (माओवादी)को प्रमुख नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई थिए । उक्त युद्धबाट हजारौँ जनताले ज्यान समेत गुमाए, केही अझै बेपत्ता छन् भने, केही अझै घाइते अवस्थामा छन् ।

उक्त जनयुद्धसहित लामो समय राजनीतिक सहयात्रा र संघर्ष गरेका प्रचण्ड र बाबुराम २०७२ सालमा आइपुग्दा विभाजित भए ।

बाबुराम माओवादी विचारधाराबाट मुलुकलाई समृद्धि बन्न नसक्ने निचोड निकाल्दै समाजवादी विचारधारा निर्माण गर्न आफ्नै बाटो लागेको घोषणा गरे ।

त्यसको केही महिनापछि उनले नयाँ शक्ति पार्टी स्थापनमा गरे । उक्त पार्टीबाटै प्रतिनिधिसभामा निर्वाचित भएर बाबुराम एक कार्यकालका लागि संसदमा समेत छिरेका थिए । यद्यपि नयाँशक्ति पार्टीमार्फत जनताको मन जित्न नसकेपछि उनले पछि जनता समाजवादीसँग पार्टीसँग एकता गरे । तर जसपामा पनि उनले पार्टीको कारवाही भोग्नु पर्यो ।

त्यसपछि बाबुराम नेपाल समाजवादी पार्टी गठन गर्न पुगे । आजभन्दा झण्डै दुई वर्ष अघि नेसपाको गठन भएको थियो ।

नेसपाको संगठन विस्तारका क्रममा बाबुराम भट्टराई र महिन्द्र राय यादव दुवै अध्यक्ष बन्न पुगे ।

यही पार्टी नेसपा गत वर्षको निर्वाचन अघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर जानेगरी एकै चुनाव चिन्हबाट चुनावमा होमियो ।

निर्वाचनमा गठबन्धनमार्फत नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र यादव प्रतिनिधिसभामा निर्वाचित पनि भए ।

त्यस्तैगरी गण्डकी प्रदेशमा फणीन्द्र देवकोटा र बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ सांसदमा निर्वाचित भए ।

त्यस्तै समानुपातिकबाट पनि प्रतिनिधिसभामा एक सांसद छन् । एकताको मोटामोटी समझदारी भएरै निर्वाचनमा होमिएपनि दुई दलबीच पार्टी एकता भने हुन सकेन । तर अहिले नेसपा अध्यक्ष महिन्द्रा यादव पक्षले अध्यक्ष बाबुराम भट्टराई लाई नै बाइपास गर्दै माओवादीसँग पार्टी एकताको लागि औपचारिक थालनी गरिसकेको छ ।

शनिबार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति छ ।

उक्त सहमतिमा माओवादीका तर्फबाट महासचिव देव गुरुङ र नेसपाका तर्फबाट महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा तत्काल पार्टी एकता गर्ने, एकीकृत पार्टीको नयाँ नामका सम्बन्धमा आगामी महाधिवेशनबाट टुङ्गो लाग्ने निर्णय भएको उल्लेख छ ।

त्यस्तै एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन भएको छ ।

उक्त कार्यदमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

उक्त पार्टीका एक अध्यक्ष, सहअध्यक्ष र महासचिवसहितले माओवादीसँग पार्टी एकताको सहमति गर्दा अर्का अध्यक्ष बाबुराम भट्टराई भने उपस्थिति भएनन् ।

बाबुरामलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन समेत गरेका थिए । तर उनले उठाएका थिएनन् ।

भट्टराई निर्वाचन अघि एकताका लागि तयार भएपनि पछिल्लो समय एकाएक व्याक भएका थिए । उनी अहिले पार्टी एकताको विपक्षमा रहँदै आएका छन् ।

तर अहिले आफू पनि अध्यक्ष रहेको नेसपाले माओवादीसँग एकाएक पार्टी एकता गर्ने सहमति गरेपछि भट्टराई अहिले रनभुल्ल बनेका छन् ।

आफूसँग कुनै सल्लाह नगरी पार्टी एकताको सहमति गरेको गरेको भन्दै भट्टराई यादव पक्षसँग रुष्ट बनेका छन् ।

यो सहमतिलाई भट्टराई पक्षले यादव पक्ष चोर बाटोबाट एकता प्रक्रियामा गएको टिप्पणी गरिरहेको छ ।

आइतबार नै भट्टराई पक्षले नेताहरुलाई बैठकका लागि बोलाएको छ । तर यादव पक्ष भने सल्लाह नै नगरि बैठक बोलाएको भन्दै कार्यकारिणी र केन्द्रीय समितिमा नजाने पक्षमा पुगेको छ ।

त्यस्तै भट्टराई पक्ष भने यादव समूहलाई कारवाही गर्ने मुडमा पुगिसकेको छ । यादव पक्षले एकताका लागि सहमतिमा हस्ताक्षर गरिसकेकाले अब एकतामा जाने निश्चिति छ ।

भट्टराई र यादव केन्द्रीय सदस्य र पदाधिकारीहरु आ–आफ्नै पक्षमा बहुमत रहेको दावी गरिरहेका छन् । तर यो पार्टी विभाजित भएको खण्डमा कानूनी प्रक्रियाबाटै छिनोफानो हुने निश्चिित छ ।

यो सँगै जनुयद्धको नेतृत्व सँगसँगै गरेका बाबुराम–प्रचण्डबीचको सहयकार्य हुने सम्भावना तत्कालका लागि टुटेको छ ।

यो अवस्थामा माओवादी छोडेर बैकल्पिक शक्ति निर्माणको प्रयास गरेका बाबुराम भने नयाँ शक्ति, जसपा हुँदै नेसपा आइपुग्दा पनि एक्लोको एक्लै अवस्थामा पुगेका छन् ।

यसले बाबुरामको राजनीतिक भविष्यलाई अझ अन्योलतातिर धकेलेको छ ।