भाग्दै गर्दा पक्राउ परेका महरालाई हिरासत हैन अस्पतालमा बास !

काठमाडौँ । पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि माओवादी केन्द्रले पदाधिकारी बैठक आह्वान गरेको छ । माओवादीका बलशाली नेता दोश्रो पटक पक्राउ परेपछि सरकारको कदमलाई चासोका साथ हेरिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई टालटुले बयानमै बिदा गरेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई गृहमन्त्री रवि लामिछानेले सहज बनाइदिएका थिए । सुन तस्करी छानविन अनुसन्धानको प्रतिवेदन कार्यान्वयनका क्रममा महरालाई समेत पक्राउ गर्न निर्देशन दिएपछि, सक्रिय बनेको सिआईबिले ३ दिनपछि महरालाई पक्रन सफल भयो । कसरी पक्राउ परे त पूर्व सभामुख महरा ?

शुक्रबार सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै कार्यान्वयनका लागि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीसँग परामर्श गरे । लगत्तै प्रधानमन्त्रीको स्वीकृतिमा प्रतिवेदनमा उल्लेखित सुझावलाई कार्यान्वयन गरिने भन्दै कृष्णबहादुर महरा पनि पक्राउ पर्ने संकेत रविले गरेका थिए । प्रधानमन्त्रीको साथ पाउने अपेक्षा गरेका महरा प्रधानमन्त्रीबाट पनि साथ नपाइने बुझेपछि सुटुक्क काठमाडौँबाट बाहिरिए ।

महरा भागेको सुईंको पाएपछि, उनलाई पक्राउ गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पछ्याउन थाल्यो । प्रहरीले सबै सीमा नाकामा कडाइ गर्यो, देशभरका सीमा नाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरियो । रोल्पा जान लागेको बताएका महरा वास्तवमा रोल्पा नभएर भैरहवा हुँदै भारततर्फ भाग्ने सुरमा रहेका थिए ।

सोमबार प्रहरीले पक्राउ गर्ने पुर्वसूचना पाउँदा महरा माओवादी नेता वकिल मुसलमानको घरमा खाना खाने तयारी गर्दै थिए । प्रहरीले आफुमाथि निगरानी बढाएको सुइको महराले पाइसकेका थिए । त्यसैले पनि उनलाई कुनै पनि हालतमा सीमा नाका काट्न नदिने पूर्वतयारीका साथ प्रहरी तैनाथ अवस्थामा रहेको थियो । पस्किएको खाना छाडेर गाडी हुईंक्याउँदै अलिगढवा नाकातर्फ लागेका महरालाई प्रहरीले रोक्ने प्रयास गर्यो । उनी सवार गाडी पक्राउ गर्नका लागि ब्यारीयर तेस्र्याएर बसेका प्रहरीलाई समेत छलेर भाग्न खोजे पनि अन्ततः महराले हार खाए । घेरा हालेर प्रहरीले रोकेपछि उनी उम्किन पाएनन् ।

अन्नतः सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरेर सिआईबिले महरालाई काठमाडौँ ल्यायो । सोमबार नै काठमाडौँ जिल्ला अदालतबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति सिआईबिले पाएको छ । तर अचम्म के भने जिल्ला अदालतले तोकेको अवधिभर उनी प्रहरी हिरासतमा नभई अस्पतालमा बस्न पाउने भएका छन् । महराको स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पतालमा राख्नका लागि अदालतले आदेश नै दिएको छ । यस्तोमा उनीविरुद्दको अनुसन्धानमा प्रहरीलाई बाधा पुग्ने देखिएको छ ।