महरामाथि बज्रपात, प्रचण्ड कनेक्सनभित्रको कारण के ?

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि मुद्दा दायर गर्नुपर्ने गरि छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

सुन तस्करी जाँचबुझ गर्न गठित समितिले हाइप्रोफाइलमाथिको अनुसन्धान प्रभावित पारेको आरोपमा प्रहरी अधिकारीलाई समेत कारबाही सिफारिस गरेका बेला महरामा अर्को बज्रपात आइपरेको हो ।

सयौं किलो सुन तस्करीमा ठूला नेतादेखि सरकारी अधिकारीको संलग्नता हुने विषय सार्वजनिक भएपनि यस पटकको अनुसन्धान प्रतिवेदनमा जसरी कारबाहीको ठोस सिफारिस भएको देखिन्नथ्यो । तर, सुन तस्करी प्रकरणमा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धानको सुई घुमेपछि अनेकन टिप्पणी हुन थालेका छन् ।

सभामुखमा बहाल रहँदै बलात्कार आरोपमा जेलमा रहेका महरा जिल्ला अदालत काठामाडौंले सफाई दिएपछि रिहा भए । त्यसपछि राजनीतिमा पुनरागमनको विभिन्न प्रयास गरेपनि उनी सफल हुन सकेका छैनन् ।

भेपमार्फत तस्करी भएको भनिएको सुनमा छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेपछि उनको सक्रियता थप खस्किन पुगेको छ ।

महराले आफूविरुद्ध विभिन्न शक्तिले षडयन्त्र गरेको भनिरहेका छन् । उनलाई माओवादी केन्द्रले पार्टी एकता गर्ने गरि जिम्मेवारी दिएको भनिए पनि उनले प्रभावकारी ढंगले काम गर्न सकेको देखिन्न ।

लगभग निष्क्रिय रहेका महरा पार्टी बैठकबाहेक कतैपनि उपस्थित हुने गरेका छैनन् । उनी निराश मुद्रामा कहिले रोल्पा त कहिले दाङ गएर मन भुलाउने काम गरिरहेका छन् ।

तर, आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा महराको संलग्नता पुष्टी हुने आधार भेटिएको भन्दै उनीविरुद्ध मुद्दा चलाउने राय दिएपछि माओवादी केन्द्रसहित सबैतिर हल्लाखल्ला मच्चिएको छ ।

प्रधानमन्त्री प्रचण्डका विश्वासपात्रको रुपमा लामो समय काम गरेका महरा पछिल्लो समय बालुवाटासँग खास सन्तुष्ट छैनन् । प्रचण्डसँग उनको दूरी समेत बढेको लामो समय भइसकेको छ । यस्तोमा महराले आफूमाथि कम्युनिष्ट एकताकै पक्षमा उभिदा संकट पार्न खोजिएको उनलाई भेट्न जानेहरुसँग बताउने गरेको पाइन्छ ।

फेरि थुनामा पर्लान् त महरा ?

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकैलाई कारबाही गर्न निर्देशन दिएपछि महरामाथि खतराको संकेत देखा परेको छ ।

प्रचण्डको निर्देशनले फुरुङ्ग गृहमन्त्री रवि लामिछानेले महरालगायत यो प्रकरणमा जोडिएका माथि कारबाहीको डण्डा चलाउने अनुमान गरिएको छ । तर, रवि आफैमाथि सहकारी ठगी प्रकरणको गम्भीर आरोप खुला रहेकाले उनले काम गर्न सक्लान ? प्रश्न भने देखिन्छ । तर, एक पटक गम्भीर अभियोगमा पक्राउ परिसकेका महरा पक्राउ नपर्लान भन्ने आधार भने छैन् ।

सोहि प्रकरणमा उनका छोरा राहुल अहिले पूर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रचण्डसँग बिग्रिएको सम्बन्ध बन्न सक्छ कारक

प्रचण्डसँग महराको सम्बन्ध खास सुमधुर छैन् । बलात्कार आरोपमा जेल जाँदा समेत उनले आफूमाथि षडयन्त्र गरिएको दाबी गरिरहेका थिए ।

प्रचण्डले उनलाई सहयोग नगरेको र एमसीसीबारेको विधयेक अड्काएको हुनाले आफूमाथि षडयन्त्र भएको महराको दाबीमा प्रचण्डले विश्वास गर्न नसक्दा स्थिति थप भयाबह बनेको हो ।

महराले आफ्ना छोराको पक्राउ प्रकरणमा समेत प्रचण्डले हात नथामिदिएको अर्थमा बुझेको बताइन्छ । पछिल्लो समय उनी बालुवाटारसँग सम्बन्ध विस्तारमा भन्दा पनि घरमै बस्ने, आराम गर्ने गरिरहेको बताइन्छ ।

यस्तोमा दुबै नेताहरुबीच बढेको दूरी र सुशासनको नारा जपिरहेका प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन महराको जेल यात्राको अर्को अध्याय नहोला भन्न सकिने अवस्था छैन् ।