फागुन १५ गतेदेखि २६ गतेसम्म मगर महोत्सव

पर्वत । पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो ।

‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख दुई हजार दुई सय २२, द्वितीय हुनेले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन् ।

त्यसैगरी पालिकास्तरीय महिला भविबल, प्रौढ भलिबल, पुख्र्यौली नाच, रत्यौली र लोकभजनलगायतका प्रतियोगिता पनि आयोजना गरिनेछ । महोत्सवमा मगर समुदायको पहिचानका रुपमा रहेका सोरठी, सालैजो, यानिमाया, सुनिमाया लगायतको प्रस्तुति पनि रहनेछ ।

महोत्सव आयोजनाका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ मूल संयोजक कृष्ण पुनले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जी, जीपलाइन, केवुलकार, झोलुङ्गे पुलको अवलोकन, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकाको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सयभन्दा बढी व्यावसायिक प्रदर्शनी कक्ष रहने मूल संयोजक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सबवाट रु ७२ लाख आम्दानी हुने अपेक्षा गरिएको छ भने रु ५३ लाख खर्च हुने अनुमान छ । महोत्सवबाट बचत हुने रकम नुमना मगर सङ्ग्रहालय निर्माणमा खर्च गरिनेछ ।

सङ्ग्रहालय निर्माणका लागि शिलान्यासपछि केही काम भए पनि बजेट अभावले काम सम्पन्न हुन नसकेको नेपाल मगर सङ्घका केन्द्रीय सदस्य सोम पुनले जानकारी दिनुभयो । यो क्लबले यसअघि देउसीभैलोमार्फत सङ्कलित रकम एम्बुलेन्स सेवा सञ्चालनका लागि खर्चिएको थियो ।