त्रिवि क्रिकेट मैदानलाई आइसीसीले कारबाही गर्ला ?

  • सुजन चालिसे

काठमाडौँ । नेपालले आइसीसी लिग २ अन्तरगत आफ्नो पहिलो सिरिजमा बिर्सनलायक प्रदर्शन गर्यो । तर नेपालको प्रदर्शन भन्दा पनि त्रिवि क्रिकेट मैदानमा पिचको समस्या रहेको चर्चा क्रिकेटप्रेमीहरुमा चल्यो । सिरिजभर पहिले ब्याटिङ गर्ने टोलीले कमजोर प्रदर्शन गर्दा क्रिकेट पिचमाथि पनि प्रश्न उठेको हो । कतिपयले पिचमा देखिएको खराबीका कारण आइसीसीले पिचलाई नै निलम्बन गर्ने त होइन भन्ने प्रश्न समेत उठाएका छन् । त्रिवि मैदानमा टस फ्याक्टर र पिचको अवस्थाबारे के हो त वास्तविकता ?

त्रिवि क्रिकेट मैदानमा आइसीसी लिग २ अन्तरगत आयोजना भएको पहिलो सिरिजमा कुल ६ वटा खेल भए । नेपाल, नामिविया र नेदरल्याण्डस्ले एक अर्का विरुद्द २–२ खेल खेले । संयोग कस्तो भयो भने कुल ६ खेलमध्ये ५ खेलमा पहिले ब्याटिङ गर्ने टोली पराजित भयो । पहिलो खेलबाटै पिचको अवस्था बुझेका तिनवटै देशले टस जित्ने बित्तिकै बलिङको निर्णय लिन चाहे । सोहि निर्णय अनुसार एउटा बाहेक सबै खेलमा टस फ्याक्टरले काम पनि गर्यो । ६ मध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोलीले १७२ भन्दा बढि रन बनाउन सकेनन् र उनीहरु पराजित पनि भए । सिरिजकोे पाचौँ खेलमा पहिले ब्याटिङ गरेर २०३ रन बनाएको नामिबियाले नेदरल्याण्डलाई २४ रनले हरायो । यो एउटा खेललाई अपवाद मान्ने हो भने सिरिजमा टस फ्याक्टर निर्णायक बनेको भन्दै क्रिकेट जगतमा चर्को आलोचना भयो । खेलाडी तथा प्रशिक्षकहरुले समेत यो विषयमा चर्चा गरे ।

लिग २ को सिरिज अघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । तर त्यतिबेला टस फ्याक्टर र पिचको अवस्थाले खासै फरक पारेको थिएन । उक्त सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपाल वा क्यानडा दुवैले पहिले ब्याटिङ गरेपनि राम्रो रन बनाएका थिए । त्यसअघि सोहि मैदानमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पनि पहिले ब्याटिङ गर्ने टोलीको प्रदर्शन कमजोर देखिएको थियो । यद्यपी नेपालका प्रशिक्षक मोन्टी देशाइले आइतबार नेदरल्याण्डसँगको पराजयपछि पिचमा खराबी भन्दापनि नेपालको ब्याटिङ चल्न नसकेको बताएका थिए ।

लिग २ को सिरिजमा नेपालको प्रदर्शनले निराश पारेकै छ, पिचको अवस्थाले झन चिन्ता बढाएको छ । खराब पिचका कारण नेपालको घरेलु मैदान नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले निलम्बन गर्ने त होइन भन्ने प्रश्न उब्जिएका छन् । क्रिकेटका जानकारहरुका अनुसार एउटै सिरिजका कारण क्रिकेट मैदान निलम्बनमा पर्ने सम्भावना खासै हुँदैन । तर निरन्तर मैदानको पिचमा समस्या देखा परे म्याच रेफ्रीले मैदानलाई खराब रेटिङ दिने गर्दछन् । आइसीसीको नियमअनुसार पाँच बर्षको अवधिमा पाँच डिमेरिट अंक पाएको मैदानलाई १ वर्ष र १० डिमेरिट अंक पाएको मैदानलाई २ वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नबाट रोक लगाउन सक्छ । सन् २००९ मा आइसीसीले भारतको अरुण जेट्ले क्रिकेट मैदानलाई १ वर्षका लागि प्रतिबन्ध लगाएको थियो । नेपालले यसअघि आयोजना गरेको लिग २ सिरिजका खेलहरुमा त्रिवि क्रिकेट मैदानको रेटिङ अत्यन्तै राम्रो रहेको छ । त्यसैले हालकै अवस्थामा त्रिवि क्रिकेट मैदानलाई आइसीसीबाट कारबाहीको खतरा भने देखिँदैन ।