जुनसुकै कुनाबाट नेपाली भिसा लिन सकिने, शुल्क अनलाइनबाटै भुक्तानी ! (भिडियो)

  • राजेन्द्र पन्त तारकिणी

काठमाडौँ । नेपालमा पनि अब ई–भिसा लिन सकिने भएको छ । शुक्रबारदेखि अध्यागमन विभागले ई–भिसा सुरु गरेको छ ।

साथै अध्यागमन प्रणाली स्वचालित बनाउँदै सबै सेवाशुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने प्रणाली लागु गरिएको छ ।

कालिकास्थानमा रहेको विभागको कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा र अनलाइन भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

ई–भिसा लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जनाएको छ ।

यसमार्फत संसारका कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत नेपाली भिसाका लागि आवदेन गर्न सक्नेछन् र अनलाइनबाटै भिसा शुल्क बुझाउन सक्ने छन् ।

विभागले सबै प्रकारका सेवा शुल्क तथा जरिवानाहरू नेपालका मोबाइल बैंकिङ र वालेट तथा कन्नेक्ट आइपिएमिार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न पनि सक्ने छन् ।

विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत पनि दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले नियमित रुपमा फागुन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ई–भिसा सेवा सुरु हुने बताए ।

उनले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए ।

यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने उनको भनाइ छ । सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताउँदै उनले अब नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रुपमा कार्यालयमै उपस्थित हुनु नपर्ने बताए ।

विभागले शुरु गरेको पहिलो ई–भिसा एक विदेशी नागरिकले पाएका छन् । उक्त सेवा शुभारम्भ भएसँगै अब भिसासम्बन्धी काम र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिनेहरु बाहेक अन्य सेवाग्राहीले अनलाइनबाटै भिसा पाउनेछन् । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयमा गएर भिसा स्टिकर टास्न सकिने बताइएको छ ।

गृहसचिव दिनेश भट्टराईले गृहमन्त्रालय अन्तर्गत रहेका अध्यागमन लगायत सेवाहरूलाई स्वचालित र अनलाइनबाट सेवा दिने अभियान चलाइएको बताए ।

उनले गृह मन्त्रालयले मात्रै लागेर नहुने र अन्य निकायहरूको पनि समन्वय आवश्यक रहेको बताए । जनतालाई दिने सेवा पारदर्शी, मितव्ययी, सरल, सहज र छिटो छरितो बनाउने काम भइरहेको दाबी गर्दै उनले तत्कालका लागि अनलाइन भुक्तानी भने नेपालभित्रबाट मात्रै गर्न सकिने जानकारी दिए ।

आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा समेत गर्नसक्ने बनाउने उनको प्रतिबद्धता छ । साथै भिजिट भिसाका विगतका प्रावधानहरूलाई सहज र सरलीकृत गरिएको उनको भनाइ छ ।

विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तर–आबद्धताका लागि तयारी गरिरहेको जनाएको छ ।

विदेशी नागरिकहरूले विभागबाट लिने सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको छ ।

भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने बताइएको छ ।

आवेदकले नेपाली बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेपश्चात अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षर भएको इजाजत जारी हुने व्यवस्था गरिएको छ । सो इजाजतपत्र सम्बन्धित एजेन्सीले आफैले प्रिन्ट गर्न सक्ने बताइएको छ ।