संसद् अधिवेशन नैतिकताहीन नबनाऔँ : सांसद खान

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद् अधिवेशनलाई नैतिकताहीन नबनाउनु आग्रह गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद्को चालु अधिवेशनलाई नैतिकताहीन बनाउनु नहुने बताएका हुन् ।

उनले विगतका दुई वटा संसद् अधिवेशन नैतिकताहीन भएको भन्दै संसदमा एक-अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा ताली बजाउने बाहेक केही हुन नसकेको धारणा राखे । उनले कानुन निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

उनले भने, ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेर्स्याउने काम भयो । आखिर यो कसको लागि ? कसले कसको लागि प्रश्न गरिरहेको छ ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा ? यो कुराप्रति हामी सिंगो सदन नै गम्भीर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि ताली बजाउने बाहेक केही गरिरहेका छैनौँ ।’