देउवाको भाषण सुन्ने भित्तो मात्रै (भिडियो)

काठमाडौं । ठूला दलका शीर्ष नेता र मुलुकको राजनीतिमा कहलिएका शीर्ष व्यक्तिहरुलाई सुन्ने मान्छे नै पाइन छाडेका छन् ।

नेताहरुले आफूलाई मुुलुक परिवर्तनको संवाहक दाबी गरेपनि उनीहरुका कुरा सुन्नेहरु नै नहुने स्थिति सिर्जना हुनुका पछाडी धेरै कारणहरु छन्, जुन कुरा नेताहरु सहजै स्वीकार गर्न मान्दैनन् ।

सुन्नेभन्दा धेरै भन्ने अनि भनेका कुरा केही पनि नगर्ने प्रवृत्तिको विकास हुनु र अनुशासनको परिधि फराकिलो बन्न नसक्नुले पनि यस्तो समस्या पैदा भइरहेको विश्लेषण हुन थालेको छ ।

राणा, राजा, पञ्चायत र राजाको निरंकुश शासन व्यवस्थालाई परास्त गर्न अहिलेका नेताहरुले ठूलो योगदान गरे । जेल जीवन व्यतित गर्नेदेखि थुप्रै कष्ट सहन गरे ।

कतिपय अहिले पनि वेपत्ता छन भने कोहि जेल जीवनकै कारण बौरिन पाएनन् । यस्तो त्याग समर्पणबाट आएका नेताहरु सत्तामा पुगेपछि सत्ताभोगी हुने र जनताका विषयलाई चटक्कै भुल्ने गर्नाले उनीहरु कहिलेकाँही मञ्चमा एक्लै भाषण गर्नुपर्ने स्थितिमा पुग्छन् । आखिर यस्तो हुन्छ किन ?

देशको राजनीति प्रतिको वितृष्णाको हद यो स्थितिमा किन आइपुग्यो ? गहन विश्लेषण जरुरी छ । २०६२÷०६३ को जनआन्दोलनलाई हेर्ने हो भने पनि विशाल जनसागर राजाको प्रत्यक्ष शासनविरुद्ध सडकमा ओर्लियो ।

राजालाई विष्णुको अवतार मान्नेहरु पनि अब सहन सकिदैन भन्दै सडकमा ओर्लिए, यसको पछाडीको एउटै कारण थियो, गणतन्त्रमा आम नेपाली सुरक्षित र स्वतन्त्र हुनेछन् । तर, स्वतन्त्र मात्रै भएर नहुने रहेछ । अहिले नागरिक सुरक्षित बन्न सकेका छैनन् । यस्तै कारण पनि नेताहरु मञ्चमा एक्लै बरबराउने र सुन्ने मान्छे नै नहुँदा इरिटेड हुने स्थिति बनेको छ ।

प्रचण्डले केहिसमय पहिले काठमाडौं महानगरका मेयरले आफ्नो भाषण नसुनेपछि पोखेको आक्रोश हो यो । यस्तो घटना भएको पहिलो पटक भने होइन् ।

कुनै कार्यक्रममा पुगेका नेताहरु आफ्नो पालो अघि सारेर भएभरको कुरा लादेर आफू कुलेलम ठोक्ने प्रचलन पुरानै हो । तर, आफ्नै पार्टीको कार्यक्रममा धुमधाम विषय दिन पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि मञ्चमा एक्लिए । त्यसपछि उनले भने, कहिलेकाँही भित्तालाई पनि कुरा सुनाउनुपर्छ ।

मञ्चमा भाषण गर्दा एक्लिनेमा प्रचण्ड–देउवा मात्रै नभएर धेरै नेता मन्त्री र सांसदहरु पर्ने गरेका छन् । पिर्कोमा चढेर एक्लै भाषण गर्ने र श्रीमानले भिडियो खिच्नेसम्मका दृश्य सार्वजनिक हुनुले पनि स्थिति कस्तो बन्दैछ भन्ने कुराको संकेत गर्छ । यही नियति नेकपा एकीकृत समाजवादीका माधव नेपाल र झलनाथ खनालले पनि भोगे ।

सुन्ने मान्छे नभएपछि अध्यक्ष नेपाल र वरिष्ठ नेता दाङ तुलसीपुरको एक कार्यक्रममा भाषणै नगरी निराश बनेर फर्किए । उसोतः राजनीतिक वा अन्य कार्यक्रममा मात्रै यस्तो हुने भने होइन ।

जनताको प्रतिनिधि बनेर संसद छिरेका सांसदहरु पनि बंक गर्ने र बदाम सुन्तला खाने गरेको विषय छिपेको छैन । संसदमा सांसद हाजिर गरेर कुलेलम ठोक्ने प्रवृत्ति अझै सुध्रिने संकेत देखिएको छैन । बुधवार हिउँदे अधिवेशनको दोस्रो दिन पनि उही दृश्य दोहोरियो । संसद हल आधाभन्दा बढि खाली थियो ।

यस्ता विषयले पनि आम नागरिकमा भरोसा र राजनीतिप्रतिको विश्वास मरिरहेको छ । तर, उनीहरुले योगदान गरेको विषयलाई भुल्न खोजियो भन्दै रोइकराई गर्दै आक्रोश पोख्छन् ।

राजनीति प्रति नागरिकको मात्रै होइन नेता कार्यकर्ताहरुको यो तहको वितृष्णाको खास कारण बोले अनुसार केही गर्न नसक्ने र सुधारिन नचाहने शीर्ष नेताहरुकै रवैया हो । ठूला दलका नेताहरुले अरुले दिएको सुभावलाई आत्मसात नै गर्दैनन् भन्दै रास्वपा सांसद डिपी अर्यालले बुधवार संसदमै गुनासो गरे ।

राजनीतिक प्रतिष्ठा, इमान्दारिता, त्याग, समर्पन र यस्ता थुप्रै विषयको भूमरीमा परेका नेताहरुले मुलुकका लागि खेलेको भूमिका कम आँक्न त मिल्दैन तर, वेप्रवाह र जनचाहना अनुसार चल्न नसक्दा समस्या भने थप बढ्दै गएको छ ।

नेताहरु मञ्चमा भाषण सुनाउने दर्शक स्रोता नपाउनेमात्रै होइन, क्रमश व्यक्तित्वमाथि नै संकट आइ नलाग्ला भन्न सकिन्न

के उनीहरु यी सबैखाले चुनौतिलाई शीरमा राखेर नयाँ संकल्प गर्न उद्दत होलान ? यहि विषयले भविष्य निर्धारण गर्नेछ ।