ठूला उद्योगमा आगलागीका षड्यन्त्र, कसरी हुँदैछ अनुसन्धान ?

  • एलिसा अर्याल

काठमाडौँ । ठूला भनिएका उद्योगमा पटक पटक आगो लागिरहने भएकाले साँच्चै आगलागि भएकै हो कि, आगो आफैँले लगाईएको हो भन्ने आशंका उब्जिने गरेको छ । त्यसैको पछिल्लो उदहारण हो, भगवती लेमिनेट्सको प्लाई उद्योगमा भएको आगलागी । करिब ८० घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको घटनाका विषयमा अनुसन्धान जारी रहेको भए पनि सञ्चालकहरूको खराब इतिहासका कारण आफै लगाएका त होइनन् भन्ने प्रश्न उठेको हो ।

गत फागुन २८ गते भएको आगलागीमा झापा मेचीनगरस्थित ज्यामिरगढिमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सलेको मुख्य संरचनाहरू जलेर ध्वस्त भए । आठवटा दमकललाई पनि आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । २५ करोड रुपैयाँको राजस्व हिनामिना हुँदा पनि ३२ लाख मात्र तिरेर राजस्व छलेकाले पनि भगवती लेमिनेट्सले आफैले योजनाबद्ध रुपमा आगलागी गराएको हो कि ? भन्ने आशंका व्यापक भैरहेको छ । लेमिनेट्समा हुनेगरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनलाई समेत छलेर करोडौँ हिनामिना गरेको अवस्थामा थप अनुसन्धान छल्न खाली गोदाममा नक्कली आगालागी गरिएको आशंका गरिएपनि यस विषयमा थप अनुसन्धान भैरहेको छ ।

गतवर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दिपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई एकपछि अर्को गर्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान समेत गरेको थियो । लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइलहरू अनुसन्धान नभई रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथि समेत प्रश्न उठेको थियो । यी सबै प्रकरणका कारण पनि लेमिनेट्का मुख्य सञ्चालक रजनीश कर्नानीकै योजनामा आगलागी गराइएको आशंका भैरहेको हो । हुनतः उद्योगले सम्पूर्ण विवरण भने इन्स्योरेन्स कम्पनीलाई उपलब्ध गराएको छैन । इन्स्योरेन्सबापत समेत करोडौँ आउने भएपनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आगो लागेको हो वा लगाइएको हो भन्ने विषयमा विस्तृतमा अध्ययन गरिरहेको छ ।

नेप्लाई ब्रान्डलाई आक्रामक विस्तार गरेको भगवती लेमिनेट्सले उत्पादन गरेको ए, बी र सी ग्रेडका प्लाइउडमध्ये ए ग्रेडको प्लाइउड बिक्री गर्दा समेत भ्याट छल्नकै लागि सी ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्नेगरेको पाइएको थियो । त्यस्तै कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालय समेत छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको आरोप पनि भगवती लेमिनेट्समाथि छ । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योगमा आगलागी भएपछि बीमा दाबी गर्न आफैँले आगो लगाएको धेरैको अनुमान छ । त्यतिबेला पनि सीजी ग्रुपले हतार हतार करोडौँको बीमा दाबी गरेपनि आगो लाग्नुको कारण भने पत्ता लागेको छैन ।

चौधरी ग्रुपकै उद्योगमा पटक पटक आगो लागिरहेने भएकाले साँच्चै आगलागि भएकै हो कि, आगो आफैँले लगाईएको भन्ने आशंका उब्जिने गरेको छ । लगानीअनुसार आम्दानी नभएपछि लगानीकर्ताहरूले आफ्नै योजनामा घटना घटाएका यस्ता उदहारण थुप्रै छन् । त्यसैले भगवती लेमिनेट्समा भएको आगलागीमा पनि शंकाको सुविधा रहेको हो ।