पतनको बाटोमा ‘महरा सर’, छोराको पक्राउपछि नै विक्षिप्त थिए

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा राजनीतिक जीवनको समाप्तितर्फ लम्किन थालेका छन् । बलात्कार आरोपपछि हिरासत यात्रा तय गरेका महरा सुन तस्करी प्रकरणमा पुन हिरासत गएसँगै उनको राजनीतिक जीवन अब लयमा फर्किएला त ? के छन् सम्भावना ?

माओवादी १० वर्षे युद्धको क्रममा चर्चित नाम थियो, महरा सर । माओवादीभित्र कृष्णबहादुर महरालाई महरा सर भनेर सम्बोधन गरिन्थ्यो । महरा सर निकै प्रतिष्ठित र राजनीतिक इमान भएका नेता मानिन्थे । पार्टी अध्यक्ष प्रचण्डले पनि औधि विश्वास गर्ने भएकाले शान्ति वार्तादेखि विभिन्न मोर्चामा महराको संलग्नता अग्रमोर्चामै हुन्थ्यो ।

रोल्पाको सामान्य गाउँमा जन्मिएका महरा शिक्षण हुँदै माओवादी राजनीतिमा छिरेपछि कहिल्यै पछि फर्किनु परेन् । तत्कालीन समयमा महराले चिनियाँसँग करोडौं रकम नेपालमा सांसद किन्न भन्दै मागेको अडियो नै सार्बजनिक भएपनि त्यसलाई सामसुम पारियो । माओवादीको सत्ता र बल रापतापमै थियो । त्यो छानविनको विषय समेत बन्न सकेन् । यतिमात्रै नभई महरा पटक–पटक सत्तामा पुगे । विभिन्न मन्त्रालय चहारे । त्यसपछि तत्कालीन नेकपामा महरा सभामुख बने ।

प्रतिनिधिसभाको सभामुख बनेपछि महराको राजनीतिक उडानले गति लिनेक्रम थप बढ्यो । त्यहिबीचमा महरामाथि संसद सचिवालयमा कार्यरत महिलाले बलात्कार आरोप लगाइन् । उनी सभामुखको सरकारी निवासबाटै पक्राउ परे । त्यो बेला उनी १३३ दिन थुनामा बसेका थिए । यो पटक भने के हुन्छ भन्ने विषय अनुसन्धानपछि नै थाहा हुनेछ ।

राजकीय पदमा महराको इन्ट्री

– २०६३ सालको अन्तरिम सरकारमा सूचना तथा सञ्चार मन्त्री
– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा २०६५ सालमा गठित सरकारमा सूचना तथा सञ्चार मन्त्री
– २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्री
– २०७३ सालमा कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री
– २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा फेरि उपप्रधानसहित परराष्ट्रमन्त्री
– २०७४ को निर्वाचनपछि सभामुख

पाँच पटक मन्त्री र एक कार्यकाल सभामुख बनेका महराको राजनीतिक उडान लोभलाग्दो मात्रै थिएन्, उनी दाङ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेपछि उनले दाङको घोराही क्षेत्र र आफ्नो निर्चाचन क्षेत्रमा विभिन्न काम गरे । बजेटमा कुनै समस्या नपारेका महरा दाङ पुग्दा उनको चार्मिङ नै अर्कै हुन्थ्यो । तर, बलात्कार आरोपपछि खस्किएका महरा राजनीतिक रुपमा बौरिनै सकेनन् ।

छोराको पक्राउपछि थलिए महरा

राहुल भनिने रेशम महरा भेपमार्फत भएकाे भनिएको सुन तस्करी प्रकरणमा पक्राउ परेपछि महरा विक्षिप्त बनिरहेका थिए । बलात्कार आरोपमा पक्राउ पर्दा एमसीसीलाई संसदमा टेबल गर्न अस्वीकार गरेकै कारण आफूमाथि षडयन्त्र भएको बताएका महरा सुन तस्करी प्रकरणमा आफूले सुन तस्करी गर्ने चिनियाँ नागरिकलाई फलफुल व्यापारिको रुपमा चिनेको बताइरहेका छन् ।

चिनियाँ नागरिकले ल्याएको भेपलाई विमानस्थलबाट छुटाउन प्रयास गरेका महराका छोरा राहुल अहिले थुनामै रहेको बेला महरा पनि पक्राउ परेपछि अब उनको राजनीतिक जीवन लगभग सकिएको तर्क गर्न थालिएको छ । महरा र सुन तस्करीको विषयमा प्रहरीले अनुसन्धान गर्ने र त्यसको नतिजा अनुसार प्रक्रिया अघि बढ्ने भनिएपनि उनीमाथिका यस्ता आरोपले अब राजनीतिक रुपमा महरालाई सहज हुने अवस्था भने पक्कै देखिन्न ।