सहकारी, रवि र कांग्रेस प्रकरण : प्रपञ्च कि वास्तविकता ?

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणको अनुसन्धान हुनुपर्ने माग संसदमा जबरजस्त उठेको छ । रविलाई गृहमन्त्री अस्वीकार गर्ने भन्दै संसद अवरुद्ध नै पारेको कांग्रेसले उनीमाथि निष्पक्ष छानविन नहुने भन्दै संसद धर्काएको छ । यस्तो अवस्थामा के रविमाथिको आरोपको निष्पक्ष छानविन होला ? रविले संसदमै दिने भनेको स्पष्टीकरणले अवस्था सहज बन्न सक्ला ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको विषय उठिरहेको छ । देशका विभिन्न क्षेत्रमा सहकारी खोलेर सर्वसाधारण निक्षेपकर्ताको रकम झ्वाम पारेका गितेन्द्रबाबु राई ’जीबी’सँगको कनेक्सन र रविको नाममा पुलेसो कर्जाको नाममा भएको भनिएको कारोबार लगायत विषयलाई जोडेर छानविनको माग भइरहेको छ । यस्तोमा रवि आफैले पनि संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै आफु संसदमै उभिएर जवाफ दिन तयार रहेको भन्दै कांग्रेसमाथि आक्रोश पोखेका थिए ।

सहकारी ठगी प्रकरणमा रविको नाम जोडिएको यो पहिलो घटना भने होइन् । लामो समयदेखि उनीमाथि सहकारी ठगीको आरोप लाग्दै आएको छ । रविले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेपनि बुटवल र पोखरामा उनी पीडितको घेराबन्दीमै परेका थिए । उनले आफूले सहकारी पीडितलाई न्याय दिलाएरै छाड्ने दाबी गर्नेमा परेपनि उनी आफै प्रहरीको नेतृत्वमा पुगेपछि यसमा आशंकाहरु व्यक्त गर्न थालिएको छ । आशंकापछि एमालेले पनि सहकारी ठगी प्रकरणमा छानविन आयोग गठन गर्नुपर्ने माग राखेको छ ।

एमालेले संसदमा छानविन आयोगको माग गरेपनि कांग्रेसले भने रविमाथि प्रश्न र आक्रोश पोखिरहेको छ । कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापाले रविलाई थुप्रै प्रश्न गरेका छन् ।

रविमाथिका प्रश्नमा सत्ता पक्षले भने कांग्रेसले गठबन्धन भत्काउने षडयन्त्र गर्न थालेको भन्दै छानविनको विषयलाई प्राथमिकता नदिन खोजेको जस्तो देखिन्छ भनि प्रतिक्रिया दिएको छ ।

खोई जीबी ?

प्रहरीले सहकारी ठगी प्रकरणमा मुछिएका गितेन्द्रबाबु राई (जीबी)लाई पक्राउ गर्नका लागि मलेसियालाई कुटनीतिक पत्र पठाएपनि उनी पक्राउ परिसकेका छैनन् । जीबी पक्राउ परिसकेको भन्दै गृहमन्त्रालयले सूचना समेत चुहाएको थियो । तर, रविले नेतृत्व सम्हालेको भोलिपल्टै चुहाएको सूचना प्रहरीले गलत सावित गरिदिएपछि अहिले जीबी पक्राउको विषय सेलाएको छ । तर, देशभरका लाखौं पीडितको वचत हिनामिना गरेर भागेपनि उनलाई नेपाल झिकाउने काम हुन नसक्नु र रविमाथिका प्रश्न उठिरहनुले समेत आशंका भने उब्जाएको छ ।

गृहमा पुगेपछि आयोगको प्रतिवेदनले नै वाहवाही पाइएको बेला जीबी राई पक्राउ प्रकरण जति ढिला हुन्छ त्यति नै समस्या सिर्जना हुने भन्दै उनको पक्राउलाई केन्द्रमा राखिएको छ । अझं, जीबी पर्काउ परेपनि निष्पक्ष छानविन नहुने भन्दै सार्वजनिक भएका आशंकालाई सरकारले कसरी पार लगाउला ? यो सर्वाधिक चासोको विषय बन्नेछ ।