माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनीविरुद्ध मुद्दा चलाउन छानबिन आयोगले सिफारिस गरेको थियो ।

सो सिफरिसपछि गृहमन्त्री रवि लामिछानेले आइतबार नै महरा लगायत आरोपीमाथि कारबाही अघि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए । महरा आज सोमबार कपिलवस्तुबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई आजै काठमाडौँ ल्याइँदैछ ।

आइतबार गृहमन्त्रीले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई बोलाएर सुन तस्करीमा जोडिएका महरासहित आरोपी सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

यसअघि महरासँग बयान समेत लिइएको थियो तर कारबाही भने अघि बढाइएकाे थिएन । महरासँगै नाम जोडिएका उनका छोरा राहुल महरा भने अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीहरूमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेको थियो ।

यसबाहेक गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिमाणमा मोटरसाइकलको ब्रेकप्याडभित्र लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन पगालेर जोख्दा ६१ किलो देखिएको थियो । सो सुन तस्करी प्रकरण र अन्य जोडिएका सुन तस्करीको जालो चिर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजनमा उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो ।