सुन तस्करी : हाइप्रोफाइलमा हत्कडीको त्रास

  • सन्दिप शर्मा

काठमाडौँ । सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी केन्द्रिय अनुसन्धान ब्यूरोमा आएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनको कार्यान्वयका लागि सिआईवीलाई जिम्मा लगाएपछि अब यो प्रकरण कसरी अगाडि बढ्छ भन्नेतर्फ धेरैको चासो देखिएको छ ।

हाईप्रोफाइल व्यत्तिहरु समेत संलग्न भएको सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा लापारवाही गरेको भन्दै सिआईबी प्रमुख र अनुसन्धान अधिकृतसहित सरकारी वकिल कार्यालयका कर्मचारीमाथि विभागीय कारवाहीको विषय उठान गरिएको छ तर, जिम्मेवारी भने हेरफेर भयो । अनुसन्धानको लापरबाही पछि पुनः सुन तस्करीको अनुसन्धान प्रतिवेदन सहित सीआईबीमै पुगेको छ । त्यसैले सुनको अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने तर्फ धेरैको चासो छ । प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरीलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपनि हालसम्म संलग्न भनिएका हाइप्रोफाइल व्यक्तिहरु माथि कुनै कदम चलेको छैन यसले अगेनो एकातर्फ जोडेर खिचडी अर्काे तर्फ पाक्दै त छैन भन्ने तर्फ संकेत गर्छ ।

सुन प्रकरणमा जोडिएका हाइप्रोफाइल अनुसन्धानमा तानिदाँ सरकार नै उथलपुथल नहोला भन्न सकिन्न । सुन तस्करी प्रकरणको अनुसन्धानमा विदेशीको समेत दबाब सिआइबी माथि पर्न सक्ने आशंका गर्न थालिएको छ । यस्ता अनुसन्धानमै विगतमा तल्लो तहको समुह अनुसन्धानमा तानिए पनि माथिल्लो तहको जालो सधैं बच्ने गरेको छ । यहि जालो नै लामो समय देखि तस्करीमा संलग्न भएको पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।

सुन तस्करी प्रकरणमा दलका उच्च पदस्थ व्यक्ति, पूर्व तथा वहालवाला उच्च पदस्थ प्रहरी अधिकारी, ठूला व्यापारिक घरानासहित विदेशी नागरिकको समेत संलग्नता रहेको पाइन्छ । अझै यस्तो अपराधका लागि संगठन नै बनाएर विदेशबाटै अपराध कर्म हुने भएकाले अनुसन्धान आफैमा चुनौतिपूर्ण छ । त्यसैले यो अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने तर्फ धेरैको चासो देखिन्छ ।