१२ सय ५० जना भिक्षुहरुको धम्मयात्रा

  • प्रकाश न्यौपाने

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीबाट सुरु भएको १ हजार २५० जना अल्पकालिन भिक्षुहरुको दुई दिनको धम्मयात्रा सम्पन्न भएको छ । शनिबार मायादेवी मन्दिरबाट सुरु धम्मयात्रा आइतवार नवलपरासीको रामग्राममा सम्पन्न भएको छ ।

धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसंगै प्रस्थान गर्नु हो । बौद्ध धर्मको यही मर्मलाई आत्मसाथ गर्दै दुई दिने धम्मयात्रा सम्पन्न भएको छ । शनिवार लुम्बिनीबाट १ सय २ सय ५० जना अल्पकालिन भिक्षुहरुले यो यात्रा सुरु गरेका थिए । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा फागुन १६ गते १ हजार २ सय ५० जनालाई उनीहरुलाई अल्पकालीन भिक्षुको रुपमा प्रवज्या गराइएको थियो । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । पूर्णकालिन भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ । धम्मयात्रामा निस्किएका अल्पकालीन भिक्षुहरु बौद्ध शिक्षाको प्रबद्र्धन गर्न र बुझ्न पाउँदा निकै खुशी देखिए ।

लुम्बिनीमा भइरहने विभिन्न धार्मिक गतिविधिमध्ये धम्मयात्राले पनि बुद्ध शिक्षालाई प्रवद्र्धन गर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । धम्मयात्राले बुद्ध जन्मस्थलको प्रचार–प्रसारसँगै बौद्ध गतिविधिलाई पनि प्रवद्र्धन गर्ने लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताइन् ।

फागुन १६ गतेदेखि शुरु भएको प्रवज्या चैत ८ गते सकिने छ ।