मोबाइल लुट्ने गिरोह सक्रिय, सावधान रहन आग्रह

  • प्रकाश न्यौपाने

रुपन्देही । पछिल्लो समय एकान्त ठाउँमा बसेर कुरा गर्ने र अपरिचित व्यक्तिलाई आफ्नो फोन दिँदा मोबाइल चोरी हुने र लुटिने क्रम बढेको छ ।

विभिन्न बहाना बनाएर मोबाइल माग्ने अनि लिएर भाग्ने गिरोह सक्रिय बनेको देखिरहँदा प्रहरीले यसको नियन्त्रणका लागि प्रयास थालेको छ । यद्दपी, व्यक्ति स्वयंम पनि सावधान हुनुपर्ने देखिएको छ ।

अचेल कुनै ठाउँमा उभिँदा होस वा हिड्दा प्राय मानिसहरु मोबाइल चलाएरै उभिने प्रवृति छ । तर, सार्वजनिक स्थानमा मोबाइल बोकेर उभिदा सावधानी अपनाउनु पर्ने देखिएको छ ।

रुपन्देहीमा पछिल्ला केही महिना यता विभिन्न स्थानमा मोबाइल बोकी उभिएका मानिसहरुको नजिकै मोटरसाइकल लिएर लुटेराहरु पुग्ने गरेका छन् ।

उनीहरु अति जरुरी समस्या परेको भन्दै एक कल फोन गर्न दिनुस् भनि मोवाइल माग्ने अनि मोवाइल लगेर फरार हुने गर्छन् ।

साथै एकान्त क्षेत्रमा फोन बोकेकाको साथबाट लुट्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । रुपन्देही प्रहरीले त्यस्तो गैरकानूनी धन्दामा सक्रिय समूहलाई नियन्त्रणमा लिएसँगै उनीहरुले लुटका लागि विभिन्न तरिका अपनाउन थालेको तथ्य बाहिर आएको हो ।

रुपन्देहीका विभिन्न ठाउँमा अनेक बहाना बनाएर मोबाइल मागेर भाग्ने तथा लुट्ने तीन जनाको समूह रहेको र चोरीका मोबाइल खरिद गर्ने मुख्य एक जना रहेको प्रहरीको भनाई छ । उनीहरुलाई नियन्त्रणमा लिइसकिएको छ ।

लुटपाट गरेका मोबाइल खरिद गर्ने गरेको आरोपमा सियारी–३ का ३१ वर्षीया मोबाइल ब्यापारी मोहम्मद रसिद मुसलमानलाई पनि पक्राउ गरिएको छ ।

यो समूहको साथबाट प्रहरीले विभिन्न कम्पनीका ८ थान मोबाइल बरामद गरेको छ । यसरी पक्राउ पर्नेहरुले लुटेको मोबाइल विक्री गरेर आउने रकमले लागूऔषध खरिद गरी सेवन गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय रुपन्देही प्रहरी कार्यालयमा मोबाइल हराएका र लुटिएका भन्दै एक सय १६ वटा निवेदन परेका थिए ।

तीमध्ये प्रहरीले ७२ वटा मोबाइल फेला पारेको छ । प्रहरीले कुनै पनि बहानमा मोबाइल माग्ने अपरिचित व्यक्तिलाई नदिन र एकान्त ठाउँमा बसेर कुरा गर्दा सचेत रहन अनुरोध गरेको छ ।