रौतहटको एक मनी ट्रान्सफरमा गोली हानी लुटपाट

  • अनमाेल कार्की

रौतहट । यहाँको परोहा नगरपालिका स्थित एक मनि ट्रान्सफरमा गोली हानी लुटपाट भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ मा संचालनमा रहेको शिव मनि ट्रान्सफरमा आज दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीका अनुसार लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतको मोतिहारी घर भएका मुनिस यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।

सो वार्डका वडाध्यक्ष कफिल अन्जमका अनुसार दिउँसो १२ बजे करिब अपाची मोटरसाइकल चढेर आएका ३ जना लुटेराहरुले संचालक नितेश साहलाई गोली प्रहार गरी पैसा लुटेर भागेका थिए । पैसा लुटेर भारततर्फ भागेका उनीहरुलाई स्थानिय र प्रहरीले पिछा गर्दै भारतीय सिमा नजिक नन्का घ्युरा बोर्डरबाट पक्राउ गरिएको उनले बताए ।

गोली लागि घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा उपचार गरि हाल थप उपचारको लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ । उनको कानको पछाडी पट्टी घाउ देखिएको, अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घटनास्थलबाट भारतीय सिमाबाट करिब ५ सय मिटर मात्रै टाढा रहेको छ ।