रविको हातमा सुन तस्करको भविष्य, कारबाहीको डण्डा शुरु !

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरि आएको ६० किलो अवैध सुन, भेपमार्फत आएको सुन तस्करी लगाएतका विषयमा जाँचबुझ गर्न बनाइएको आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन पश्चात तत्काल कारबाही प्रकृया अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् । तर पनि सुन प्रकरणमाथिको अध्ययन अनुसन्धानमा आशंका भने उस्तै छ ।

प्रहरी तथ्यांक अनुसार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हरे वर्ष सयौं किलो सुन तस्करी हुने गरेको छ । तर, यस्तो सुन क–कसको संलग्नतामा हुन्छन् ? यसको रणनीतिक योजनाकार को हो ? त्यो भने कहिलेइ टुङगो लाग्दैन । जसका कारण विमानस्थलनै तस्करको हव भएको टिप्पणी हुने गरेका छन् । सुन तस्करीको गति फैलिने क्रममा नै गएको साउन ४ गते ६० किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरि बाहिने अवस्थामा बरामद गरियो । साथै भेपमार्फत आएको तस्करीको सुन पनि बरामद भयो । त्यसपछि पनि लगातार सुन तस्करीका घटना बाहिरिए । सुन तस्करीका घटनामा नेताहरु, नेताका छोराहरुदेखि उच्चपदस्थको संलग्नता छ भनि बारम्बार विरोधका आवाज उठिरहे ।

सुन तस्करीबारे जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै तत्कालीन प्रतिपक्षी नेकपा एमाले, रास्वपा लगाएतका दलले संसद नै अवरोध गरे । अवरोधको क्रम जारी रहेपछि गएको असोज १५ मा सुन तस्करीको जाँचबुझका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरियो । सोही आयोगले विहीबार आफ्नो प्रतिवेदन बुझायो । तत्कालीन समयमा जाँचबुझ आयोग गठनको चर्को माग गर्ने रास्वपाका सभापति रवि लामिछाने नै अहिले उपप्रधान एवंम् गृहमन्त्री छन् । उनले यो प्रतिवेदन बुझ्दै अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने प्रतिबद्धता जनाएका छन् । साथै उनले अनुसन्धान गर्ने निकायले कतिपयलाई जोगाएको आरोप लागेका सन्दर्भमा छानबिन समितिको प्रतिवेदन अनुसार कारबाहीको दायरामा ल्याउने समेत बताएका छन् ।

के छ त आयोगले बुझाएको प्रतिवेदनमा ?

– ४ सय ८५ पृष्ठ लामो प्रतिवेदनमा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ जना विज्ञसँगको परामर्शका आधारमा आवश्यक सुझाव समेटिएका छन् ।
– मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर÷डीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश
– निर्दोष देखिएका व्यक्तिको नामावली प्रस्तुत
– सीआईबीले छाडेका व्यक्तिहरु पुनः छानविनको दायरामा
– यस प्रतिवेदनमा सीआईबीले कागज मात्र गराएर छाडेको २१ जनालाई फेरि बयान गराइएको छ ।
– विद्युतीय सिगरेट (भेप) र ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा प्रतिवादी रहेका ३३ जनालाई आयोगले पुनः बयान लिएको थियो ।
– यसक्रममा सीआईबीले कागज गराएर छोडेका २१ जनासँग बयान लिएको थियो ।
– थप १४ जनासँग समेत सोधपुछ

उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएर गृहमन्त्रीले आवश्यक कारबाही अघि बढाउने भने पनि सुन तस्करको जालोमा राजनीतिक संलग्नता नै रहेको आरोप लाग्ने र कारबाही हुनेमा आशंंका व्यक्त भइरहेका छन् ।

एक महिना अघिसम्म पनि निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि खनिदै आएका अहिलेका गृहमन्त्री रवि लामिछाने सुन तस्करलाई सरकारले संरक्षण गरिरहेको भनि आरोप लगाउने गर्दथे । अहिले यि नै रवि कारबाही गर्ने निकायको सर्वोच्च स्थानमा छन् । अब सुन तस्करी प्रकरणमाथिको अनुसन्धान कारबाहीको प्रकृयामा कसरी अघि बढ्छ त्यो हेर्न बाँकी छ ।