मन्दिरको जग्गामा अतिक्रमणकारीको दादागिरी, सरकार रमिते

  • दान बहादुर बुढा

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा प्रसिद्ध धार्मिक स्थल कालिका–मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण भएको बर्षौ वितीसक्यो । २०५२ मा भएको नापी अनुसार मन्दिरको नाममा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ वर्ग मिटर क्षेत्रफल बराबरको जग्गा अतिक्रमण गरि घर बनाइएका छन् । तर, अतिक्रमित जग्गा फिर्ताका लागि अहिलेसम्म पनि कसैले ताकेता गरेको छैन ।

मुगुको गमगढी बजार क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक स्थल कालिका–मालिका मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएको वर्षौ वित्यो । तर, पनि जग्गा अतिक्रमणमुक्त गर्न न त स्थानीय सरकारले सक्रियता देखाएको छ न त अन्य राजनीतिज्ञले । २०५२ सालमा गरिएको नापी अनुसार किता नम्बर १२ को २ हजार २ सय ४८ वर्ग मिटर क्षेत्रफलमा रहेको जग्गा र अर्को ३१.२५ वर्ग मिटर क्षेत्रफल रहेको जग्गामा दिन प्रतिदिन घर निर्माण भएका छन् ।

छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रूपमा कालिका–मालिका मन्दिरमा पूजाआजा हुने गरेको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिन्छ । परम्परा अनुसार यस कालिका मालिका मन्दिरको संरक्षण एवंम् सुरक्षा गर्ने जिम्मा मल्ल खलकको अनि पूजाआजाको जिम्मा चौन गाँउका पूजारीको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ । दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ । भू–माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नौ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको स्थानीयको भनाइ छ ।

मन्दिर व्यावस्थापन समितिहरुले ४ पटक नापि कार्यालय बाट कर्मचारीहरु ल्याई मन्दिरको जग्गा नापजाँच गरेका छन् । ३ वर्षदेखि पटक–पटक पत्राचार गर्दा कसैले पनि मन्दिरको जग्गा छोड्न नमानेको र यसमा स्थानीय सरकारले पनि खासै प्रभाकारी कदम नचालेको मन्दिर संरक्षण समितिको गुनासो छ ।

मन्दिरको जग्गा करिब १२ जनाले अतिक्रमण गरेको विषय स्थानीयदेखि सबैलाई थाहा छ । तर, वडा कार्यालयले उनीहरुलाई हटाउन सकेको छैन ।

गमगढी बजारमा रहेको मन्दिरको मात्र जग्गा होइन, सार्वजनिक खानेपानी धारा, सडक समेतको जग्गा केही स्थानीयको कब्जामा छ । तर, यसतर्फ तीनै तहका सरकारको नजर पर्नै सकेको छैन ।