इलामबाट उठ्न एमालेको आशमा झलनाथ, आफ्नै पार्टी बाधक !

  • सुजन चालिसे

काठमाडौँ । नेकपा एमालेका सांसद सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं. २ प्रतिनिधिविहिन छ । निर्वाचन आयोगले यो क्षेत्रमा आगामी बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचनका लागि डेढ महिना बाँकी रहँदा इलामदेखि केन्द्रसम्म विस्तारै राजनीतिक सरगर्मी बढिरहेको छ । सबै दलहरु चुनावी रस्साकस्सीमा छन् । यहि मेसोमा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल नयाँ समीकरणको बलमा संसद छिर्ने दाउमा छन् । तर उनकै पार्टी झलनाथको सपनामा वाधक बन्ने देखिएको छ ।

केन्द्रको उतारचढावपूर्ण राजनीतिक वातावरणका कारण इलाम २ उपचुनावमा कसरी जाने भन्नेमा दलहरु अन्यौलमै छन् । नेपाली कांग्रेसले हालसम्म उपनिर्वाचनबारे रणनीति तय गरिसकेको छैन । सत्ता गठबन्धनले मिलेर उम्मेदवारी दिने अथवा एक्लाएक्लै लड्ने भन्नेसमेत निश्चित भइसकेको छैन । नेकपा एमालेले उम्मेदवार सिफारीसका लागि समिति बनाएर स्व. नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जना सम्भावित उम्मेदवार तय गरेको छ । वर्तमान सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीबाट छुट्टै उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

संविधानसभा अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको निधनपछि सो स्थानमा एमालेले नै पूर्ति गर्न चाहिरहेको छ । तर उम्मेदवार चयनमा निक्कै रणनीतिक बन्नुपर्ने बाध्यता एमालेलाई छ । एकातिर नेम्वाङको उत्तराधिकारीका रुपमा उनकै छोरा सुहाङलाई अगाडि सार्नुपर्ने नैतिक दवावमा एमाले छ । अर्कोतर्फ हरेक निर्वाचनमा नेम्वाङलाई काँध थापेका नेताहरुको आकांक्षा उस्तै छ । तर आमतहमा वास्तविक चासो भने एमालेबाटै छुट्टिएर गएका नेकपा एसका सम्मानीत नेता झलनाथ खनाललाई पो एमालेले टिकट दिन्छ कि ? भन्नेमा छ । तर निशर्त झलनाथलाई टिकट दिने पक्षमा हालसम्म एमाले देखिएको छैन ।

नेता खनालले इलाम उपचुनावमार्फत संसद प्रवेशको आकांक्षा देखाउँदै आएका छन् । नेम्वाङको निधनपश्चात एमालेसँग खनाल नरम र निकट देखिएका छन् । अहिले त झन् एउटा गठबन्धनमा भएपछि साझा उम्मदेवारका रुपमा टिकट पाउने विश्वास खनालको छ । नेकपा एससँग सम्बन्ध सुधार गर्न खोजिरहेको एमालेले खनाललाई टिकट दिने विश्लेषणसमेत हुने गरेको छ । तर एमाले लचिलो बन्दा खनाललाई आफ्नै पार्टी बाधक बन्ने देखिएको छ ।

खनालले उम्मेदवार घोषणा भने गरिसकेका छैनन् । तर उनको पार्टी हालसम्म मौन रहँदा खनाल एकतर्फी ढंगले स्वप्रचारमा छन् । इलाम २ मा उम्मेदवार बन्नका लागि आफ्नो पार्टी बाधक बन्दा झलनाथ एमालेमा फर्किएर वा एमाले चिन्हबाट चुनाव लड्ने सम्भावना पनि उत्तिकै छ । यो क्षेत्रमा पहिचान पक्षधरले दलहरुलाई चुनौति दिने गरी डाकेन्द्र सिंह थेगिमलाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेकाले सत्ता गठबन्धन दलहरुले कस्तो रणनीति बनाउलान्, भन्ने चासोको विषय बनेको छ ।