गफैगफमा बित्यो भ्रमण दशकको पहिलो वर्ष, पर्यटकको नारामा मस्ती !

  • सन्दीप शर्मा

काठमाडौँ । सरकारले घोषणा गरेको भ्रमण दशको पहिलो बर्ष गफै गफमा बितेको छ । भ्रमण दशक मनाउने भन्दै भव्य कार्यक्रमहरु घोषणा गरेको सरकारको यसका लागि आवश्यक काम भने गर्नै सकेन ।

नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार मध्येको एक हो भनि हर कोही अर्थविज्ञदेखि नेताहरुले भन्ने गर्छन् । पर्यटन क्षेत्रको प्रवद्र्धन एवंम् व्यवस्थापनका लागि भन्दै सरकारले करोडौं रुपैयाँ खर्च गरेको कागजी रेकर्ड पनि रहेकै देखिन्छन् । तर, पर्यटन क्षेत्र सुधारको वस्तुस्थिति भने खासै व्यवस्थित छैन ।

यस्तो अवस्थामा सरकारले पर्यटन प्रवद्र्धनकै लागि भनेर भ्रमण दशकको नीति अख्तियार ग¥यो । जसअनुसार पर्यटन दशकको योजना भनि सन् २०२३ देखि २०३२ लाई भ्रमण दश घोषणा गर्याे । तर, यो भ्रमण दशको पहिलो बर्ष भने गफै गफमा बितेको देखिन्छ । भ्रमण दशकको सन्दर्भमा सरकारले अगाडि सारेको ७३ बँुदे कार्ययोजना कार्यान्वयनको पाटोलाई हेर्ने हो भने शुन्य जस्तै देखिन्छ । तर योजना सफल हुन्छ भनि रेडिमेट जवाफ दिन छोड्दैनन् पर्यटन बोर्डका पदाधिकारीहरु ।

विगतमा सन् १९९८, सन् २०११ र सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरीएको थियो । विना तयारी लोकरिझ्याँईका लागि घोषणा गरिएका यी भ्रमण बर्ष सफल हुन सकेनन् । अहिले घोषणा भएको भ्रमण दशक पनि पहिलो बर्षको उपलब्धि हेर्दा बिना तयारी नै घोषणा भएको जस्तो देखिन्छ । सरकारले सन् २०२३ मा १० लाख भन्दा बढी पर्यटक नेपाल आएको बताए पनि आधा भन्दा बढी घर फर्किएका एनआरएनएहरु तथ्यांकमा राखीएको एनआरएनएहरुकै दाबी छ ।

भ्रमण दशक असफलताका कारणहरू

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उपत्यकाका महत्वपूर्ण स्थानसम्म पुग्ने गरी विद्युतीय यातायात सेवा सञ्चालन नहुनु
– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गन नसक्नु
– पर्यटन डिजिटल म्याप, होटल व्यवस्थापन सूचना प्रणाली, पर्वतारोहण सूचना प्रणाली, बहुभाषामा सूचना दिने व्यवस्था नहुनु
– पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको हिल स्टेसन विकास नगर्नु
– पर्यटक वृद्धि गर्ने मेला तथा रोड सोजस्ता कार्यक्रम सञ्चालन नहुनु

तर पनि पर्यटनबोर्ड भने युद्ध स्तरमै काम भइरहेको दाबी गर्न छोड्दैन ।

अवस्था हेर्दा पर्यटकलाई कसरी नेपाल भित्र्याउन सकिन्छ भन्ने तर्फ सोच्नु भन्दा पनि भ्रमण बर्षका नाममा लोकरिझ्याँइको प्रवृति हावी देखिन्छ । यस्तो संस्कारले न त पर्यटन क्षेत्रले फड्को मार्छ न त पर्यटन विकासको रटानले सार्थकता पाउँछ । यसतर्फ सचेत बन्ने कि ?