चुनौतीको चाङमाथि अर्थमन्त्री : प्रकाशशरणले नसकेको सुधार वर्षमानले के गर्लान् ?

काठमाडौँ । विश्वव्यापी कोरोना महामारीपछि विश्वकै अर्थतन्त्रमा एकपछि अर्को चुनौती आइरहेका बेला नेपाली अर्थतन्त्रमा पनि चुनौतीका चाङ छन् । आर्थिक गतिविधि ठप्प हुनु, सरकारकै राजश्व लक्ष्य पूरा नहुनु, पूँजीगत खर्च बढ्न नसक्नु, आन्तरिक एवं बाह्य लगानी र रोजगारी बढ्न नसक्नु, घर–जग्गा र शेयर बजारमा चरम निराशा तथा समग्र बैंकिङ क्षेत्र समेत संकुचित हुनुले नेपालको अर्थतन्त्रमा तमाम समस्या रहेको जाहेर गर्दछ । तर निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधार हुँदैछ भन्दाभन्दै पनि अर्थतन्त्र लयमा ल्याउन सकेनन् । एक वर्षमा पनि स्थिति सुधार नभएपछि उनै अर्थमन्त्रीलाई दोषी देखाउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको सत्ता गठबन्धन समेत टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसी अर्थमन्त्रीले आफूलाई सहयोग नगरेको, नटेरेको जस्ता आरोप लगाएर गठबन्धन टुट्नुको एक कारण अर्थमन्त्री महत पनि रहेको बताइसकेका छन् ।

नेकपा एमालेसहितको नयाँ गठबन्धन सरकारमा अर्थमन्त्रीको जिम्मा अब प्रचण्डकै विश्वास पात्र वर्षमान पुनको काँधमा छ । उनले अर्थतन्त्रमा चुतौती र समस्या रहेको स्वीकार्दै यसलाई उकास्नु आफ्नो दायित्व हुने बताएका छन् । पछिल्लो समय धेरैको लगानी शेयर बजार र घरजग्गामा फसेको र यी क्षेत्र नउकासेसम्म नेपाली अर्थतन्त्र चलायमान नहुने विश्लेषण हुँदै आएका छन् । अर्थमन्त्री पुनले यो कुरा बुझेका छन् सायद र उनले शेयरबजारका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आफूले नीतिगत सुधार गर्ने वचन दिएका छन् । बिहीवार उनले पुँजीबजारमा देखिएका नीतिगत समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । पुँजीबजारका करिब ६० लाख लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्ने भन्दै उनले विचलित नभएर उत्साहका साथ लगानी गर्न आग्रह गरे । अर्थतन्त्र चलायमान बनाउने घरजग्गा कारोबारमा रहेका समस्या पनि समाधान गर्ने वचन दिँदै उनले सन् २००८ मा पनि आफूले यस्ता समस्या समाधान गरेको अनुभव सुनाए । पुँजीगत खर्चलाई तिब्रता दिएर राजश्व वृद्धि गरिने, मिटरब्याज, लघुवित्त र सहकारीका समस्या पनि क्रमशः समाधान गर्दै जाने उनको भनाइ छ ।

एक वर्षअघि अर्थ मन्त्रालयको बागडोर सम्हालेका डा. महतले शिथिल अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गरेका छन् । उनी सरकारबाट बाहिरिने बेला मुलुकको व्यापार घाटा भने १ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँ छ, अन्य सबै क्षेत्र अस्तव्यस्त नै छ । उनी अर्थमन्त्रीको भुमिकामा आउँदा देशको समग्र अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने सबैको अपेक्षा थियो, तर अपेक्षाअनुसार सुधार ल्याउन सकेनन् । यद्यपि उनले अर्थतन्त्र लयमा ल्याउने आधार बनाएर बाहिरिएको दाबी गरेका छन् । अर्थतन्त्र सुधारको काम नगरेको भन्ने प्रधानमन्त्रीको आराप गलत भएको बताउँदै उनले आफू अर्थमन्त्री बन्दा अर्थतन्त्रमा संकट रहेको र ११ महिनामा आफूले सुधारको एउटा आधार तयार पारेको दाबी गरे । बजेट प्रणालीमा अनुशासन कायम गर्ने र विदेशीका लागि लगानीकोे वातावरण बनाएको उनको भनाइ छ ।

डा. महतले आर्थिक वर्ष २०८०÷८१ का लागि हालसम्मकै सबैभन्दा धेरै १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए । तर आफैले ल्याएको बजेट कार्यान्वयन हुन नसकेपछि उनले अर्धवार्षिक समिक्षामा २ खर्ब २१ अर्ब रुपैयाँले बजेटको आकार घटाए । उनले दाबी गरेजस्तो विदेशी लगानीको वातावरण समेत बनेको छैन । पूर्व–अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले डा. महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार्नै नचाहेको र सुधारका लागि गम्भीर नभएको आरोप लगाएका छन् । पौडेलले २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा रहेको दाबी गर्दै लय बिगारेको अर्थतन्त्रलाई लयमा ल्याएँ भन्दै निवर्तमान अर्थमन्त्रीले गलत बोलेको बताए । बजारमा माग, आपूर्ति, उत्पादन र रोजगारी सिर्जना गर्न नसक्दा चौतर्फी रुपमा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ ।

पछिल्लो समय अर्थतन्त्रमा अनेकौँ समस्या र चुनौती देखिएका छन् । चुनौतिपूर्ण बन्दै गएको अर्थतन्त्रको सबलीकरण गर्न सक्नु अर्थमन्त्रीको सफलता मानिन्छ । अहिले नयाँ अर्थमन्त्रीका सामु पहिलो त समग्र अर्थ बजारको खस्किएको आत्मबल जगाउने चुनौती रहेको छ । साथै, अर्थतन्त्रमा ८० प्रतिशत योगदान पु¥याएको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने, सरकारी खर्चमा मितव्ययिता र राजश्व संकलनको दायरा बढाउनुपर्ने तथा बजेट कार्यान्वनका चुनौती पनि छन् । चालु आर्थिक वर्षको ८ महिनामा जम्मा ३० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ, यो दायरा बढाउनु छ । नयाँ आर्थिक वर्षको बजेट तयारीको चटारोले समेत अर्थमन्त्री र सरकारलाई छोपिसकेको छ । उता आगामी बैशाख १६–१७ गते सरकारले लगानी सम्मेलन गर्दैछ, यसलाई समेत सफल पानुपर्ने चुनौती अर्थमन्त्रीसामु छ । यी तमाम चुनौती सामना गर्दै अर्थतन्त्रलाई एउटा सकारात्मक लय दिन सके भने अर्थमन्त्री पुनको कार्यकाल स्मरणीय बन्नेछ । अन्यथा उनी पनि मन्त्रालयमा केवल एक तस्वीर झुण्ड्याएरै बाहिरिनुपर्नेछ ।