जलविद्युतमा जापानी कम्पनीको इन्ट्री, ५० अर्ब लगानी गर्दै

काठमाडाैँ । नेपालका खोलानालाहरुबाट हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहे पनि अझै क्षमताअनुसार उत्पादन हुन सकेको छैन । सरकारले विद्युत उत्पादनमा निजी क्षेत्रलाई पनि आह्वान गरेपछि भने नेपालमा जलविद्युतको क्षेत्रमा उल्लेख्य सुधार देखिन थालेको छ । विद्युत उत्पादनमा निजी क्षेत्र सहभागी भएपछि नेपाल विस्तारै विद्युतमा आत्मनिर्भर बन्दै मात्रै गइरहेको छैन, वर्षायाममा बढी भएको बिद्युत भारतलाई बेच्ने अवस्थामा समेत नेपाल पुगेको छ ।

भारतसँग १० हजार मेगावाट विद्युत बेच्ने सम्झौता भएपछि उर्जा क्षेत्र उत्साहित बनेको छ । विद्युतको व्यवसायिक दायरा फराकिलो हुँदै जाँदा नीजि क्षेत्रहरुले आयोजनाहरु आफ्नै बलबुताले बनाउने र विदेशी लगानी भित्र्याउने काम पनि गरिरहेका छन् ।

विदेशी लगानी भित्र्याउने क्रममा सूर्य मैना होल्डिङ कम्पनी पनि अग्रस्थानमा छ । सूर्य मैनाले जापानी कम्पनी खाइहान समूहसँगको सहकार्यमा नेपालमा २८५ मेगावाटको जलविद्युत आयोजना निर्मााण गर्ने भएको छ । दुई कम्पनीको सहकार्यमा देशका विभिन्न भागमा आयोजना निर्माण हुनेछन् । सूर्य मैनासँग मिलेर नेपालमा निर्माण गरिने आयोजनाका लागि खाइहान समूहले ५० अर्ब रुपैयाँ लगानी गर्दैछ । यो लगानीबाट वार्षिक ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

खाइहान समूहले गत फेब्रुअरी २९ मा नेपालमा ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपाली कम्पनी सूर्य मैना र उक्त जापानी कम्पनीबीच लगानी गर्ने विषयमा सम्झौता समेत भइसकेको छ । जापानी कम्पनीले नेपाल सरकार, उर्जा मन्त्रालय र सम्बन्धित निकायहरुसँग मिलेर सूर्य मैनासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएको छ । जापानी कम्पनी खाइहान जापानको अमेजन डाटा सेन्टरलाई सोलार उर्जा उत्पादन गर्ने संस्था हो । त्यस्तै यो कम्पनीले जापानको पर्यटन क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।