सिमानाका नेपालीको पीडा : जहिल्यै एसएसबी आएर दुःख दिन्छ !

काठमाडौँ । तीनतिरबाट घेरेर बसेको दक्षिणी छिमेकी राष्ट्र भारतले नेपाली भूभाग मिच्न थालेको जुगौँ भयो । नेपालको पश्चिमोत्तर सीमाविन्दू लिम्पियाधुरा, कालापानीदेखि तराईका अधिकांश भूभाग हुँदै पूर्वोत्तर सीमाविन्दू टिम्बापोखरीसम्म भारतले मिचेको छ । एक तथ्यांकअनुसार भारतसँग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लाका करिब ५४ भन्दा बढी स्थानमा भारतले नेपाली भू–भाग मिचेको छ । ती स्थानमा भारतले एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भू–भाग मिचको अनुमान गरिएको छ । तर यसको यकीन तथ्यांक भने सरकारसँग पनि छैन ।

बेलाबेला नेपालले भारतसँग सीमा विवाद समाधानका एजेन्डा उठाउने गरे पनि भारतीय पक्षले भने सधैँ उदासीनता देखाउने गरेको छ । अझ नेपाली भूमिमै भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर सिमानाका नेपालीलाई दुःख दिने काम निरन्तर भइरहेको छ । एसएसबीको ज्यादतीको विरोध गर्दा कञ्चनपुरका गोविन्द गौतमजस्ता होनहार युवाले एसएसबीको गोली खानुपरेका घटना ताजै छन् । कहिले दार्चुलाको महाकाली नदीमा तुइन काटिदिएर जयसिंह धामी बगाउने त कहिले तराईका सीमावर्ती नेपाली बस्तीमा पसेर आतंक मच्चाउने एसएसबीले पछिल्लो समय सुनसरीमा पनि ज्यादति गरेको छ । पूर्वी नेपालका सुनसरी, झापा, मोरङ लगायत जिल्लामा भारतीय सीमावर्ती बस्तीमा एसएसबीको ज्यादती बढ्दै गएको गुनासो त्यहाँका स्थानीयले गरेका छन् ।

स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोलीसमक्ष सीमा क्षेत्रका नेपालीले एसएसबीको ज्यादतीबारे आवाज उठाएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुख समक्ष आफ्ना गुनासा राख्ने क्रममा सीमाका नेपालीहरुले एसएसबीको ज्यादती रोक्न माग गरे । सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमि तर्फका बासिन्दाको अनुभव छ । उनीहरुले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिनेजस्ता कार्य गर्दै आएको दुखेसो पोखेका छन् ।

स्थानीय बासिन्दा अताबुल अन्सारीले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभई भारतकै हो कि भन्ने आभास हुन थालेको बताए । उनले नेपाल सरकारले सो विषयमा भारतीय पक्षसँग कुरा गरी ठोस कदम चाल्नुपर्ने बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्ने बेला आएको धारणा राखे । एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दुःख दिनेजस्ता काम गर्दै आएको अन्सारीले बताए । सिमानामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुला रुपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य बिगारिरहेको आरोप समेत लगाए । उनले एसएसबीले चोरी–तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सहयोग नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन माग गरे ।

कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजी समेतको उपस्थितिमा भारतीय एसएसबीको कार्यशैलीको आलोचना गरेका स्थानीयले काउन्टर पार्टको बैठकमा यसबारे कुरा उठाउन माग गरेका छन् । सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने आश्वासन दिए । प्रजिअ आचार्यले पैदल यात्राको उद्देश्य सीमावासी सँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधन गर्नु रहेको बताए । यात्राको क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थिति बारेको प्रत्यक्ष जानकारी प्राप्त हुने उनको भनाइ छ ।

प्रजिअ आचार्यले एसएसबी बारेको नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्नेजस्ता विषयसहित स्थानीयले उठाएका मुद्दा दुई देशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताएका छन् । यद्यपि यस्ता आश्वासन र कुराका लागि कुरा राख्ने काम यसअघि पनि पटकपटक भएका हुन्, तर एसएसबीको ज्यादति भने रोकिएको छैन ।

सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ । सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुद पनि चोरी–तस्करी भने रोकिन नसकेको स्थानीयको भनाइ छ । सुनसरीको यो अवस्था एक उदाहरण मात्र हो । देशैभरि विशेषतः तराईका सीमावर्ती क्षेत्रका बासिन्दाको भोगाइ र दुखेसो उस्तै हुने गर्छ । खुला सीमाका कारण तोरी–तस्करी र आपराधिक गतिविध उस्तै बढिरहेका छन् । बारम्बार नेपालीले एसएसबीको ज्यादतीबारे कुरा उठाउँदै आए पनि सरकारले ठोस रुपमै गम्भीर कदम चाल्न सक्दैन, न त भारतीय पक्षले नै आफ्ना कमजोरी सच्याउँछन् । युगौँदेखि बल्झिएको यो सीमा विवाद र ज्यादति सुल्झाउने कसले ?