बैंक डुबाउने खेलमा पूर्व सिइओ र बोर्ड, मारमा कर्मचारी

  • सन्दीप शर्मा

काठमाडाैँ । दबाव, प्रभाव र प्रलोभनमा देशका वित्तीय संस्थाहरुमा नकारात्मक धन्दा हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । यही आरोपलाई पुष्टि गर्नेगरी मंगलबार बैंकका उच्च पदाधिकारी सहित १० जना पक्राउ परेका छन् । तत्कालीन सेन्चुरी वाणिज्य बैंकका दुई पूर्व प्रमुख कार्यकारी मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जना पक्राउ परेपछि अहिले वित्तीय क्षेत्र तरंगित बनेको छ । सिइओद्वयले धितोको तुलनामा सय प्रतिशतभन्दा बढी ऋण प्रवाह गरेको पाइएपछि सीआईबीले १० जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

मंगलवार तत्कालीन सेन्चुरी बैंकका दुई सिइओसहित १० जना सिआइबीद्वारा पक्राउ परेपछि बैंकिङ क्षेत्रमा सनसनी मच्चियो । पक्राउ परेका उनीहरुलाई सीआईबीले मंगलवार नै उच्च अदालत पाटनबाट ७ दिनका म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान गरिरहेको छ । सेन्चुरी बैक अहिले प्रभु बैंकसँग मर्जर भइसकेको छ । बैंक मर्जर भएपछि तत्कालिन सेन्चुरी बैंकका सिइओ रहेका मनोज न्यौपाने हाल प्रभु बैंकका वरिष्ठ डेपुटी सिईओका रुपमा कार्यरत छन् ।

मनोज न्यौपाने र तुलसीराम गौतमको कसुर

तत्कालिन सेन्चुरी बैंकका दूई पूर्व सिइओ मनोज न्यौपाने र तुलसीराम गौतमले सेटिङमा मनमौजीरुपमा रविन्द्र चौलागाई, उनको श्रीमती पूजा खत्री र आफन्तको नाममा रहेको विभिन्न कम्पनीहरुलाई २ अर्बभन्दा बढि ऋण प्रवाह गरेका थिए । सिआईबीका अनुसार उनीहरुले पदको दुरुपयोग गर्दै एक अर्ब १४ करोड धितो कायम भएको सम्पती माथि २ अर्ब ११ करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए । बैंकले प्राइमरी र सेकेण्डरी धितोको मूल्याकनका आधारमा ऋण प्रवाह गर्ने गर्छ । बैंकहरुको नियम अनुसार अनुसार सेकेण्डरी धितो कम भएपनि प्राइमरी धितोको रुपमा रहेका कम्पनीहरुको क्यास फ्लो, कम्पनीको गुडविल, विजनेस लगायतलाई आधार मान्दै धितोभन्दा बढि ऋण दिने प्रचलन छ । तर सेन्चुरीले ऋण दिदा ती कम्पनीहरुको गुडविल र कम्पनीको अवस्थालाई ध्यान दिएको देखिदैन । नियम विपरित आफ्नै तजविजमा बैंकले ऋण प्रवाह गरेको देखिन्छ ।

सेन्चुरी बैंकका दूई पूर्व सिइओ मनोज न्यौपाने र तुलसीराम गौतमले रविन्दै चौलागाई, उनको श्रीमती पूजा खत्री र आफन्तको नाममा रहेको ५ कम्पनीलाई अर्बभन्दा बढि ऋण प्रवाह गरेका थिए । बैंकले पत्याएका चौलागाई खराब पृष्ठभूमिका व्यक्ति हुन् । चौलागाई सहकारी बचतकर्ताहरुको ७ अर्ब रुपैयाँभन्दा बढि डुबाएको आरोपमा पक्राउ परिसकेका छन् । चौलागाईले सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको केस पछ्याउँदै जाना सेन्चुरी बैंकले ऋण हिनामिना प्रकरणसम्म सिआइबी पुगेको हो । चौलागाई र उनको आफन्तको नाममा रहेका कम्पनीहरु पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रा.लि., थ्री बदर्स मार्केटिङ प्रा.लि., पूजा माकेटिङ प्रा.लि. र अन्नपूर्ण डिस्टिलरी हुने ।

ऋण प्रवाहमा सिईओ मात्रै कि अरु पनि संलग्न ?

कुनै पनि बैंकबाट अबौंको रकम लगानि गर्दा त्यसको स्विकृति बैंकको सिइओ वा बैंकका कर्मचारीले मात्रै गर्दैनन् । सामान्यता २५ करोड भन्दा माथिको लगानिमा बैंकका सञ्चालक समितिहरुको समेत निर्णय हुने गर्छ । नेपालका बैंकहरुको आन्तरिक नियम अनुसार सिइओले धितोको मुल्यांकनको आधारमा १० करोड देखि २५ करोडसम्म आफ्नै तजविजीमा ऋण दिन पाउँछन् । तर त्यो भन्दा बढिको ऋणका लागि बैंककै सञ्चालक समितिबाटै निर्णय गरी लगानी गर्ने गरिन्छ । तत्कालिन सेन्चुरी कमर्सियय बैंक मर्ज भएपछि प्रभु बैंक भएको बैकबाट २ अर्ब भन्दा बढी ऋण प्रवाहमा अहिले पक्राउ परेका १० जना सबै बैंकका तत्कालिन कर्मचारीहरु छन् ।

ऋणका परिणाम हेर्दा सिइओ र कर्मचारीको निर्णले मात्रै ऋण दिएको मान्न सकिन्न । ऋण प्रवाह गर्दा तत्कालिन सेन्चुरी बैंकका बोर्ड अफ डाइरेक्टरको सहमतिविना सिइओले मात्रै यति परिणामको ऋण दिन सक्दैनन् । तर अहिले सिआईबीले पूर्वसिइओ र कर्मचारीलाई मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अर्थतन्त्रका जानाकारवालाहरु बैंकहरुले कम धितोमा सेटिङ्गका भरमा गर्ने यस्ता लगानीलाई राष्ट्र« बैंकले नियमन गर्न सक्नु पर्ने बताउँछन् ।

बोर्डको शंकास्पद भूमिका !

ऋण प्रवाह गर्दा सेन्चुरी बैंकको अध्यक्षमा राजेश कुमार श्रेष्ठ थिए । सिईओको अधिकारभन्दा बढीको ऋण प्रवाह गर्दा अध्यक्षको मिलेमतो नभई ऋण प्रवाह नै हुन सक्दैन । तर सिआइबीले बैंक सञ्चालक समितिका सदस्यहरुलाई केही नगरी कर्मचारीहरु मात्रैलाई पक्राउ गरेको छ । त्यस्तै यो ऋण प्रवाहमा मुख्य दोषी तत्कालीन सञ्चालक समितिका अध्यक्ष र सिइओ हुन् । अध्यक्ष र सिइओको आदेशमा हस्ताक्षर गर्ने कतिपय कर्मचारी अनाहकमा बैंकिङ कसुरमा परेका छन् ।

बैंकर्स संघको सक्रियता

प्रभु बैंकका डेपुटी सिइओ सहित १० जना पक्राउ परेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने भएको छ ।