लेबनानविरुद्ध नाटकीय जित निकाल्दै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै लेबनानविरुद्ध पुनरागमन जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

साउदी अरेबियामा जारी प्रतियोगितामा पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले २–१ को नाटकीय जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जाली चुमेको थियो ।

नेपालको लागि अर्को गोल सावित्रा भण्डारीले गरेकी थिइन् । पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो ।

नेपाली गोलरक्षक अन्जिलासँग तालमेल बिग्रिँदा पूजा रानाले आत्मघाती गोल गरेकी थिइन् । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपासमा गोलरक्षक धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

खेलमा धेरै अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको राम्रो सदुपयोग गर्न भने सकेन ।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।