लघुवित्तका ऋणीहरू थप आक्रामक, संसदभित्रै प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक वर्षअघि लघुवित्त वित्तीय संस्था विरुद्धको आन्दोलनको अगुवाई गर्दै देशव्यापी प्रदर्शन ग¥यो । दुर्गा प्रसाईले पनि लघुवित्त तथा वित्तीय संस्थाविरुद्ध ऋणीहरुलाई प्रोत्साहित गरे । पटक पटक काठमाडौं केन्द्रित आन्दोलन गरेका लघुवित्तका फेरि पनि काठमाडौंमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । तर यो पटक भने उनीहरु निषेधित क्षेत्र मात्र होइन, संसद भवन परिसर भित्रै छिरेर प्रदर्शन गरेका छन् ।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभाको बैठक सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा चल्दै थियो । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरिरहेका थिए । बिनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइरहँदा वित्तीय शोषणविरुद्धको आन्दोलन काठमाडौंमा चर्किरहेको थियो । लघुवित्त संस्थाहरुबाट लिएको ऋणको सावाँ–ब्याजसमेत तिरिसक्दा पनि आफूहरु ऋणमुक्त नभएको प्रदर्शनकारीहरुले गुनासो गर्दै आएका छन् । पुनः काठमाडौं केन्द्रित आन्दोलन थालेका उनीहरुले आइतबार थाल, चम्चा बजाउँदै सिफल क्षेत्रमा प्रदर्शन गरेका थिए । घलुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै आएका उनीहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका उनीहरु सोमवार संघीय संसद भवन परिसर भित्रै प्रदर्शन गरे ।

संघीय संसद भवनको चारैतिर झण्डै दुई सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर आन्दोन हुन थालेपछि केही समयअघिदेखि माइतीघर मण्डला क्षेत्रबाट नै भेला जुलुस गर्न निषेध गरिएको छ । तर सोमवार हुलका हुल प्रदर्शनकारीहरु संसद भवनको मुल गेटबाटै नाराजुलुस गरी प्रदर्शन गरेपछि सुरक्षा संवेदनशिलतामाथि पनि गम्भीर प्रश्न उठेको छ । प्रदर्शनकारी संसद भवर परिसरभित्रै प्रदेश गरेको घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य रहने गरी समिति नै गठन गरिएको छ ।

के हो लघुवित्त वित्तीय संस्था ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्थाको रुपमा परिभाषित गरिएको छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने काम गर्दै आएको छ ।

तर यसरी लघुवित्त वित्तीय संस्थाबाट लघुकर्जा लिएकाहरु कसरी पीडित भए त भन्ने प्रश्न गम्भीर बनिरहेको छ । लघुवित्त संस्थाबाट लिएको कर्जाको साँवा ब्याज तिर्दासमेत ऋण मुक्त नभएको गुनासो ऋणीहरुले आरोप लगाउँदै आएका छन् । लघुवित्त संस्थाले अनियन्त्रित ऋण प्रवाह गर्दा समस्या चुलिएको राष्ट्र बैंकले निश्कर्ष निकालेको थियो । त्यसैले गत वर्ष फागुनमा राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै एकै ब्यक्तिलाई एक भन्दा बढी लघुवित्त संस्थाले ऋण प्रवाह गर्न नपाउनेदेखि बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने निर्णय गरेको थियो । यस्तै, लघुवित्तको लाभांश वितरणमा पनि कडाई गरेको राष्ट्रबैंकले कर्जामा लिने ब्याजदरको कम्तीमा ५० प्रतिशत ब्याज बचतमा दिनुपर्ने पनि निर्णय ग¥यो । यसअघि एउटै संस्था वा एकभन्दा बढीबाट गरी बिनाधितो ७ लाख र स्थिर सम्पत्ति धितोमा १५ लाखसम्म रुपैयाँको सीमा तोकिएको थियो ।

राष्ट्र बैंकको यो निर्णयबाट लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरु भने मुक्त भएका छैनन् । वित्तीय संस्थाबाट लिएको ऋण नै मुक्त हुँदा मुलुक नै वित्तीय संकटमा पर्ने अर्थविद्हरुले बताउँदै आएका छन् ।