- एलिसा अर्याल
काठमाडौँ । हजारौँ बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू राई (जीबि) र उनका सहयात्रीहरु बेपत्ता छन् । लामो समयसम्म पक्राउ पर्न नसकेपछि विदेश भागेको आशंकासहित प्रहरीको इन्टरपोल शाखाले उनीहरुविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको भए पनि हालसम्म पनि उनीहरुको अत्तोपत्तो छैन् । यसबीचमा उनीहरुले सञ्चालन गर्दै आएका सहकारीहरु कब्जामा लिने र अन्य अनुसन्धानका काम गर्ने कार्य भने जारी छन् । पछिल्लोपटक राई नेतृत्वमा बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीका अध्यक्ष र भैरहवा शाखा व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहकारीका बचतकर्ताको विल्लिबाठ बनाएका सहकारीका सञ्चालक गितेन्द्रबाबू राई (जीवी) अझै फरार छन् । उनलाई पक्राउ गर्न डिफ्यूजन नोटिस नै जारी गरिएको हप्तौं वित्दा पनि उनी फरार रहनुले अनुसन्धानमा अनेक आशंका जन्माएको छ । यद्दपी, अनुसन्धानकै क्रममा जीवीसँग कनेक्सनमा रहेकाहरु भने तानिन थालेका छन् । यसक्रममा बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुप्रिममा १० हजार ३ सय ९१ जना बचतकर्ताहरू रहेका थिए । उनीहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ । यता लाखौँ बचतकर्ताको अर्बौ रकम हिनामिना गरि फरार रहेका ग्यालेक्सि फोरके टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबू राई (जीबि) अझै पक्राउ पर्न सकेका छैनन् । उनी संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक हुन् । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिबेदनमा देखिएको छ ।
कुन कम्पनीमा कति रकम लगानी ?
– राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि.मा रु. १२ करोड १४ लाख ८४ हजार ८ सय ६०
– जीवी ग्रुप एण्ड कम्पनी लिमिटेडमा रु. १४ करोड ९९ लाख ५९ हजार ५ सय २०
– स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रा.लि.मा रु.१८ करोड २१ लाख ७८ हजार १ सय ८३
– राई सञ्चालक रहेको नेचर नेष्ट प्रा.लि.मा रु. २ करोड ८९ लाख ७१ हजार ८ सय ८५
– गितेन्द्रबाबु राईको नाममा रु. ६ करोड २० लाख ८८ हजार ४ सय ८९
विभिन्न ५ वटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनु पर्ने देखिन्छ । सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई झन्डै एक वर्षदेखि सम्पर्कविहीन छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी मात्रै होइन पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड बढी रकम हिनामिना गरेको अभियोगमा जीबि सहित १९ जनाविरुद्ध गएको असोज १८ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।
त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि जीबि र उनको ग्याङको हो । जहाँबाट लाखौँ बचतकर्ताको उठिबास बनाएका छन् । सहकारी ठगी जस्तो जटिल बिषयलाई लिएर सरकार गम्भिर नभएको आरोप लाग्दै आएको छ । सहकारीको विषयमा सरकारको भुमिकामाथि संसदमा सांसदहरूले पनि प्रश्न उठाउँदै आएका छन् भने लाखौं बचतकर्ता भने आफ्नो पैसा फिर्ता हुने हो वा होइन् भन्ने अन्योलतामा छन् ।