काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ आफ्नै बोलीका कारण समस्यामा पर्दै आएका छन् ।
आदीवासी जनजाति समूदायको कार्यक्रममा मत नदिएकाले पहिचानको मुद्दा स्थापित गराउन सकिएन भन्नेदेखि तामाङ समूदायको कार्यक्रममा तामाङलाई मन्त्री बनाउछु भन्दै चतु¥याई देखाउन खोज्ने उनी विवादमा आइरहन्छन् ।
मन्त्रिमण्डल पुर्नगठनको उल्झन चलिरहेको बेला के प्रचण्डले तामाङलाई मन्त्री र सरकारमा नयाँ अनुहार भित्र्याउन सफल होलान ?
प्रधानमन्त्री प्रचण्ड प्रायः विवादमा आइरहने पात्रमा पर्छन् । आफ्नै बोलीका कारण होस वा आफू भावुक छु भन्दै खुलमखुला बोलेर होस, उनी विवाद र चर्चामा आइरहन्छन् ।
केहि वर्ष पहिले एक कार्यक्रममा उनले जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको जिम्मा आफूले लिने भनेपछि अदालतमा मुद्दा नै भोगे । ५ हजारको जिम्मा लिने विषयमा अदालतले प्रचण्डलाई क्लिन चिट दिएपनि यो विषयमा उनले थुप्रै समय विवाद र विपक्षीको टोकेसो खेपे ।
यसरी विवादमा आइरहने उनले जनजातीकै कार्यक्रममा पुगेर केहि समय पहिले माओवादी केन्द्रलाई मत दिएको भए कोशी प्रदेशको नामाकरणलाई पहिचानको आधारमा गराउन सकिन्थ्यो भनिदिए ।
मतदाताले माओवादी नपत्याएको भावमा अर्को चुनावमा बहुमत दिए संविधान संशोधन गरेर नामाकरण पहिचानको आधारमा बनाइदिने आश्वासन दिएका प्रचण्डले केहि समय अघि मात्रै फेरि पहिचानको मुद्दा बोक्दा पनि मत नपाउनुमा मतदाता भन्दा नेतृत्व धेरै दोषी रहेको बताइदिए ।
झट्ट अस्थिर जस्ता सुनिने प्रचण्डले यसरी बेला–बेलामा मत माग्ने काम गरिरहन्छन् । शनिवार सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रममा पुगेका प्रचण्डले मन्त्रिमण्डल फेरदबल हुने र तामाङलाई मन्त्री बनाउने अर्को घोषणा गरिदिए ।
मन्त्री फेर्ने विषय लामो समयदेखि सत्ता गठबन्धनको सबैभन्दा पेचिलो विषय बनिरहेको छ । मन्त्री फेर्ने कुरा सहज नभएको देखेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुटुक्कै फेर्ने काम हुने र सञ्चार माध्यमलाई भनेर नहुने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
उसोतः सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि तत्काल मन्त्री फेरबदलको सम्भावना नरहेको बताउदै आएको छ ।
कांग्रेसभित्रको आन्तरिक समिकरणमा समस्या आउन सक्ने कारण पनि यो विषय थाति रहन पुगेको छ भने, कांग्रेस मन्त्री फेर्ने विषयमा त्यति सकारात्मक देखिन्न ।
कांग्रेस नेता समेत रहेका कानूनमन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको र अहिलेकै मन्त्रिमण्डल सहि रहेको निष्कर्षमा रहेको दाबी गरिरहेका छन् ।
बाइटं धनराज गुरुङ, मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्न सक्ने कानूनी व्यवस्था भएपनि सत्ता गठबन्धनको समिकरणका कारण उनी सफल हुन सकेका छैनन् ।
तामाङ मन्त्रीमा को ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने आश्वासन दिएपछि को मन्त्री बन्दैछ भन्ने विषयमा समेत चर्चा शुरु भएको छ ।
माओवादी केन्द्रबाट प्रचण्डले पहिलो पटक नै मन्त्री बनाउन चाहेका हीतबहादुर तामाङलाई यो पटक मौक दिने मनशायमा उनी देखिन्छन् ।
माओवादी केन्द्रका नेताहरुका अनुसार तामाङलाई प्रचण्डले पहिलो कार्यकालमै मन्त्री बनाउन चाहेपनि पार्टीभित्रको आन्तरिक समिकरण र विभिन्न पक्षलाई थाति राखेर उनलाई ब्याक गराएका थिए । तर, अब भने तामाङलाई मन्त्री बनाउने गरि उनले माओवादीबाट मन्त्री बनेका एकजनालाई आउट गर्ने तयारी गरिरहेको बताइन्छ ।
मन्त्री फेर्न किन असफल ?
कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा निकट अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रचण्ड सन्तुष्ट छैनन् । कार्य सम्पादनमा समेत कमजोर देखिएका महतलाई हटाएर नयाँलाई मौका दिनेमा प्रचण्ड पुगेपछि खास समस्या सिर्जना भएको बताइन्छ । तर, यतिमात्रै कारण नभएर कांग्रेस महासमिति बैठकमा देउवालाई समस्या पर्ने भन्दै मन्त्री फेरबदलको विषय अड्किन पुगेको छ । महासमिति बैठकपछि माओवादी–कांग्रेसले गृह र अर्थ मन्त्रालय साट्ने चर्चा पनि चलिरहेको छ ।
गृहले धरपकडमा ध्यान दिएको र स्टन्ट गरेको कांग्रेसभित्रको आम बुझाई छ । यसकारण अब सरकारका मन्त्री फेर्ने कुरा थप पेचिलो र रोचक हुने देखिन्छ ।