भाषणबाटै गगनलाई झट्का, क्रुद्ध देउवाको प्रष्ट अडान

काठमाडौँ । वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाई सार्वजनिक चुनौति दिएका छन् । प्रि इलेक्सन एलायन्स अर्थात चुनावअघिको गठबन्धनलाई लिएर चर्चामा आएका महामन्त्री गगन थापालाई देउवाले महासमिति बैठक उद्घाटन सत्रको सम्बोधनबाटै झड्का दिएका छन् ।

कांग्रेस महामन्त्री गगन कुमार थापाले चुनाव अघि गठबन्धन नगर्ने, चुनावमा रुखबाहेकमा मत हाल्ने स्थिति सिर्जना नगर्ने लगायतका विषय प्रतिवेदनमै उल्लेख गरेपछि क्रुद्ध बनेका देउवाले उनलाई प्रतिवेदनबाट यस्ता विषय हटाउन दबाब दिइरहेका छन् । तर, गगन टसमस नभएपछि उनीबीच सहमति नै नजुटी शुरु भएको महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधनको क्रममा देउवाले चुनावी गठबन्धन आवश्यकता, औचित्य र समयक्रमको माग अनुसार हुने विषय भन्दै जवाफ फर्काए ।

चुनाव अघिको गठबन्धनलाई मुख्य मुद्दा बनाएका गगन थापा र शेखर कोइरालासहितका नेताहरु यो विषयलाई चर्काउने रणनीतिमा देखिन्छन् । प्रि इलेक्सन एलायन्स गर्दा लोकप्रिय मत घटेकोदेखि मतदाता गुमाएको विषय समेत गगनले प्रमुख विषय बनाएका छन् । तर, यो विषयमा देउवा सहमत देखिन्नन् । चुनावी गठबन्धन गर्ने नगर्ने विषय त्यतिबेलाको माग र आवश्यकताको आधारमा हुने विषय भएकाले अहिले नै यसबारे विभिन्न कुरा गर्नुपर्ने आवश्यकता नै नरहेको देउवाको प्रष्ट अडान सार्वजनिक भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी गठबन्धन गर्न हुने/नहुने विषय प्रतिवेदनमा उल्लेख गर्नुपर्ने विषय नभएकोमा दृढ देखिएका छन् । देउवाले चुनावी गठबन्धनलाई लिएर गगनले थालेको कदम आगामी सत्ता यात्राको बाधक बन्ने ठानेका छन् ।

यता, सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रमा पनि कांग्रेसको इतर पक्षले दिएको धोकालाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको इतर पक्षले धोका दिएको बयान दिन थालेका छन् । यति भनेपछि देउवा केहिहदसम्म राहत महशुस गर्ने स्थानमा आइपुगेका छन् । तर, यसै बेला महामन्त्रीद्वयले ल्याएको प्रतिवेदनले समस्या पैदा गर्न सक्नेमा चनाखो देखिएका देउवाले दिएको दबाब उनको सत्ता यात्राको पहलकदमीलाई लिइएको छ । तर, के चुनावी गठबन्धनको विषयमा अहिले नै बहस–छलफल गर्नुपर्ने आवश्यकता हो ? विशेष परिस्थिति बनेमा अहिले गरिएको निर्णयबाट पछि हट्न कति सहज हुन्छ ? वा गठबन्धनबीना सरकार बन्नै नसक्ने स्थितिमा किन गगन थापा यो विषयलाई प्राथमिकता दिन चाहन्छन् ? यसबारे समेत चासो बढेको छ ।

देउवालाई सत्ता चुनौतिका कारण

१. चुनावी गठबन्धनको नाममा आएको प्रतिवेदनको अंश
२. कोशी प्रकरणमा भएको गोलमाललाई छलफल गर्नुपर्ने विश्वप्रकाश शर्माको प्रतिवेदनको अंश
३. कांग्रेसमा हिन्दुवादी महाअभियानको नारा र पहलकदमी

मुख्य रुपमा यी तीन कारणले गठबन्धन टुट्न सक्ने आंकलन गरिएको छ । देउवा प्रचण्ड पछि दुई वर्षका लागि प्रधानमन्त्री बन्ने पालो कुरिरहेका छन् । प्रधानमन्त्री बन्नेमात्रै नभएर कांग्रेसलाई एकीकृत बनाउदै सत्ता नेतृत्व लिनु देउवाकासामू चुनौति पनि छ । तर, यस्ता विषयले उनीमाथि दबाब थप पेचिलो बनेको छ ।

गगनको इशारा

१४ औं महाधिवेशनमा महामन्त्री जितेपछि गगन संसदीय दलको नेतामा आफूलाई उभ्याउन इतर पक्षलाई सहमत गराउन सफल भए । निश्चित समयमात्रै राजनीति गर्ने दाबी गर्दै आएका गगन तीव्र महत्वकांक्षासहित अघि बढिरहेका छन् । संसदीय दलको नेता जित्न नसकेपछि उनले देउवामाथिका प्रहारलाई सिर्जनात्मक ढंगले अघि बढाउने र आफ्नो शक्ति विस्तार गर्नेमा केन्द्रित बनिरहेका छन् ।

शेखर कोइराला प्रमुख चुनौति बन्ने ठानेका गगनले अब संसदीय दलको नेता फेर्ने कोसिस गर्ने र शेखरलाई उम्मेदवार बनाउनुपर्ने बताउन थालेका छन् । उनी आगामी महाधिवेशनबाट सभापतिको उम्मेदवार बन्न कट्टर कांग्रेसीलाई चुनावी गठबन्धन लगायतका विषय उछालेर लाभ लिने प्रयत्नमा जुटेका छन् र यसको भुङ्ग्राेमा परेका छन् देउवा ।