काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधाका पाँच जना स्रष्टालाई सम्मान गरेको छ । प्रज्ञा भवनमा आयोजित मनास्लु सांस्कृतिक एवं सृष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पाँच विभिन्न विधाका विशिष्ट व्यक्तिलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आएका जगदीश खरेल, संगीतकर्मी कुन्ती मोक्तान, राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ छन् । यस्तै, कार्यक्रममा शिक्षासेवीबाट जयन्ती सत्याल अधिकारी र समाजसेवी सम्मान बालकृष्ण बुर्लाकोटीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री किरातीले स्रष्टाप्रति गरिएको सम्मानले युवा पुस्तामा स्रष्टाप्रतिको सम्मान बढाएको बताए । उनले उनीहरुले समाजमा पु¥याएको योगदानको स्मरण गर्दै समाज रुपान्तरणमा सदैव भूमिका खेल्न आग्रह समेत गरे ।
कार्यक्रममा सञ्चारकर्मी खरेलले पछिल्लो समय युवा पुस्ताको विदेश मोह अस्वभाविक भएको भन्दै अध्ययनको शिलशिलापछि स्वदेश फर्केर देश बनाउन अपिल गरे । उनले मनास्लु सञ्चारकर्मी सम्मानले थप समाजमा पत्रकारिताको क्षेत्रबाट योगदान गर्न हौसला प्रदान गरेको दावी गर्दै युवाहरुलाई देशमै बसेर मुलुक निर्माण गर्न सुझाव दिए । मुलुकको राजनीतिले विस्तारै परिवर्तन लिन थालेको भन्दै अबको केही वर्षमा राजनीति युवाको हातमा जाँदा मात्रै देशले विकासको गति लिने दावी समेत गरे ।
सांंस्कृतिक कार्यक्रममा कुन्ती मोक्तान र सुवानी मोक्तानले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै, भ्वाइस अफ नेपाल सिजन तीनकी निर्णायक एवं गायिका तिर्सना गुरुङ र समीक्षा अधिकारीले समेत प्रस्तुती दिएका थिए ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट नजिता ल्याउने विभिन्न संकायका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कलेजले पहिलोपटक मनास्लु आइडल, मनास्लु डान्सिङ स्टार र मिस्टर एण्ड मिस मनास्लुको फाइनल आयोजना गरेर विजेतालाई समेत पुरस्कृत गरेको थियो । यस्तै, कलेजमा अध्यापनरत उत्कृष्ट ६ जना शिक्षक/शिक्षिका तथा कर्मचारीलाई सम्मान गरेको थियो ।
हरेक वर्ष कलेजले कक्षा ११ लाई स्वागत र १२ लाई बिदाई गर्ने उद्देश्यसहित सांस्कृतिक एवं स्रष्टा कार्यक्रम आयोजना गर्दै आएको छ ।