धर्मको राजनीतिमा देउवाको आशक्ति, स्व. सुशीलमाथि अन्याय

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा हिन्दु धर्म पुनर्स्थापनाको बहस फेरि चर्चामा आउन थालेको छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि कांग्रेस नेता शंकर भण्डारीले आफ्नो नेतृत्वमा महाअभियानको घोषणा गर्दै संविधानमाथि चुनौति थपिदिएका छन् । भण्डारीले यस्तो कदम चाल्ने आँट कसको आडमा गरेका हुन् ? के उनलाई सभापति शेरबहादुर देउवाको अप्रत्यक्ष साथ छ ? वा कांग्रेस संविधानविरोधी गतिविधिको नाममा निर्मम पेश हुन तयार छ त ?

कांग्रेस महासमिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्न भन्दै बसेको बैठकमा शंकर भण्डारीले आफूसहित २२ जनाको हस्ताक्षर संकलन गरेर सनातन हिन्दु राष्ट्र स्थापनाको मागसहित प्रतिवेदन नै पेश गरे । यसमा कांग्रेस नेतृ पुष्पा भुसाल, दिलेन्द्र बडु र डा. डिला संग्रौलादेखि थुप्रै शीर्ष नेताहरु र प्रदेश सभापतिहरु समेत सहभागी रहेका छन् । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानिया र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मासमेत छन् । यस्तोमा उनीहरुले संविधानले धर्मनिरपेक्षता भनेको खण्डमा किन धर्मको पक्षमा मत राख्ने हिम्मत राखे त ? यो भने देउवासँगै जोडेर हेर्न सकिने विषय हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ११ गते नवलपुरमा भएको कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा संघीयता र गणतन्त्रमा कसैले पनि केही भन्न नपाउने तर धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिने भन्दै धर्मनिरपेक्षतामाथि धावा बोल्ने काम शुरुवात गरेका हुन् । यहि छेकोमा कांग्रेसका २२ नेताहरु जो देउवा निकटका हुन्, उनीहरुले नै यस्तो प्रस्ताव राखेपछि कांग्रेसले अब यो विषयलाई छलफलको विषय बनाउला ? वा महाअभियान नै घोषणा गरेर पार्टी विधानविपरीत काम गरेको भन्दै कारबाहीको तयारी गर्ला ? यो भने रोचक विषय बन्ने देखिन्छ ।

संविधान र धर्मनिरपेक्षता

२०७२ सालमा संविधान जारी हुने बेला कांग्रेसबाटै शुशिल कोइराला प्रधानमन्त्री थिए । संविधान जारी गर्नमा दृढ र अड्डी कसेर बसेका उनले जसरी पनि संविधान जारी गर्ने र सहमतिका विषयलाई लचकता अपनाए जानेमा योजना बनाइसकेका थिए । जसकारण नै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गर्ने कुरामा कोइराला चुकेनन् । कांग्रेसभित्र धर्मनिरपेक्षताविरुद्धको आवाज देखिएपनि कोइरालाले यसलाई नजरअन्दाज गरेकै कारण संविधानमा धर्मनिरपेक्षता सम्भव भएको जानकारहरुले बताउने गरेका छन् ।

कोइरालादिवंगत भएपनि उनले संविधान जारी गर्ने मामलामा ठूलो जोखिम मोल्न परेपनि तयार रहने सन्देश दिने गरेका थिए । संविधान जारी गरेर मुलुकलाई निकास दिने काम गरेका कोइरालाको निधन नै रहस्यमयी ढंगले भयो भने यसबारे कसैले पनि सोधिखोजी समेत गरेको देखिएन् । उनको मृत्युलाई सहज ठानिएको जस्तो देखिएपनि धेरैले आशंका भने गर्ने गरेका छन ।

अभियान र धर्म

शंकर भण्डारीले थालेको महाअभियानले धर्मलाई बोकेपनि यसमा राजसंस्था नजोडिने प्रष्ट पार्दै आएको छ । धर्म र राज्य परिपुरक हुने भन्दै भण्डारीले यो महाअभियानमा नेताहरु जोडिने काम शुरु भएको भन्दै यसले सार्थकता पाउने दाबी गरिरहेका छन् ।

संविधानले धर्मनिरपेक्षता भनेको बेला भण्डारी लगायत नेताहरुले सञ्चालन गर्ने भनेको यो अभियान विवादमा भने परेको छ । कांग्रेस संविधानको दायरामा रहेर लोकतन्त्रको उन्नत विकासमा जुट्ने पार्टी समेत हो । राज्यलाई धर्मसँग जोड्ने गरि जुन राजनीति गर्न खोजिएको छ, त्यसलाई कांग्रेस संस्थापन वा इतर पक्षले कसरी लिन्छ र यसलाई पार्टी अनुशासनविरुद्धको कसुर ठान्छ वा बढावा नै दिएर छलफलको एजेण्डा नै बनाउँछ भन्ने विषय अब जनताले नजिकबाट हेर्ने विषय बनेको छ ।

राज्यको कुनै निश्चित धर्म हुँदैन भनिन्छ । राज्यले धर्म मान्ने संस्कार बसाल्दा अन्य धर्म मान्ने र आस्था राख्नेमाथि दमन शुरु हुने लगायत कुरा प्रचलित विश्वासको रुपमा रहेका छन् । तर, कांग्रेसले राजावादीहरुले जस्तै धर्मको माग गर्नुले कतै मुलुकलाई फेरि २०४७ सालको संविधानको वरिपरी लैजाने षडयन्त्र त हुँदैछैन भन्ने आशंका समेत उब्जाएको छ ।