काठमाडौँ । कोरियन भाषा परीक्षाको विवादका कारण युवाले ज्यान नै गुमाउने गरि भएको घटनाको छानविन प्रतिवेदनले यातायातमन्त्री प्रकाश ज्वालालाई नैतिक रुपमा दोषी करार गरेको छ । आफू बालकुमारी घटनामा जाँदै नगएकोदेखि त्यहाँ आन्दोलन भइरहेको छ भन्नेबारे जानकारी नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्तिमा रमाएका मन्त्री प्रकाश ज्वालालाई जाँचबुझ आयोगको प्रतिवेदनले दोषी करार गरिरहँदा अब पनि उनले राजीनामा दिनु पर्दैन ?
गएको पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने मागसहित युवाहरु आन्दोलनमा थिए । त्यसै आन्दोलनको क्रममा दुई युवाको ज्यान गयो । यसै विषयमा अध्ययन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी करार गरेको छ । कोरियन भाषा परीक्षामा अदालतलको आदेशबाट शुरु भएको विवादको क्रममा आन्दोलन नै चलेको थियो । आन्दोलनको क्रममा दुई युवाको ज्यान नै गयो । प्रहरीको गोली लागेर युवाको ज्यान जाने गरि घटेको घटनाबारे छानविन गर्न बनेको आयोगले बुझाएको प्रतिवेदनले औल्याएको विषयले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला गम्भीर नैतिक संकटमा फसेका छन् । मन्त्री ज्वालाले संयमता अपनाउन नसकेको मात्रै विषय यसमा समावेश छैन, उनले नैतिक जिम्मेवारी समेत नलिएको गम्भीर विषय समावेश भएको छ । तर, त्यसबेला मन्त्री ज्वालाले आफू बालकुमारी घटनाको बेलामा सहभागी नै नभएको भन्दै निम्छरो जवाफ दिएका थिए ।
आफूमाथि आरोप लागे पनि मन्त्री ज्वालाले सुरक्षा निकायले जानकारी नगराएकोदेखि आफ्नो मन्त्रालयको कुनै संलग्नता नरहेको भन्दै बालकुमारी घटनामा कसैले आफूलाई जोड्न खोजे त्यो गलत हुने दाबी गरिरहेका देखिन्छन् । तर, घटनामा आफ्नो कुनै संलग्नता नरहेको विषय पुष्टी गराउन मरिहत्ते गरेका मन्त्री ज्वाला बालकुमारी घटनाको दिन कस्तो अवस्थामा थिए त ? हेरौं यो भिडियो क्लिप ।
बालकुमारी प्रकरणबारे बचाउमा उत्रिदा नै उनले झुटको सहारा लिएको यहि भिडियो क्लिपले नै प्रष्ट पारिसकेको बेला उनी अझैं पनि उम्किने प्रयासमा भने लागि नै रहेका छन् ।
मन्त्री ज्वाला बालकुमारी घटनामा दोषी रहेको भन्दै चौतर्फी आवाज र विरोध चलेपछि उनका पार्टीका अध्यक्ष माधव नेपाल उल्टै सुरक्षा संयन्त्रदेखि अन्यलाई दोषारोपण गरेर ज्वालाई चोख्याउने खेलमा जुटे ।
कांग्रेस महामन्त्री गगन थापाले बालकुमारी घटना हुनुमा मन्त्री ज्वालाको ठूलो लापरबाही र जबरजस्ती नै रहेको ठोकुवा गर्दै आएका छन् ।
ज्वाला र माधव नेपालले बचाउमा उत्रिने भरपुर प्रयास गरेपनि संसदको एक समितिमा जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने प्रारम्भीक रुपमै मन्त्रीले संयमता नअपनाएको भन्दै यसबारे रोष प्रकट गरिसकेका थिए ।
के छ आयोगको प्रतिवेदनमा ?
बालकुमारीमा डेढ महिना अघि दुई युवाको ज्यान जाने गरि घटेको घटनामा छानविन गर्न बनेको पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै यातायातमन्त्री प्रकाश ज्वालाको गैरजिम्मेवारपन र प्रहरीले वस्तुस्थितिको सही मूल्यांकन नगरी गोली चलाएको औँल्याएको छ, भने आयोगले फिल्डमा खटिएका डिएसपी उमेश लम्साल तथा मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवारलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । दुवैजना हाल निलम्बनमा छन् । डीएसपी लम्सालले तहगत रुपमा बल प्रयोग गर्न अनुमति दिनुपर्नेमा मन्त्री ज्वालाको गाडीमा आगजनी हुनु अगावै गोली चलेको निष्कर्ष आयोगको छ ।
खुल्यो मृत्युको कारण
गत १३ पुसमा ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर तथा रावतको अश्रुग्यास लागेर मृत्यु भएको पाइएको छ ।
राजीनामाको प्रसंग
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा कानून मन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर तामाङले बंगलादेशमा अध्ययन गर्न जाने युवतीबारे दिएको अभिव्यक्तिकै कारण पदबाट राजीनामा दिएका थिए भने, ओलीकै क्याबिनेटका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि घुस रकम माग गरेको आरोप लागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा गरेका थिए । प्रचण्ड अघि शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समेत छानविनको समयसम्म पदबाट राजीनामा दिएका थिए । तर, ज्वालाले आफू संलग्न भएको घटनाको नैतिक जिम्मेवारी समेत नलिएको बेला के उनले राजीनामा देलान् ? यो विषय अब थप चर्चा र चासोमा रहनेछ ।
मन्त्रीलाई बर्खास्तीको माग
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै विपक्षी दलका सांसदहरुले आवाज उठाएका छन् । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने वा राजीनामा दिनुपर्ने भन्दै यी काम नभए संसद अवरोध समेत हुनसक्ने चेतावनी नै दिएका छन् । यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध जनाएका छन् । मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने विषयमा अहिलेसम्म पनि मौन रहे । मौन रहेको लामो समयपछि आएको प्रतिवेदनले उनको दोष देखाएपछि राजीनामा दिनुको विकल्प नभएपनि के मन्त्री ज्वालाले राजीनामा देलान ? प्रश्न भने छ । यता सुशासनको नारा दिइरहेका प्रधानमन्त्रीलाई समेत बर्खास्त गर्नुपर्ने वा राजीनामा गराउनुपर्ने बाध्यता आइलागेको छ ।