मुक्तिनाथ केबलकार अघि बढ्याे, द्रुतमार्गकाे काम ३१ प्रतिशत

लघुवित्तले महिला सशक्तीकरणमा सहयोग गरेको छ : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताको प्रसंशा गरेका छन् । यसले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको उनको भनाई छ । शनिबार चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै उनले यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ ।

दिगो विकास लक्ष्य हासिल गर्न बजेट व्यवस्था अवैज्ञानिक

संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको बताएका छन् । सभापति पन्थले प्रदेश र स्थानीय तहमा त बजेट जथाभावी खर्च गर्ने परिपाटी नै बसेको जिकिर गरे । शनिबार काठमाडौंमा आयोजित दिगो विकास लक्ष्यसम्बन्धि एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दिगो विकास लक्ष्य हासिल हुनेगरी आवश्यक बजेटको व्यवस्था गर्न उनले सरकारलाई सचेत समेत गराए । दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालमा सन्तुलित बजेट नहुनुका साथै काम गर्ने तौरतरिका पनि नभएको उनको भनाई छ । पछिल्लो समय राजनीतिक दलहरुले दिगो विकास लक्ष्य हासिल गर्नुपर्छ भन्ने मान्यतालाई अंगिकार गरेपनि त्यसअनुसा तिब्रता दिने काममा अग्रसर नभएको उनको टिप्पणी छ ।

काठमाण्डौ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाण्डौ–तराई-मधेस द्रुतमार्ग निर्माणको झण्डै ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको बताइएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको निर्माण जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । करिब ७१ किलोमिटर लम्बाई रहेको यो आयोजना काठमाण्डौमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ ।

अघि बढ्यो मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया

पर्वतकोे मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने विश्वास लिइएको छ । मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेँसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने देखिन्छ ।

तनहुँमा खर्च सन्तोषजनक देखिएन

तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ सङ्घीय सरकारमार्फत तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा ६३ करोड ८८ लाख ६१ हजार चार सय ९२ खर्च भएको छ । चालुतर्फ आठ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ विनियोजन भएकामा चार अर्ब ७७ करोड ४६ लाख ६८ हजार चार सय ८२ खर्च भएको छ । यो ५४.४८ प्रतिशत हो । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१.६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्तसम्ममा सङ्घ भन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छ ।