- राजेन्द्र पन्त तारकिणी
काठमाडौँ । अवैध रुपले रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीप्रति अन्ततः रुस लचक देखिएको छ । रुस–युक्रेन युद्धको क्रममा मारिएका नेपाली जवानका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम दिलाउन रुस सहमत भएको छ । यसअघि रुसले पीडित परिवारले क्षतिपूर्ति लिने भए परिवारका मान्छे रुसमै आउनुपर्ने अडान राखेको थियो । तर नेपाल सरकारको कूटनीतिक पहलका कारण रुसले लचकता अपनाउँदै क्षतिपूर्ति रकम नेपालमै उपलब्ध गराउन सहमत भएको हो । सरकारले अन्य मुलुकबाट नेपालीहरूलाई क्षतिपूर्ति दिँदा नेपाली दूतावासमार्फत उपलब्ध गराउने प्रचलन रहेको कन्भिन्स गराएपछि रुसले पनि नेपाली दूतावासमार्फत रकम उपलब्ध गराउने वचन दिएको हो । दूतावासले उक्त रकम बुझेपछि नेपालस्थित परराष्ट्र मन्त्रालयमा पठाउने र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमार्फत पीडित परिवारलाई उपलब्ध गराउने बताइएको छ ।
क्षतिपूर्ति रकम कति पाउँछन् त ? रुसले मृतक नेपालीका परिवारलाई कति रकम दिने भन्नेबारे केही खुलाएको छैन । तर नेपाली दूतावास स्रोतका अनुसार रुसले युक्रेनसँगको युद्धमा मारिने रूसी सैनिकका परिवारलाई दिने बराबरकै क्षतिपूर्ति नेपालीले पनि पाउनेछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो आदेश अनुसार युक्रेनसँगको युद्धमा मारिने सैनिकका परिवारले कम्तिमा ५० लाख रुबल क्षतिपूर्ति पाउँछन् । जुन नेपालीले पाउने करिब ७२ लाख रुपैयाँ बराबर हो । यदि सेनामा भर्ना भएका नेपालीको बीमा गरेको भए करिब डेढ करोड रुपियाँ बराबर क्षतिपूर्ति पाउनेछन् ।
दलालहरूको प्रलोभनमा परेर अवैध रुपले रुस पुगेका करिब २०० भन्दा बढी नेपाली युवा त्यहाँको सेनामा भर्ती भएको तथ्य सरकारले यसअघि नै सार्वजनिक गरेको थियो । तीमध्ये हालसम्म कम्तीमा १२ जना नेपालीले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाइसकेको अनौपचारिक जानकारी छ । यद्यपि यो संख्या अझै बढी हुनसक्ने अडकल भइरहेका छन् । ४ जना नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा रहेको र केही नेपाली भने युक्रेनको सेनामा पनि भर्ना भएको बताइन्छ । केही नेपाली घाइते भएको बताइएको छ । तर पनि रुस सरकारले आफ्नो सेनामा रहेका नेपालीहरूको अवस्था यकिन जानकारी दिएको छैन । मस्कोस्थित नेपाली दूतावासलाई पनि सार्वजनिक रुपमा बाहिर आएका सूचना र तथ्यांकबाहेक अन्य जानकारी नरहेको बताइन्छ ।
रुसले युद्धका क्रममा मारिएका नेपालीका लाश समेत नेपाल पठाउन आनाकानी गर्दै आएको छ । सेनामा रहेका नेपाली युवा स्वदेश फर्काउन त झन मानेको छैन । नेपाली युवा रुसी सेनामा भर्ना भएको जानकारी पाएपछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत गत मंसिरमा रुसलाई कुटनीतिक पत्र पठाएको थियो । पत्रमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ती गरिनु नेपालको कानुनविपरीत हुने भन्दै आइन्दा भर्ती नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काइदिन अनुरोध गरेको थियो । साथै केही नेपालीको मृत्यु भएको जानकारीअनुसार मृतकको शव समेत नेपाल ल्याउन दिन अनुरोध गरेको थियो । तर रुसले उक्त कूटनीतिक पत्रको जवाफ अहिलेसम्म दिएको छैन । केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमणको क्रममा रुसी अधिकारीलाई नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकलाई क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरेको जनाएका थिए । तर सरकारले भन्नेबित्तिकै रुसले फर्काउन नमान्ने उनको भनाइ थियो । उनले देशको कानुन उल्लंघन गरेर जागिर खाने नाममा विदेशी सेनामा भर्ती नहुन नेपाली युवाहरूलाई आग्रह समेत गरेका थिए ।
रुसले विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती गराउन थप लोभ्याइरहेको रहेको छ । गत पुस १९ गते रुसी राष्ट्रपति पुटिनले नयाँ आदेश जारी गर्दै रूसको पक्षमा लड्ने विदेशी नागरिक र उसको परिवारका सदस्यलाई सुरुमै रूसी नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । यस आदेशअनुसार अब रुसी सेनामा भर्ती हुनेबित्तिकै विदेशी नागरिकले रुसको नागरिकता पाउनेछन् । आवेदन दिएमा उसको परिवारका सदस्यले पनि रूसी नागरिकता पाउने बताइएको छ । यस व्यवस्थाले नेपालजस्ता गरिब देशबाट अवसरको खोजीमा ज्यानको पर्वाह नगरी रुस पुगेका युवाहरूलाई झन् लोभ्याउनेछ । ज्यादाजसो नेपाली भिजिट भिसामा रुस पुगेर सेनामा भर्ती भएको पाइएपछि सरकारले रूस जाने नेपालीमाथि कडाइ गरिरहेको छ । सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्य नेपाली नागरिकले रूसको भ्रमणमा जानुपरे परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था छ ।