प्रचण्डले छाड्दै माओवाद ! (भिडियो)

  • सुजन चालिसे

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा तीनवटा विषय जोडदार रुपले उठे– पार्टीको नेतृत्व चयन पद्दती परिवर्तन, चुनाव चिन्ह परिवर्तन र पार्टीको नाम परिवर्तन ।

केन्द्रीय समिति चयनलाई प्रत्यक्ष निर्वाचित गराउने निर्णय गरेपनि माओवादीले तत्कालै चुनाव चिन्ह र पार्टीको नाम परिवर्तन नगर्ने निर्णय गरेको छ । यद्यपी माउपार्टीबाट फुटेर गएका सबै नेताहरुले माओवादलाई त्यागिसकेकाले उनिहरुलाई एक बनाउनका लागि प्रचण्डले पनि निकट भविष्यमै माओवाद छाड्ने कतिपयको आंकलन छ ।

आफ्नो पहिलो विधान अधिवेशनमा छलफल गर्दा माओवादीका प्रतिनिधिहरुले पार्टीको नाम परिवर्तनका बारेमा पनि गहिरो विमर्श गरे ।

पार्टी उपमहासचिव जनार्दन शर्माले अधिवेशन अगावै प्रस्तावित विधानको मस्यौदामाथि पूरक प्रस्ताव ल्याएर पार्टीको नाम परिवर्तन गर्ने विषय अगाडी सारेपछि यो विषय अझ बहसमा आएको थियो । यद्यपी माहोवादीको विधान अधिवेशनलाई पार्टीको नाम परिवर्तन गर्ने अधिकार छैन । त्यसैले तत्काल पार्टीको नाम नफेर्ने निर्णय विधान अधिवेशनले गरेको छ ।

१० बर्षे सशस्त्र जनयुद्ध गरेर संसदीय राजनीतिमा आएको माओवादी पार्टीलाई माओवाद अब घाँटीमा अड्किएको हाडजस्तो बनेको छ ।

यसलाई निल्ने भन्दापनि ओकेल्ने कसरतमा माओवादी पंक्ती देखिन्छ । युद्धकालीन माओवादी माउपार्टीबाट विभाजित भएका नेताहरु सबैले अहिले माओविचारलाई कायमै राखे पनि माओवादी नाम भने छाडिसकेका छन् । विभाजित भएका शीर्ष नेताहरुकै नै माओवादीप्रति विकर्षण देखिन्छ ।

१. डा. बाबुराम भट्टराईः

माओवादी नाम त्यागेको सालः २०७२

हालको पार्टीः नेपाल समाजवादी पार्टी ।

२. नेत्रविक्रम चन्द विप्लवः
माओवादी नाम त्यागेको सालः २०७३

हालको पार्टीः नेपाल कम्युनिष्ट पार्टी

३. मोहन वैद्य किरणः

माओवादी नाम त्यागेको सालः २०७९

हालको पार्टीः क्रान्तिकारी कम्युनिष्ट पार्टी ।

४. पुष्पकमल दाहाल प्रचण्ड

माओवादी नाम त्यागेको साल २०७४

सर्वोच्चको परमादेशपछि फेरि २०७७ सालमा पुरानै नाम

हालको पार्टीः नेकपा माओवादी केन्द्र ।

प्रचण्डले नेतृत्व गरेको पार्टीमा अब माओवादको कुनै चरित्र बाँकी नरहेको अधिकांशको विश्लेषण रहने गरेको छ । त्यसैले अझैपनि पार्टीको नाम माओवादी राखेर जनतालाई झुक्याउने धन्दा छाड्नुपर्ने जानकारहरु बताउँछन् ।

जनयुद्धकालीन माओवादी पार्टी संसदीय राजनीतिमा प्रवेश गरेपछि २०६५ मा एकिकृत माओवादी र २०७३ सालमा नेकपा माओवादी केन्द्र बन्यो ।

२०७५ जेठ ३ गते एमालेसँग एकता गरेर नेकपा बन्दा उसले आफ्नो नामबाट माओवादको अवशेष हटायो । एमालेसँगको विभाजनपछि फेरी माओवादी केन्द्रकै रुपमा छ । माओवादीकै अन्य घटकहरुले पनि माओवादी नाम हटाइसकेको अवस्थामा उनीहरुलाई फेरी एकतामा ल्याउने प्रयासस्वरुप प्रचण्डले पनि माओवादी नाम पुनः हटाउने निर्णय गरेमा आश्चर्य मान्नुपर्ने छैन ।