सम्पत्ति शुद्धीकरणमा तानिए रवि–जीबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक जीबी राई सम्पत्ति शुद्धीकरणमा पनि तानिएका छन् ।

जीबीसँगको व्यवसायीक साझेदारीमा सहकारीको रकम प्रयोग भएपछि रवि पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिँदै आएका छन् ।

यहि, प्रकरणमा प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान अगाडि बढाएको छ ।

सहकारीको रकम हिनामिनामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक गीतेन्द्रबाबु (जिबि) राईमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान अगाडि बढाएको छ ।
सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका विभिन्न एकाइले अनुसन्धान गरिरहेको बेला प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा रहेको विभागले पनि अनुसन्धान थालेको हो ।

विभागले गत माघ ८ गते नै २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर रवि र जीबीको खाता छ कि छैन ? भए कुन प्रकारको खाता छ  ? खाता खोल्दाको रकम, कारोबारको विवरण, खाता खोल्दा पेस भएका कागजात र हालको रकमसमेत ‘एक्सेल’ फाइलमा खुलाएर पठाउन परिपत्र गरेको थियो ।

विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकमुष्ट पत्र लेख्दै रवि र जिबीको खाता विवरण उपलब्ध गराइदिन भनेको थियो ।

विभागले दुवैजनाले ती बैंकबाट ऋण लिएको भए त्यसको विवरण र ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पनि मागेको थियो । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरबाट बरामद भएको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएको सार्वजनिक भएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकहरूलाई पत्र पठाएको विषय पनि बाहिर आएको हो ।

रवि र जीबीको खाता भएका बैंकहरूले विभागलाई विवरणसमेत दिइसकेका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रवि र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी समेत दिएका छन् ।

अध्यक्ष जीबीसहितका सञ्चालकविरुद्ध भने पहिले नै मुद्दा दायर भइसकेको छ । यसै प्रकरणमा उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेका छन् । फरार जीबीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

रविले रास्वपा गठन गर्नुअघि जीबीसँग मिलेर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका थिए । रविकै भरमा चलेका जीबीले थुप्रै सहकारीबाट पैसा गोरखा मिडियामा लगानी गरेको तथ्य बाहिरिइ सकेको छ । तर, रविले आफू सहकारीको रकम अपचलनमा कतै सहभागी नभएको र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितहरुलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको दाबी गरिरहेका छन् ।

रविले विभिन्न आक्षेप लगाएपछि संसदीय समितिको बैठकमै गृहमन्त्री श्रेष्ठले पनि पहिलेको जस्तो सबै गल्तिमा छुट नहुने भन्दै घुमाउरो शैलीमा सहकारी प्रकरणमा जोडिएको पाइए कारबाहीको चेतावनी नै दिएका थिए ।

गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको हो । उक्त टेलिभिजनका अध्यक्ष जीबी छन् भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए ।

जीबीविरुद्ध कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । रविले पोखराको सूर्यदर्शन सहकारीबाट पनि छुट्टै १ करोड निकालिएको तथ्य बाहिरिएको थियो ।

यता, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा एक करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप यसअघि नै सार्वजनिक भएको थियो । सहकारी प्रकरणमा जोडिएका सबैलाई कानूनको दायरामा ल्याउनुपर्ने चौतर्फी माग उठ्दै आएको छ । तर, सरकारले नियत नै साँधेर सिमित व्यक्तिमाथि कानूनको डण्डा चलाउने त होइन भन्ने आशंका पनि उठ्दै आएको छ । यस्तो स्थितिमा रवि र जीबीमाथि कसरी अनुसन्धान होला ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।