- कृष्ण कन्दङ्वा लिम्बू
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनकै कारण अफ्ठ्यारो मोडमा पुगेको संकेतहरु दिइरहेका छन् ।
गत वर्षको पुष १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले कार्यकालको एकवर्ष पूरा भएलगत्तैदेखि आफू अफ्ठ्यारोमा पुगेको अभिव्यक्ति दिन थालेको हुन् ।
प्रधानमन्त्री बनेपछि सन्तुलित र गठबन्धन नै सर्बश्व ठान्ने प्रचण्ड अहिले सत्ता साझेदारहरुप्रति औँला उठाउन थालिसकेका छन् । जसले सत्ता गठबन्धन फेरिने वा सरकारनै परिवर्तन भइहाल्ने त होइन ? भन्ने प्रश्नहरुसमेत उठ्न थालेको छ । प्रचण्ड प्रधानमन्त्री नियुक्तिको पृष्ठभूमि नै नाटकीय थियो ।
त्यसैले अहिले अफ्ठ्यारो महसुस भए उनले पुनः गठबन्धन नफेर्लान भन्न सकिने अवस्था छैन । निर्वाचन अघि देखि नै प्रचण्ड काँग्रेससहितको गठबन्धनमै थिए । तर प्रधानमन्त्री बन्नुअघि उनी एमालेसँग पनि नजिकिए । सरकारको नेतृत्व आलोपालो गर्ने र संसद विघटनबारे केही नबोल्ने सल्लाह गरेपनि प्रचण्ड–ओलीको राजनीतिक सम्बन्ध धेरै टिक्न सकेन ।
सल्लाह भएकै भोलिपल्ट ओलीले संसदको रोष्टममा उभिएर मैले गरेको संसद विघटन ठिक थियो भनिदिए । त्यति भन्न नपाउँदै माओवादी र एमाले बिचको सहमति टुट्यो ।
ओलीले संसदमा बोलेको अभिव्यक्तिलाई लिएर माओवादी काँग्रेससँगकै गठबन्धमा फर्कियो । त्यसअघि माओवादीकै सहयोगमा एमालेले सभामुख प्राप्त गरिसकेको थियो । एमाले लत्याएर काग्रेससँगै पुनरमिलन गरेका प्रचण्डले राष्ट्रपति दिएर आफू प्रधानमन्त्री बने । सोही गठबन्धन हालपनि जारी छ ।
सबैथोक दिएर आफ्नो प्रधानमन्त्री पद सुरक्षित पारे । प्रधानमन्त्री मात्रै बन्न पाएपनि सबैथोक पूरा हुने जसरी प्रस्तुत हुने प्रचण्ड अहिले सत्ता साझेदार दल नेपाली काँग्रेससँगै रुष्ट हुन थालेका हुन् । कुशासन र भ्रष्ट्राचारलाई फाँड्ने चर्को नारा बोकेका प्रचण्ड एक वर्षे कार्यकाल पुरा गरेर राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदासम्ममा काँग्रेससँग असन्तुष्ट बन्न थालेका हुन् ।
सोमबार बसेको माओवादी केन्द्रीय कमिटि बैठकमा प्रचण्डले काँग्रेससँगको गठबन्धन फलदायी नभएको ब्रिफिङ गरेका थिए । यद्यपि उनले आगामी गठबन्धनको आधार भने तय भइनसकेको बताउँदै आएका छन् । प्रचण्डको यो अभिव्यक्तिले सत्ता गठबन्धन धरापमा छ भन्ने बुझ्न कठिन छैन ।
किन काँग्रेससँग प्रचण्ड रुष्ट ?
प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा बोकेका प्रचण्डले माओवादकिा लागि भने धेरै कुरा गुमाइसकेका छन् । प्रधानमन्त्री बनेपछि भ्रष्ट्रचारविरुद्ध कडारुपमा प्रस्तुत हुने र सरकारलाई सुशासनमा अब्बल सावित गर्ने हुटहुटी थियो । तर सत्ता साझेदार दल नेपाली काँग्रेस नै प्रचण्डको लागि तगारो बन्यो ।
चाहे नक्कली शरणर्थी प्रकरणमा होस् वा बाँसबारी छाला जुत्ता प्रकरणमा होस् काँग्रेसकै अवरोधका कारण प्रचण्डले आवश्यक कारवाही गर्न सकेनन् । हरेक प्रकरणमा अनुसन्धन सुरु हुन नपाउँदै काँग्रेसबाट सरकारलाई दवाव आउने गरेको बताइन्छ ।
यसबाहेक राजनीतिक हिसाबले पनि माओवादीले काँग्रेसबाट धेरै पटक धोका दिएको भान गरिरहेको छ । यही कारण प्रचण्ड काँग्रेससँग रुष्ट बनिरहेका हुन् । सत्ता गठबन्धनको निर्णय अनुसार पछिल्लो पटक सरकार बन्दा कोशीमा माओवादी नेतृत्वमा सरकार बन्नुपर्ने थियो । तर काँग्रेसको शेखर कोइराला पक्षले मानेन देउवाको निर्णय स्वीकार गरेनन् । जसको परिणाम कोशीमा काँग्रेसकै नेतृत्वमा सरकार बन्यो ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पनि कोशीमा गठबन्धनबाट माओवादीलाई अन्तरघात भयो । काँग्रेसले एमाले उम्मेदवरलाई मत दिएर माओवादीलाई हराइदिए । त्यसपछि प्रचण्ड विरक्तिएका छन् । त्यतिमात्रै नभइ अहिले राष्ट्रियसभाको अध्यक्ष समेत दावी गरेर विरक्तिएका सामु काँग्रेसले थपडी मारिरहेको छ । काँग्रेसको दावी बाबजुद माओवादीले पनि राष्ट्रियसभा अध्यक्ष नछोड्ने अडान लिइरहेको छ ।
साथै प्रधानमन्त्री प्रचण्ड यसअघि नै मन्त्रिमण्डल फेर्न चाहन्थे । तर काँग्रेसकै अवरोधका कारण मन्त्रीहरु फेर्न सकिरहेका छैनन् । यही अवस्थाका कारण प्रचण्ड सरकारको नेतृत्वमा भएपनि निरुत्साहित बन्न पुगेका छन् । प्रचण्ड प्रधानमन्त्री पदका लागि माओवादीले धेरै कुरा गुमाइरहेको निष्कर्षमा पुगिसकेका छन् ।
यदी राष्ट्रियसभा अध्यक्ष पनि नपाएर प्रधानमन्त्रीबाट प्रचण्ड बहिर्गमन भएको अवस्थामा संवैधानिक परिषदमा माओवादी शुन्य हुने अवस्था छ ।
अबको सम्भावित दृष्य के ?
गठबन्धनको समझदारी अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका छन् । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई समर्थन गर्नु अघि नै प्रधानमन्त्रीको ढोक्सो थापेर बसेका थिए ।
यदी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई तोडे प्रधानमन्त्रीको बन्ने लाइनमा देउवा र ओली नै अग्रस्थानमा हुनेछन् । यद्यपि ओलीले प्रचण्डलाई हटाएर काँग्रेसका नेता शेखर कोइरालालाई पनि प्रधानमन्त्रीमा समर्थन गर्ने दाउ ताकिरहेका छन् । तर यसका लागि भने काँग्रेसनै दुई ध्रुवमा विभाजित हुनुपर्नेछ । यद्यपि यसको सुरुवात कोशीमा भइसकेकाले त्यसलाई पनि असम्भव भन्न सकिने अवस्था छैन । साथै ओली समीकरण बदल्न शेखर पक्षलाई उक्साइ उक्साउने समेत गरिरहेका छन् ।
त्यस्तै वर्तमान प्रचण्ड नेतृत्वकै सरकारले एमालेसँग पुनः गठबन्धन गरेर ओलीसँगको आलोपालो सरकार निर्माण नगर्ला भन्न पनि सकिने अवस्था छैन । त्यस्तै देउवा र ओलीले नै काँग्रेस र एमाले नेतृत्वको आलोपालो सरकार गठन गर्न सक्ने संभावना पनि उत्तिकै छ । यदी प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन समीकरणलाई भत्काए देउवा, ओली र शेखरबाटै सरकारको नेतृत्व हुने निश्चित छ ।
यदी वर्तमान गठबन्धन भत्किएमा आलोेपालो गर्ने अवस्थामा एमाले अध्यक्ष ओली कुनैपनि हालतमा प्रधानमन्त्री बन्न सक्ने संभावना छ ।
यदी वर्तमान गठबन्धन नै कायम रहे गठबन्धनको सम्झौता अनुसार नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र शेरबहादुर देउवा नै पालो पालो प्रधाननमन्त्री बन्नेछन् । तर प्रचण्डले सत्ता समीकरण भत्काए माधवको प्रधानमन्त्री बन्ने सम्भावनाको अन्त्य हुनेछ । यद्यपि प्रचण्डले काँग्रेसलाई तर्साएर राष्ट्रियसभा अध्यक्ष पद मोलमोलाइ गर्न खोजेका पनि हुनसक्छन् ।
यदी प्रचण्डको यो रणनीति सत्य हो र काँग्रेस आफ्नो अडानबाट टसमस नभए सत्ता गठबन्धन टुट्ने निश्चित छ ।
(भिडियो)