महालक्ष्मी नगरपालिकाको प्रभातफेरीमा राजनीतिकरण, उपप्रमुख असन्तुष्ट

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले प्रथम महालक्ष्मी महोत्सव– २०८० को प्रचारप्रसारका लागि प्रभात गर्दा राजनीतिकरण झल्काएको छ ।

प्रभातफेरी कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उपप्रमुख लक्ष्मी महर्जनलाई खबरबिना नै कार्यक्रम सञ्चालन गरेको प्रति उपप्रमुख महर्जनले असन्तुष्टि जनाएकी छन् । उपप्रमुखले सर्वदलीय सहित लोकल उद्योगहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु राखी कार्यक्रम संचालन गर्ने प्रस्ताव राख्दाराख्दै पनि नगर प्रमुखले कार्यक्रम हुनुभन्दा अगाडि सर्वदलीयको बैठक राखी राखेको बताइन् ।

उक्त बैठकमा पनि उपप्रमुखलाई बाइपास गरी बैठक सञ्चालन गरिएको उनको भनाइ छ । फागुन ५ गतेदेखि ८ गतेसम्म प्रथम महालक्ष्मी महोत्सवको प्रचारप्रसारका आज भएको प्रभातफेरी कार्यक्रम उपप्रमुख पुग्नुभन्दा अगाडि नगर प्रमुखले एकलौटी ढंगले आफ्नै राजनीतिक दलको ब्यानरमा सुरु गरेका थिए ।

प्रभातफेरी ग्वार्को पुलबाट सुरु भएको थियो । ईमाडोल, सानागाउँ हुँदै लुभूको महालक्ष्मी मन्दिरमा गएर समापन भएको हो । नगरपालिकाले नगरक्षेत्रको आर्थिक गतिविधि थप गतिशील बनाई अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले फागुन ५ गते देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव आयोजना गर्दैछ ।