प्रचण्ड र माओवादी जति कराए पनि किन कोही सुन्दैन ?

काठमाडौँ । तत्कालीन माओवादीले फागुन १ गतेदेखि १० वर्ष लामो समयसम्म गरेको सशस्त्र युद्धले नेपालको शासन व्यवस्थामा उथलपुथल ल्याउन भूमिका खेल्यो । माओवादी युद्धबाट थिलिथिलो बनेको तत्कालीन राज्यसत्ताले २०६२÷२०६३ सालको जनआन्दोलनसम्म आइपुग्दा टिक्नै सकेन् । जसकारण राजाको प्रत्यक्ष शासन समाप्त भयो र गणतन्त्रको शुरुवात भयो । तर सुदृढ भनिएको गणतन्त्र मुलुकको निकास दिन सक्यो ? युद्ध लडेकाहरु सत्ताको नेतृत्वमा पुग्दा यसले उठाएका मुद्दाले स्थायित्व पाउने काम भयो ?

माओवादीले सशस्त्र युद्ध थाल्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापनपत्रलाई धेरैले स्मरण गर्ने गरेका छन् । जनजीविका सवालदेखि राष्ट्रियता र सार्वभौमिकताका विषयलाई त्यसमा महत्वका साथ उठाइएको थियो । यसरी बुझाइएको ज्ञापनपत्र युद्ध तयारीको अन्तिम रुप थियो । त्यसपछि माओवादीले राज्यविरुद्ध विद्रोह शुरु ग¥यो । माओवादीले राज्यका सुरक्षा निकायमाथि आक्रमण गर्दै कमजोर पार्ने र सत्ता कब्जा गर्ने रणनीति अख्तियार त ग¥यो । तर, त्यसले थुप्रै मानिस हताहतीमा समेत परे । यहि युद्धलाई अहिले विभिन्न कोणबाट विश्लेषण गर्ने कोसिस गर्न थालिएको छ । यसमा जनयुद्धकालदेखि पार्टी नेतृत्वमा रहेका पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनयुद्धको क्रममा पृथ्वीनारायण शाहको युद्धकलादेखि नेपालको परिवर्तनका लागि भएका सबैखाले विद्रोह क्रान्तिको अध्ययनपछि विद्रोह शुरु गरेको जिकिर गरेका छन् ।

प्रचण्डले पृ्थ्वीनारायण शाहको युद्ध कौशलतामाथि किन यसरी पेश भए ? कुनैबेला पृथ्वीनारायणलाई पनि मान्न नसकिने तर्क दिने माओवादीहरु किन यसरी पेश हुन थालेका छन, त्यो छुट्टै अध्ययन छलफल होला तर, युद्ध लडेकाहरुमाथि होचोहेला शुरु भएको र आफू र आफ्नो शक्ति कमजोर बनेकोमा प्रचण्ड पनि सहमत भने छन् ।

कुनैबेला माओवादी भन्ने वित्तिकै देश नै चासो दिन्थ्यो । तर, आज माओवादी वा प्रचण्ड जति कराएपनि कसैले किन सुन्न चाहँदैन ? यो प्रमुख विषय बन्न पुगेको छ ।

माओवादी र जनयुद्ध उँधोगतिका कारण

१. युद्धपछिको शक्ति आर्जनमा देखिएको उन्माद
युद्धपछि शान्ति प्रक्रियामा आएको माओवादीलाई जनताले केहि त गर्ला भन्ने ठानेर ठूलो मत दिए । संविधान बनाउने जिम्मा नै सुम्पिने गरि दिएको मतलाई माओवादीले बुझ्नै सकेन । अचानक प्राप्त शक्तिले माओवादी नेतृत्वलाई पोल्यो र उनीहरु जथाभावी गर्न थाले । जसकारण शक्ति उन्मादको हदले सीमा नाघ्दै गयो र यहि उन्माद माओवादीका लागि घातक बन्दै गयो ।

२. समक्रमणकालीन न्याय
संक्रमणकालीन न्याय प्रणालीको लम्बेतान विषयले माओवादीको शक्ति क्षयीकरणको श्रृङ्खलाको सुत्रपात बन्न पुग्यो । संक्रमणकालीन न्याय प्रणालीको टुंगो नलाग्दा पीडितले आफ्ना आवाज सुन्न भन्दै धाउन थाले भने यो विषय भूराजनीतिको चपेटामा प¥यो र माओवादीलाइ विस्तारै यहि विषयले नकारात्मक बाटो रोजेको शक्तिको रुपमा चित्रित गर्दै लग्यो ।

३. विभाजन र मतभिन्नता
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सग्लो रहन सकेन । पार्टी विभाजन किन भयो र त्यो आवश्यकता थियो वा थिएन भन्ने विषयमा उनीहरुका आफ्नै तर्क थिए । तर, सबैलाई सत्ता र शक्तिको भोग जागिसकेको थियो । सानो विषयमा चलेको सनककै भरमा उनीहरु विभाजनमा जान थाले र माओवादी विस्तारै कमजोर बन्दै गयो ।

४. जनवादी केन्द्रियताको नाममा हैकमवाद
माओवादीमा प्रचण्डले जनवादी केन्द्रियताको नाममा युद्धकै समयमा जस्तो हैकमवाद चलाउन थाले । सत्ताको भागबण्डादेखि राजनीतिक निर्णयमा समेत एकल निर्णय हावी गराउन खोज्दा असन्तुष्ट पक्ष थप चिढिन पुग्यो । युद्धको बेला भाग्ने र विद्रोह गर्ने ठाउँ नपाएकाहरु खुला राजनीतिमा आएपछि फिरंगी बने र आ–आफ्नो बाटो लाग्न थाले, जसकारण समस्या सिर्जना थप बढ्न थाल्यो ।

५. जीवनशैलीको अन्तर
संगै युद्ध लडेकाहरु कोहि सत्ताको वरिपरी रहिरहे त कोहि छाँयामा पर्दै गए । युद्धका सहयात्री शन्ति प्रक्रियासम्म आइपुग्दा छिन्नभिन्न मात्रै भएनन्, खाडी धाउनुपर्ने स्थिति आइलाग्यो । युद्धमा भनिएजस्तो अर्थतन्त्रको सवलीकरण र रोजगारी सिर्जनामा चुक्दा पुर्वसहकर्मी नै सत्रु जस्ता बन्न पुगे ।

६. नियत र नियती
माओवादी युद्धमा होमिएकाहरु धन आर्जन र परिवारका सदस्यलाई सेटल गराउने लोभमा नियत नै फेर्न पुगे । सर्वहारा वर्गको नेतृत्व गर्छु भन्दै निमुखालाई उचालेको माओवादी आज उनीहरुकै आगनमा पाइला नै टेक्न नसक्ने भयो र जसलाई सत्रु घोषणा गरिएको थियो तिनै संभ्रान्त वर्ग भनिएकाहरु नै उनीहरुको किचन क्याबिनेटका सदस्य बन्न पुगे । यसकारण माओवादी जनयुद्ध खण्डित र विवादीत बन्न पुग्यो ।

हरेक चुनावमा कमजोर बन्दै गएको माओवादीको शक्ति अब फर्किएला ? के माओवादीहरुले आचरणमा सुधारको नजरले हेर्लान ? यस्ता थुप्रै अनुत्तरित प्रश्नको घेरामा फसेको माओवादी कमब्याकको तयारी त गरिरहेको छ । तर जनतामाझ माओवादी दरिलो ढंगले जानसक्ने केही अस्त्रहरु प्रधानमन्त्री प्रचण्डले हातबाट फुत्काइसकेका छन् । ललित निवास, नक्कली भुटानी, सुन प्रकरण, ठूला भ्रष्टाचार जस्ता काण्डहरुमा प्रचण्डले टसमस नभई टुंगोमा पु¥याउन सकेको भए, जनताले फेरि जयजयकार गर्ने थिए । तर यो अब माओवादीको हातबाट करिबकरिब उम्किसकेको छ ।

अब यही कमजोर र विकृत धरातलमा रहेर माओवादीले जनतालाई साथमा लिन सक्ने अवस्था बन्ने छाँट देखिन्न । सुनौला सपना देखाएर राजनीतिको केन्द्रमा आएको माओवादी अहिले भुत्ते देखिन थालेको छ । विषम् परिस्थितिमा देशलाई कसरी अघि बढाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्डसँग कुनै योजना नै नभएको जस्तो आभास हुन थालेको छ । राजतन्त्र हुँदाको बेथिति र अहिले के फरक भनेर जनता हाँकाहाँकी व्यवस्था विरुद्ध बोल्न थालिसकेका छन् । यस्तो स्थितिमा प्रचण्डले आफ्नो गुमेको साँख र माओवादीको ओज कसरी फर्काउन्छन् यसले धेरै कुरा निर्धारण गर्नेछ ।