पूर्वराजाले नै पत्याएनन् दुर्गा प्रसाईको राजा फर्काउने अभियानलाई

  • एलिसा अर्याल

काठमाडौँ । जनयुद्ध दिवसको अवसरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गत वर्ष झापाबाट पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारलाई साक्षी राखेर ‘नागरिक बचाउ महाअभियान’ को घोषणा गरेका थिए । त्यसको एकवर्षपछि मंगलबार काठमाडौंमा कार्यक्रम गरी प्रसाईँले नयाँ चरणको आन्दोलन गर्ने बताएका छन् । विभिन्न शक्ति केन्द्रहरुको साथ लागे पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएपछि विरक्तिएका प्रसाईँले राजा फर्काउने बताइरहेका छन् । विभिन्न क्षेत्रका पीडितहरुलाई जम्मा पारेर गरिएको प्रसाईँको प्रदर्शनको दृष्य कस्तो थियो त ?

मेडिकल व्यवासाय दुर्गा प्रसाईँले गत वर्ष फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर ‘नागरिक बचाउ अभियान’को सुरुवात गरेका थिए । त्यसयता उनले विभिन्न ठाउँमा कार्यक्रम गर्दै आए । पछिल्लो समय तग मंसिर ७ गते राज्य संयन्त्रलाई नै त्रसित बनाउने गरी आन्दोलनको तयारी गरे । राज्य ब्यवस्था नै उल्ट्याउने गरी शक्ति प्रदर्शन गर्ने भन्दै देशैभरबाट आफ्ना समर्थकहरुलाई काठमाडौं ओरालेपछि सुरक्षा निकायलाई झस्काइदियो । उक्त दिन काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन त भयो तर उनको आन्दोलन तीन दिन टिक्न सकेन । उनले मिटरब्याज पीडित एवम् लघुवित्त र वैंक तथा वित्तीय संस्थाका ऋणीहरुको साथ लिएका थिए । २० लाख सम्मको ऋण बैंकलाई तिर्नै नपर्ने आश्वासन पाएर प्रसाईँका पछि लागेकाहरु ओठ लेप्राउँदै फर्किएका थिए । अहिले पनि उनले उही पुरानै तरिका अपनाएका छन् ।

बैंकको चर्कोको ब्याजबाट पीडित भएकाहरू ऋण मिनहा हुने अपेक्षाले काठमाडौं आएका छन् । प्रसाईँको कार्यक्रममा सहभागी प्रदर्शनकारीहरुले आफूहरु बैंक तथा वित्तीय संस्थाहरुबाट पीडित भएकाले आन्दोलनमा सहभागी भएको बताएका छन् ।

प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेपनि औपचारिक कार्यतालिका भने सार्वजनिक गरिसकेका छैनन् । प्रसाईँको गत मंसिर ७ को प्रदर्शन पनि अन्य राजनीतिक दलहरुसँगको पंखेजोरीका कमजोर बनेको थियो । प्रशासनले विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गरेर प्रदर्शनकारीहरुलाई तिरतवितर पारेर आन्दोलन तुहाइदियो । अहिले फेरि निर्णाय आन्दोलन भन्दै विभिन्न क्षेत्रका पीडितहरुलाई काठमाडौं ओरालिएको छ ।

प्रसाईँको कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूको पनि बाक्लो उपस्थिति देखिन्थ्यो । । राज्यले विभेद गरेको भन्दै समाजमा सम्मानपूर्वक बाँच्ने आधारको खोजीमा उनीहरू प्रसाईँको साथ लागेको देखियो । तर प्रसाईँको प्रदर्शनलाई हेरेर अन्य राजावादी दल तथा समर्थकहरुले पनि मौका हेरिरहेका छन् ।

अहिले प्रसाईंले उठाइरहेको मुख्य मुद्दा भने बैंक र लघुवित्तको व्याजसम्बन्धी छ । साना ऋणीको ऋण बैंक र लघुवित्तले मिनाहा गर्नुपर्ने माग प्रसाईँको छ । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीलाई पनि राजनीतिक मुद्दाका रुपमा अघि सारेका छन् । प्रसाईँले ऋण मिनहा गराएरै छाड्ने बताइरहेका छन् ।

अहिले देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट भएको एउटा हिस्सा पुराना दलहरुप्रति रुष्ट छन् । त्यसमध्ये माओवादी, एमाले हुँदै राजाबादी बनेका प्रसाईँ पनि राजा फर्काउने अभियानमा जोडतोडका साथ लागि परेका हुन् । उनले उठाएका कतिपय मुद्धा जायज भएपनि राजतन्त्र फर्काउँदा बैंकको ऋण पनि स्वतः मिनाहा हुन्छ भन्ने प्रसाईँको विरोधाभाष अभिब्यक्तिले सबैलाई अलमलमा पारेको छ । जता मल्कु, उतै ढल्कु हुने प्रसाईँको व्यवहारकै कारण राजसंस्थाको वकालत गर्ने पार्टी राप्रपाले समेत पत्याएको छैन भने पूर्वराजा ज्ञानेन्द्र पनि खुलेर समर्थन गर्न सकेका छैनन् ।