त्रिविको उपकुलपतिका लागि सर्टलिष्ट, भित्रभित्रै धाधली !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति (भाइस चान्सलर)को खोजी जारी राखेको छ । झन्डै ३० वर्षसम्म देशको एक्लो विश्वविद्यालयको रुपमा रहेको त्रिविले प्राज्ञिक, प्रशासनिक, भौतिक, संरचनागत, पाठ्यक्रम र शैक्षिक व्यवस्थापनमा सुधार गर्ने क्षमताको उपकुलपति पर्खिरहेको छ ।

त्रिविका विद्यार्थीहरूले उपकुलपति कसरी र को बन्छ भन्नेबारे निगरानी गरिरहेका बेला विश्वविद्यालयको उपकुलपति छनौट समितिले १४ जनाको नाम सर्टलिष्ट गरेको छ । को–को र कसरी परे त समितिको सर्टलिष्टमा ?

त्रिभुवन विश्वविद्यालयले उपकुलपति आर्थात भाइस चान्सलर को बन्ला यो पछिल्लो एक महिना यता उच्च चासो र चाखलागेको विषय बनिरहेको छ ।

विगतमा सीधै उपकुलपति नियुक्ति गरिने प्रथा तोड्दै सरकारले यसपटक भने खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेका कारण उपकुलपति नियुक्ति प्रक्रियालाई चासोका साथ हेरिएको हो ।

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विश्वविद्यालयमा हुने गरेको राजनीतिक भागबन्डाको अन्त्य गर्ने बताउँदै आएको भइपनि खुला प्रतिस्पर्धाबाट गर्न लागिएको नियुक्तिलाई कतिपयले औपचारिकता मात्रै हुने भन्दै टिप्पणी गरेका छन् । यद्दपी, सरकारले प्रकृयागत छनोटलाई अघि बढाएको छ ।

कसरी गरियो सर्टलिष्ट ?

– खुला प्रतिस्पर्धाबाट दर्खास्त दिएका ४३ जनामध्ये सर्टलिष्ट परे १४ जना
– आवेदनका समय पेश गरेको सोच पत्र
– ४ वर्षीय व्यावसायिक योजना
– अनुभव
– पुस्तक प्रकाशन
– अनुसन्धानको मूल्याङकन

यस आधारमा सर्टलिष्ट गरिएको बताइएको छ । जसमा राजनीतिक दल निकटसँगै विवादमा मुछिइसकेकाहरू पनि परेका छन् । त्यसकारण पनि उपकुलपति छनोट प्रक्रिया निष्पक्ष हुनेमा आशंका गरिएको छ ।

कुन आवेदकका के छन् दोष ?

– त्रिविका बहालवाला कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले शिक्षाध्यक्षमा रहेका वेला २०७७ मा सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले ५ हजार जरीवाना तिराइएको थियो ।

– त्रिविकै पूर्व उपकुलपति तीर्थराज खनियामाथि बौद्धिक चोरीको आरोप छ । उनी २०७२ मा त्रिविको उपकुलपतिका लागि सिफारिसमा पर्दा पनि यो विवाद सतहमा आएको थियो ।

– सर्टलिष्टमा परेका मध्ये प्रा.डा. शिवलाल भुसाल, प्रा.डा.केशरजंग बराल, सूर्यबहादुर थापा, महेन्द्रप्रसाद शर्मा, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. नारायणप्रसाद बेलबासे माओवादी निकट हुन् ।

– प्रा.डा. तीर्थ खनिया, प्रा.डा.कुसुम शाक्य, प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल, प्रा.डा. प्रकाश घिमिरे, कांग्रेसनिकट मानिन्छन् ।
– प्रा.डा. गोविन्द सुवेदी नेकपा एसनिकट हुन् ।

दर्खास्त दिएका हेबी वेट भनिएका खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. लेखनाथ शर्मा, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, पूर्व रजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल सर्टलिष्टमा अटाएनन् ।

अबको प्रक्रिया के ?
– सर्टलिष्टमा परेकाहरूले मात्रै अन्तरवार्ता र कार्य योजनाको प्रस्तुतीकरण गर्ने
– प्रस्तुतिपछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस गरिने

मुलुकको शैक्षिक अवस्था, शिक्षा प्रणाली र यत्रतत्र नातागोता र राजनीतिले वेरिएको व्यवस्थामा कुनै न कुनै दल निकट खुला प्रतिस्पर्धाबाट आउने मान्छेले त्रि.विलाई नयाँ लय दिन सक्ला ? यो आम चासोको विषय बनेको छ ।