- सुजन चालिसे
काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवशेनमा सभापतिमा पराजित उम्मेदवारलाई वरीष्ठ नेता मान्दै दोस्रो वा तेस्रो वरीयतामा राख्ने प्रचलन छ । विगतमा गिरिजा र सुशिलसँग पराजित हुँदा शेरबहादुर देउवालाई दोस्रो वरीयतामै राखिएको थियो । १४ औँ महाधिवशेनमा देउवासँग पराजित भएका नेता डा. शेखर कोइरालालाई देउवाले वरीष्ठ नेता बनाउने त परको कुरा पार्टी वरीयतामा २०औँ स्थानमा राखे । विगतमा देउवा–शेखर सम्बन्ध सुधार हुँदा उनलाई वरीष्ठ नेता बनाउन आँकलन पनि गरिएको थियो, तर पछिल्लो समय यी २ नेताबिचको सम्बन्ध सुमधुर छैन । शेखरलाई देउवाले पार्टीमा कतिस्पेश दिएका छन् भन्ने कुरा सोमबार महासमिति बैठकको उदघाटन कार्यक्रममा नै स्पष्ट देखियो ।
नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन कार्यक्रममा आसन ग्रहण चल्दै थियो । पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदाधिकारीलाई उद्घोषकले पालैपालो आसन ग्रहण गराए । पदाधिकारीको पालो सकिएपछि पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलाई आसन ग्रहण गराइयो । त्यसपछि पालो आयो पूर्व महामन्त्रीहरुको । उद्घोषकले क्रमशः कृष्ण सिटौला, डा. शशांक कोइरालालाई आसन ग्रहण गराए । त्यसपछि पूर्व पदाधिकारीहरुको पालो आयो । केन्द्रीय नेताहरुमध्ये सबैभन्दा अन्तिममा आसन ग्रहणका लागि नाम आयो १४ औँ महाधिवशेनमा सभापतिमा आफ्नो प्रतिष्पर्धी शेखर कोइरालाको । त्यसपछि ललितपुर जिल्लामा कार्यक्रमको आयोजना भएकाले जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई आसन ग्रहण गराइएको थियो ।
दोस्रो वरियतामा परेका नेता डा. शेखर कोइरालाको आसन अझ दुर्लभ थियो । सभापति देउवा केन्द्रमा रहँदा सुदूरमा अर्थात एउटा कुनामा नेता कोइरालालाई राखिएको थियो । देउवाभन्दा ११ जनाको आसनपछि थिए शेखर । कोइरालाको आसन ठ्याक्कै कार्यक्रम उद्घोषक कृष्णप्रसाद पौडेलको पोडियम पछाडी थियो । हलमा उपस्थित अधिकांश प्रतिनिधिले त डा. कोइरालालाई सायदै देख्न पाए ।
१४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवालाई हटाउने, कांग्रेसलाई रुपान्तरण गर्ने नारासहित सभापतिमा उम्मेदवारी दिएका डा. शेखरले अप्रत्यासित रुपमा ४० प्रतिशत मत प्राप्त गरेका थिए । कांग्रेस महाधिवशेनमा सभापतिको निकटतम प्रतिस्पर्धीलाई महाधिवेशन पश्चात वरीष्ठ नेताका रुपमा स्वीकार गर्ने प्रचलन छ । सभापतिमा पराजित उम्मेदवारलाई पार्टीमा दोस्रो वा तेस्रो वरीयतामा राख्ने प्रचलनलाई बेवास्ता गर्दै देउवाले शेखरलाई २०औँ वरीयतामा राखेका थिए ।
एकताका पार्टीमा देउवा–शेखरका बिचमा सामिप्यता बढेको बेला उनलाई देउवाले वरीष्ठ नेता बनाउने र पार्टी कार्यालयमा कोठा समेत उपलब्ध बनाउने चर्चा चलेको थियो । स्वयं शेखरले पनि देउवाको अफरमा कन्भिन्स भएको भाव जनाउने गरेका थिए । यसले पार्टीभित्र शेखर गगन समुहमा फुट आएको टिप्पणी समेत हुन थालेको थियो । तर बिस्तारै देउवाले शेखरलाई ठाउँ दिनै छाडे । गत मंसिरमा शेखर गगन समुह फेरी एकठाउँ आएपछि शेखरप्रति देउवा अझ अनुदार बन्दै गएका छन् । महासमिति बैठकमा महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा शेखरले समर्थन गरेका छन् । तर देउवाले यसलाई रुचाएका छैनन् । बाहिर जति चर्चा भएपनि सोमबार महासमिति बैठकमा आसन ग्रहणका क्रममा कुनामा पुर्याइएका शेखरलाई देउवाले झिँगाको टाउकोजति स्पेश पनि दिएका छैनन् भन्ने प्रष्ट भएको छ ।